‘न्यायाधीश धम्क्याउनेलाई कारबाही गरौं, न्यायालयको गरिमा जोगाऔं’

‘न्यायाधीश धम्क्याउनेलाई कारबाही गरौं, न्यायालयको गरिमा जोगाऔं’

काठमाडौं : न्यायालय र न्यायाधीशबाट सम्पादित काममा आलोचना हुनै हुँदैन भन्ने मान्यता अदालतले कहिल्यै राखेको छैन । तर, पछिल्लो समय आलोचनाभन्दा पनि ज्यानै लिने धम्की दिँदा सर्वोच्च अदालतका न्यायाधीशहरू त्रासमा छन् । गत साता प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वन्यायाधीशहरूसँग भने, ‘न्याय सम्पादन गर्नै गाह्रो हुन थाल्यो । सहयोग गर्नुपर्‍यो ।’

सर्वोच्च अदालतभित्रको कक्षमा सामाजिक सञ्जालमा गरिएका लाञ्छना, फोनबाट आएका धम्कीदेखि वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षको विवादास्पद अन्तर्वार्ताको क्लिप र पूर्वन्यायाधीश फोरमबाट प्रकाशित प्रेस विज्ञप्तिसम्मको चर्चा भयो । ‘आदेश, फैसला गरेमा घरमा आगजनी गर्छौं । ज्यानै लिन्छौं भन्ने सम्मको धम्की आएको रहेछ । त्रासमा रहेका न्यायाधीशहरूले सहयोग माग्नुभयो,’ पूर्वन्यायाधीश फोरमका एक पदाधिकारी भन्छन्, ‘खोजीखोजी कुट्छौं, मार्छौं भनेर धम्की आएको रहेछ । त्रसित न्यायाधीशको कुरा दुःखदायी र मर्मस्पर्शी थियो ।’

गत भदौ २४ गते सर्वोच्चलगायत अन्य अदालतहरूमा भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटले भवनहरू भग्नावशेषमा परिणत भएको बेला न्यायाधीशहरूमाथि धम्कीहरू आइरहेका छन् । नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले महत्वपूर्ण दस्तावेजहरू, उपकरणहरू, सवारी साधनलगायतमा अकल्पनीय क्षति पुगेको ।

सर्वोच्च अदालतका करिब २० हजार मुद्दाका मिसिल जलेर खरानी भएका छन् । नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएका छन् । संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व बहन गर्दै आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा आएको छ । तर, न्यायाधीशहरूमाथि फेसबुक, टिकटक, युट्युबलगायतका प्लेटफर्मबाट आक्षेप लगाउने, मानमर्दन गरिएका तस्बिर राख्न थालिएको छ । सामाजिक सञ्जालबाट र फोनबाट समेत धम्की दिने कार्यप्रति पूर्वन्यायधीशहरूसमेत चिन्ता व्यक्त गर्छन् ।

न्याय सम्पादन गर्नुपर्ने न्यायाधीशहरू डराउनुपर्ने अवस्था किन आयो ? यस सम्बन्धमा शनिवार पूर्वप्रधानन्यायाधीशदेखि उच्च अदालतबाट सेवा निवृत्त न्यायाधीशसम्मले छलफल गर्दै न्यायाधीशहरू निष्ठावान, नैतिकवान हुनुपर्नेमा जोड दिए । गत भदौ २४ गते सर्वोच्चसहित तीनवटै तहकै अदालतमा आगजनी भएकोमा पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले दुःख व्यक्त गरे । ‘अहिले फेरि न्यायाधीशको घरमा आगो लगाउँछु । मार्छु भनिएको रहेछ । 

यतिबेला सम्पूर्ण न्यायाधीशहरूआतंकित छन्,’ पूर्वप्रधानन्यायाधीश साह भन्छन्, ‘न्यायालयप्रति आक्रोश तथा असन्तुष्टि किन बढ्यो होला ? न्यायालयबाट भएका आदेश÷फैसलाले कहीँ जनता असन्तुष्ट भएका त होइनन् ? आक्रोश किन छ ? यसको समीक्षासहित आत्मविश्लेषण र आत्ममूल्यांकन व्यक्तिगत रूपमा र सामूहिक रूपमा गर्नुपर्छ ।’ न्यायाधीशहरूबाट भएका आदेश, फैसला, क्रियाकलाप, आचरणमा कहीँ न कहीँ टार्गेट गरिएको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश शाहले धम्क््याउने र आधारहीन आरोप लगाउनेलाई साइबर मुद्दा वा अदालतको अवहेलनामा कारबाही गरेमा धम्कीको शृंखला अन्त्य हुने बताए ।

पूर्वन्यायाधीश फोरमद्वारा न्यायपालिकाको वर्तमान अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशप्रतिको धम्कीप्रति चिन्ता व्यक्त गरे । ‘के कति कारणले अदालतमा आक्रमण भएको छ र धम्की आइरहेको छ ? यो अनुसन्धानको विषय हो,’ पूर्वप्रधानन्यायाधीश पराजुलीले थपे, ‘कुन–कुन न्यायाधीशबाट कस्ता–कस्ता आदेश/फैसला भएको छ ? यसमा गम्भीर रूपले समीक्षा गरौं ।’

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मि श्रले न्यायालयमाथि यसअघि पनि पटक–पटक आक्रमण हुँदै आएको बताए । ‘कहिलेकाहीँ तुफान आउँछ । त्यसलाई रोक्न सकिँदैन,’ पूर्वप्रधानन्यायाधीश मिश्रले भने, ‘न्यायालयमा समस्या किन आयो ? भन्ने प्रश्नको कारण पत्ता लगाएर समाधान खोज्नुपर्छ ।’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले न्यायाधीश नियुक्ति गर्ने प्रक्रियामा सुधार ल्याउनु पर्ने सुझाव दिए । प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निकाय (संवैधानिकपरिषद र न्यायपरिषद्)मा राजनीतिक व्यक्तिहरू हावी हुँदा न्यायाधीश नियुक्तिमा निष्पक्षता हुन नसकेको पूर्वन्यायाधीश लालको भनाइ छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश एवं पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीशले आफ्नो फैसलाको पक्ष लिएर डिफेन्ड गर्नुपर्ने अवस्था देखिन लागेकोमा दुःख व्यक्त गरे । ‘न्यायाधीशको नियुक्ति प्रक्रियामा पनि ध्यान दिनुपर्ने जरुरी छ,’ उनले सुझाव दिए, ‘अदालतको पुनर्संरचना गरेर न्यायालयको गरिमा बचाउनुपर्ने अवस्था आएको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.