राष्ट्रियसभा निर्वाचन, कांग्रेस–एमाले गठबन्धन नेकपा र साना दलका छुट्टाछुट्टै उम्मेदवार
नेकपा र साना दलका छुट्टाछुट्टै उम्मेदवार
काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेले गठबन्धन गरेर उम्मेदवार दर्ता गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी नेपाल बागबन्डा नमिलेको भन्दै गठबन्धनमा अटाएनन्। उनीहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। भागबन्डामा कुरा नमिल्दा नेकपा र जसपा नेपाल गठबन्धनमा नअटाएको नेताहरूले बताएका छन्।
यद्यपि, कांग्रेस र एमालेले ७/७ सिट छुट्ट्याएर नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिटको भागबन्डा गरेका थिए। तर,
नेपाली कम्युनिस्ट पार्टीले ४ सिटको दाबी गर्यो भने जसपा नेपालले पनि १ को सिटमा चित्त बुझाएन। जसका कारण उनीहरूले कांग्रेस एमालेको गठबन्धनमा सहभागी नभएर एक्ला एक्लै उम्मेदवारी दर्ता गरे।
नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपाल गठबन्धनमा नआएपछि कांग्रेसले ९ र एमालेले ८ सिटको भागबन्डा गरेका छन् भने एक सिट लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा)ले पाएको छ। नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा)नेपालसँग हुने भनिएको गठबन्धन हुन नसकेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
कांग्रेसका ९ उम्मेदवार को–को ?
कांग्रेसबाट कोशी प्रदेशको अन्य समूहबाट सुनीलबहादुर थापा (धनकुटा) उम्मेदवार बने। थापा निर्विरोध निर्वाचित भइसकेका छन्। औपचारिक घोषणा भने पुस २७ गते मात्रै हुने निर्वाचन आयोगले जनाएको छ। उक्त कोटामा थापाको मात्रै उम्मेदवारी परेको थियो। नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिने भनिएका हेमराज घिमिरेको उम्मेदवारी परेन। थापाको मात्रै एकल उम्मेदवारी परेपछि निर्विरोध भए। थापा राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख सल्लाहकार थिए। उनले केही दिनअघि मात्रै राजीनामा दिएका थिए। थापा पूर्वप्रधानमन्त्री एवं पञ्चायतकालदेखिका प्रभावशाली नेता स्व.सूर्यबहादुर थापाका छोरा हुन्।
कांग्रेसको मधेश प्रदेशको दलित कोटाबाट धमेन्द्र पासवान (रौतहट), अपांगता/÷अल्पसंख्यकबाट रन्जित कर्ण (सप्तरी)को उम्मेदवारी परेको छ। त्यस्तै गण्डकी प्रदेशको अन्य समूहबाट जगत तिमिल्सिना (तनहुँ), लुम्बिनी प्रदेशको अपांगता÷अल्पसंख्यकबाट वासुदेव जंगली (दाङ), अन्य समूहबाट चन्द्रबहादुर केसी (गुल्मी) को मनोनयन भएको छ।
त्यस्तै कर्णालीबाट अन्य समूहमा ललितजंग शाही र सुदूरपश्चिमबाट अन्य समूहमा खम्मबहादुर खाती (बाजुरा) लाई कांग्रेसले उम्मेदवार बनाएको छ। खाती पूर्वमहान्यायाधिवक्ता हुन्। जसमा शेखर कोइराला पक्षबाट ३ जना छन्। गठबन्धनबाट उम्मेदवार बनेका रञ्जित कर्ण, बासुदेव जंगली र गीता देवकोटा डा.शेखर पक्षका हुन्। गगन पक्षबाट भने एक जना पनि परेका छैनन्।
झाँक्रीसहित माओवादी केन्द्रबाट आएकी भण्डारीसम्म
एमालेले राष्ट्रियसभामा ८ जना उम्मेदवार खडा गरेको छ। जसमा कोशी प्रदेशको दलित कोटामा सोमनाथ पोर्तेल, अल्पसंख्यक÷अपांगता कोटामा रोशनी मेचेको उम्मेदवारी परेको छ। दलितकोटाबाट पोर्तेललाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाइएको थियो। त्यहाँबाट फिर्ता लिएर राष्ट्रियसभाको उम्मेदवार
बनाइएको हो।
मधेस प्रदेशबाट महिलामा रेखा झा, बागमतीबाट अन्य समूहअन्तर्गत प्रेम दंगालको उम्मेदवारी परेको छ। गण्डकीबाट महिलातर्पm सम्झना देवकोटा, लुम्बिनीबाट महिलामा चर्चित नेतृ रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ। चर्चित नेतृ झाँक्री केही समयअघि माधवकुमार नेपाललाई छोडेर एमालेमा फिर्ता भएकी थिइन्। ०७८ सालमा एमाले फुटाउँदा माधव नेपालको हात नै समाएर साथ दिने नेतृ उनी हुन्। त्यस्तै कर्णालीबाट महिलातर्फ मिनासिंह रखाल र सुदूरपश्चिमबाट महिलातर्फ लीला भण्डारीको उम्मेदवारी परेको छ।
नेकपा एक्लै मैदानमा
प्रमुख दल कांग्रेस र एमाले मिलेपछि नेपाली कम्युनिस्ट पार्टी भने एक्लै चुनावी मैदानमा होमिएको छ। कांग्रेस र एमालेले ३ वटा सिट दिने निर्णय गरेका थिए। तर, नेकपाले ४ सिट मागेको थियो। मागेको सिट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी ३ दलीय गठबन्धनबाट अलगिएको हो। नेकपाले १८ मध्ये १७ सिटमा उम्मेदवार खडा गरेको छ। जसमा कोशी प्रदेशको दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले मनोनयन दर्ता गरेका छन्। अन्य समूहका लागि तय गरिएका उम्मेदवार हेमराज घिमिरे निर्धारित समयमा मनोनयन दर्ता गरेनन्।
मधेसमा दलिततर्फ शम्भु पासमान, अन्यमा लक्ष्मण पौडेल, अपांगता तथा अल्पसंख्यकतर्फ रामानन्द प्रसाद र महिला कोटामा समी अग्रवाललाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गरेका छन्।
नेकपाका तर्फबाट वागमतिमा महिलातर्फ सरोजकुमारी झा र अन्यमा प्रेमप्रसाद सापकोटाको उम्मेदवारी दर्ता भएको छ। गण्डकी प्रदेशबाट महिलातर्पm गोमा लुइँटेल घिमिरे, अन्यतर्फ कपिल लामाको उम्मेदवारी परेको छ। लुम्बिनी प्रदेशबाट महिलामा दुर्गाकुमारी भण्डारी, अन्यमा बृहस्पति अधिकारी र अपांगता÷अल्पसंख्यकबाट सर्जन विकलाई नेपाली कम्युनिस्ट पार्टीले उठाएको छ। कर्णालीमा महिलातर्फ अञ्जु महतारा र अन्यमा बुद्धिप्रसाद शर्माको उम्मेदवारी परेको छ। सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ टीकाराम जैसी र महिलातर्फ रोजी बस्नेत सुनारको मनोनयन दर्ता गरिएको छ।
जसपा नेपालसँग पनि सहमति हुन नसकेपछि मधेस प्रदेशमा छुट्टै उम्मेदवारी दिएको छ। उसले अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह, तथा दलिततर्फ चमेलीदेवी दासलाई उम्मेदवार बनाएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुर कांग्रेस, एमाले गठबन्धनबाट उम्मेदवार बनेका छन्। यद्यपि, लोसपा र जसपा नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भइसकेको छ। ठाकुर मधेसका पुराना चर्चित नेता हुन्। नेपाली कांग्रेसको कोषाध्यक्ष हुँदै तराई मधेस लोकतान्त्रिक पार्टी (लोसपा)को नेतृत्व गर्दै आएका वृद्ध नेता विघटित प्रतिनिधिसभाका निर्वाचित सांसद पनि हुन्।
राजमो, नेमकिपाका पनि उम्मेदवार
राष्ट्रिय जनमोर्चाले पनि ४ जना उम्मेदवार बनाएको छ। लुम्बिनी र गण्डकीबाट २/२ जनालाई जनमोर्चाले उठाएको हो। लुम्बिनीबाट अन्यमा बोमबहादुर खत्री र महिला कोटामा पद्मा पण्डितलाई उम्मेदवार बनाएको छ। गण्डकीबाट शंकर बराल र लक्ष्मी बास्कोटालाई जनमोर्चाले मैदानमा उतारेको छ।
नेपाल मजदुर किसान पार्टीले बागमतीबाट उम्मेदवार उठाएको छ। महिलातर्फ कविता महर्जन, अन्य विक्रम ढुकुछुको उम्मेदवारी परेको छ। हाल राष्ट्रियसभामा सबैभन्दा ठूलो दल नेपाली कम्युनिस्ट पार्टी छ। जसका २५ जना सांसद छन्। नेपाली कम्युनिस्टअन्तर्गत तत्कालीन माओवादी केन्द्रका १७ र नेकपा (एकीकृत समाजवादी)का ८ जना छन्। यस्तै कांग्रेसका १६, एमालेका १० र जसपा नेपालका ३ र लोसपाका १ छन्। यस्तै जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत ३ जना छन्। जसमध्ये एमालेका ८, तत्कालीन माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जसपा नेपालका १, लोसपाका १ र मनोनित १ जनाको आगामी फागुन २१ पदावधी सकिँदैछ। राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको पदावधी सकिन लागेको हो। त्यसका लागि माघ ११ मा निर्वाचन हँुदैछन्। राष्ट्रियसभाको कुल संख्या ५९ हो। यो स्थायी सदन हो।
४४ जनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोग प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयपत्र र उजुरीविरुद्ध जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ मा उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ मा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। कोशीबाट ५, मधेसबाट ११ जना, बागमतीबाट ६ जना, गण्डकीबाट ६ जना, लुम्बिनीबाट ८ जना, कर्णालीबाट ४ जना,सुदूरपश्चिमबाट ४ जनाको उम्मेदवारी परेको छ।
प्रतिक्रिया दिनुहोस !