काठमाडौं : भदौको जेन–जी आन्दोलनपछि कांग्रेसमा जर्बजस्त आवाज उठ्यो– नेतृत्वको रूपान्तरण र पुस्तान्तरण। त्यसैकारण पार्टी सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्ने भन्दै ‘सक्रिय राजनीति त्यागेको’ सन्देश दिए। कार्यवहाक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पेर उपचारका लागि सिंगापुर गए।
नेपाली राजनीतिमा देउवा ‘वाहवाही’ भए। तर, देउवा उता लागेपछि कांग्रेसमा पुरानै समस्या दोहोरियो। कार्यवहाकको जिम्मेवारी लिएका खड्काले महाधिवेशनबारे निर्णय गर्न सकेनन्।
महाधिवेशनकै लफडामा केन्द्रीय कार्यसमिति बैठक एक महिना बढी लम्बियो। त्यही बेला ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे–विशेष महाधिवेशन। मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्ने माग राख्दै नेतृत्वमाथि दबाब बढाइरहे। तर, संस्थापन पक्षले नियमित महाधिवेशन वैशाखमा गर्ने भन्दै विशेष महाधिवेशनको माग सुनेको नसुन्यै गर्यो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘आँट गरेर’ विशेष महाधिवेशन आह्वान गरे। अनि, आइतबारबाट सुरु भयो, कांग्रेसको विशेष महाधिवेशन। संस्थापन पक्षको अनुपस्थितिमा सुरु भएको यो महाधिवेशन साँच्चिकै विशेष बन्ला त ? बहस सुरु भएका छन्। महामन्त्री थापाले उद्घाटन सत्रमा त्यसको संकेत पनि गरिसकेका छन्। उनले भनेका छन्– यो महाधिवेशनले चाह्यो भने नीति र नेता दुवै परिवर्तन गर्न सक्छ।
नेतृत्व छान्ने आँट गर्ला त ?
कांग्रेसको नीति र नेतृत्व चयन गर्नेबारे विशेष महाधिवेशन स्पष्ट भइसकेको छैन। यद्यपि, बन्दसत्रलाई नै त्यसको जिम्मा दिइने महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ। तर, एउटा कुरा स्पष्ट छ–यदि नेतृत्व र नीति चयन भयो भने त्यसले कांग्रेसको आन्तरिक जीवनमा त प्रभाव पार्ने नै छ, सँगसँगै राष्ट्रिय राजनीति पनि तरंगित बन्नेछ। 
अर्थात्, कांग्रेसको इतिहास पुनः रचिने छ। महाधिवेशनबाट पार्टी नफुट्ने दाबी गर्दै आएका नेताहरूले पनि अब महाधिवेशनस्थलमा जम्मा भएका महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन् त्यही निर्णय मान्ने बताइरहेका छन्। महाधिवेशन उद्घाटन सत्रमा महामन्त्रीद्वय थापा र शर्माले नीति र नेतृत्व दुवै परिवर्तन गर्ने तर पार्टी नफुट्ने वाक्यांश पनि प्रयोग गर्न भने छोडेनन्।
भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन केवल एउटा राजनीतिक कार्यक्रम जस्तो मात्र देखिएन। आशा, उमंग र परिवर्तनको अपेक्षा पनि देखिन्थ्यो। पार्टीको संस्थापन पक्षले पछिल्लो समयसम्म यो प्रक्रिया अवैधानिक भनिरहँदा, विधानको धारा १७ ‘२’ को आधार देखाउँदै आएका कार्यकर्ताको मनमा भने रूपान्तरण हुने आशा थियो।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानदेखि नै सुरु भएको थियो। महाधिवेशन प्रतिनिधिहरूको एउटै आवाज थियो ‘अबको समय गगन र विश्वको हो।’ आयोजकहरूका अनुसार ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरावलोकन, संरचनागत सुधारलगायतका एजेन्डामा छलफल गर्ने जनाइएको छ।
महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्छः महामन्त्री थापा
महामन्त्री थापाले महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्ने बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा थापाले बन्दसत्रले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने पनि बताए।
उनले विशेष महाधिवेशन कहाँ गएर टुंगिने आफूलाई पनि थाहा नभएको बताए। थापाले अगाडि भने, ‘बन्दसत्र कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन। विशेष महाधिवेशन माग गर्ने सदस्यहरूले नीति पनि बदल्ने र नेता पनि बदल्ने भन्नुएको छ। यो मैले मागेको होइन। तपाईंहरूले मागेको हो। म पनि यहाँ पाहुना भएर आएको हुँ। हाउसले जे निर्णय गर्छ, त्यो मैले मान्नुपर्छ। जहाँ गएर टुंगिन्छ, त्यसलाई मैले स्वीकार्नुपर्छ।’
उनले विशेष महाधिवेशनलाई विशेष बनाएर टुंग्याउने बताए। ‘उद्घाटन पार्टी सभापतिले गरेको देख्न चाहन्थ्यौं,’ थापाले भने, ‘यो सब देखेर कांग्रेसमा झगडा भइरहेको लाग्न सक्छ। कोही उपस्थित र कोही नभएको देख्न सक्छन्। यो शक्ति र सत्ताको संघर्ष होइन। यो विचार, मूल्य र मान्यताको संघर्ष हो।’ उनले पार्टीमा कोही मालिक र कोही दास नभएको बताए। अगाडि भने, ‘यहाँ सबै बराबर छन्। लामो समयदेखि पार्टीमा जाम भएको थियो। त्यो आजबाट भत्किएको छ। अब कसैले पनि पार्र्टीको सदस्यलाई हेप्न सक्दैन। तल बसेकालाई माथिकाले सलाम गर्नुपर्छ। अब तलकाले माथिलाई गर्ने होइन।’
महामन्त्री थापाले भने आफू बीपी र गणेशमानको छोरा नभए पनि आफ्नो शरीरमा बीपीको विचार र गणेशमानको साहस भएको बताए। उनले नेतासँग जनता रिसाउनुको कारण ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन। र, आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो।’
उनले अगाडि भने, ‘त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए। त्यो सरकारमा को थियो ? हामी थियौं। उनीहरू संसद्सँग रिसाएका थिए। त्यो संसद्मा को थिए ? हामी थियौं। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।’
थापाले कांग्रेसभित्र कुनै ‘बा’ नभएको र त्यसले नबोल भन्दैमा बोल्न छोड्नुपर्ने कोही पनि नभएको बताएका छन्। ‘कांग्रेस दास र लासहरूको पार्र्टी होइन। कांग्रेस जिउँदा मान्छेको पार्टी हो। जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा पनि प्रश्न गर्न सक्दैन।’ पार्टी कत्ति पनि ठीक ढंगले नचलेको भन्दै अगाडि भने, ‘पार्टी ठीकठाक नचलेको, चुनाव एउटासँग मिलेर गर्ने र अर्कोसँग मिलेर सरकार बनाउने अनि सरकारबाट बाहिर बसेपछि सबै सकिएजस्तो गर्ने परिपाटी छ। यो प्रवृत्तिले पनि साथीहरू चिढिनुभएको छ।’
२ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव
सोमबारदेखि सुरु हुने बन्दसत्रमा महामन्त्री शर्माले पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै छन्। उक्त प्रतिवेदनमा शर्माले दुई उमेर समूहका छुट्टाछुट्टै संख्याको प्रतिनिधित्व रहने गरी समितिहरू बनाउने प्रस्ताव राख्ने भएका छन्। सो प्रस्ताव पारित गर्ने उनको तयारी छ।
शर्माको प्रस्तावमा केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३० देखि ४० वर्ष उमेर समूहका २० जना प्रतिनिधिलाई प्रतिनिधित्व गराउने गरी तयार पारेका छन्।
त्यस्तै, प्रदेश समितिमा ३० मुनिका १० र ३० देखि ४० वर्ष समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव शर्माले राख्ने छन्। जिल्लामा पनि सोहीअनुसार ६, ६ जना र वडामा ४, ४ जना रहने गरी प्रतिनिधित्व हुने गरी उनले प्रतिवेदन पेस गर्दैछन्। प्रत्येक तहको अधिवेशन ३ देखि ६ महिनाको फरकमा गर्ने, भ्रातृसंस्थाको पुनः परिभाषा गरी तिनलाई स्वायत्त बनाउने। पार्टीका सबै संरचनामा महिलाको सहभागिता बढाउने, केन्द्रमा ४० वर्षमुनिका युवाका लागि एक सहमहामन्त्री र पेसागत क्षेत्रबाट एक सहमहामन्त्री थप गरी दुई सहमहामन्त्रीको व्यवस्था गर्ने। प्रदेश कार्यसमितिमा पनि समानुपातिक आधारमा सहमहामन्त्री थप गर्ने गरी विधान संशोधन गर्ने।
केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्दै ७७ जिल्लालाई प्रतिनिधित्व गर्ने ७७ जनासहित २६५ प्रत्यक्ष निर्वाचित, ३६ समावेशी तथा समानुपातिक व्यवस्थाअनुसार सभापतिबाट मनोनीत गरी कुल ३ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव लग्ने तयारीमा महामन्त्री शर्मा छन्।
त्यस्तै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद पदमा उनले पुरानै प्रस्ताव दोहोर्याएका छन्।
एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसद रहने प्रस्ताव उनले यसअघि पनि ल्याएका थिए। उक्त प्रस्ताव प्रतिवेदनमार्फत विशेष महाधिवेशनको हलमा प्रस्तुत गरिने जनाइएको छ। शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन्।
विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘मैले धेरैपटक सभापतिजीलाई छैटौंपटक प्रधानमन्त्री नबन्नुस् भनेर पटक–पटक सुझाव दिएको थिएँ। सभापतिजीले हामीले भनेको सुझाव मानेको भए सायद अहिले उहाँलाई अभिभावकको रूपमा खोजिरहनुभएको हुन्थ्यो होला। उहाँहरूलाई भन्न चाहन्छौं, देश बाहिरकाले सुनोस्, देश भित्रकाले सुनोस्। पार्टी भित्रकाले सुनोस्, बाहिरकाले सुनोस्। यो विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री नबन्ने निर्णय गर्छ।’
महामन्त्री शर्माले अगाडि थपे, ‘३४ वर्षमा ३० जना प्रधानमन्त्री बन्दा नेताहरूलाई सन्तुष्टि मिले पनि जनतालाई नमिलेको बताए। यो कोठा र त्यो कोठा चहार्दै गर्दा सीडीओलाई सञ्चो लाग्यो होला। तर, सेवाग्राहीलाई लागेन। जनताका थुप्रै असन्तुष्टि र गुनासाहरू छन्। ती असन्तुष्टि र गुनासालाई हामीले केस्रा–केस्रा केलाउँछौं।’ शर्माले प्रस्तुत गर्न लागेको प्रतिवेदनमा विभिन्न पेसा, व्यवसायमा रहेकाहरूलाई पार्टी संरचनामा ल्याट्रल इन्ट्री गराउने व्यवस्था राख्ने भएका छन्।
विदेशस्थित जनसम्पर्क समितिबाट पार्टीको अन्तर्रास्ट्रिय संरचना बनाउने प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ। त्योसँगै प्रत्येक देशको जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्ष अन्तर्रास्ट्रिय परिषद्का सदस्य हुनेछन्। त्यस्तै, अन्तर्राष्ट्रिय जनसम्पर्क समिति २७ सदस्यीय हुने प्रतिवेदन उनले बन्दसत्रमा पेस गर्दै छन्।
विशेषबारे के भन्छ विधान ?
विशेष महाधिवेशनबारे कांग्रेसको विधानमै व्यवस्था गरिएको छ। कांग्रेसको विधानअनुसार तीनवटा अवस्थामा पार्र्टी विशेष महाधिवेशनमा जान सक्छ। पहिलो, विधानको धारा १७ ‘२’ बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरे विशेष महाधिवेशन बोलाउन सक्छ।
दोस्रो, सोही धाराअनुसार केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गर्न सक्छन्। ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।’ विधानको धारा १७ ‘२’ मा भनिएको छ।
तेस्रो, केन्द्रीय सभापतिले पदबाट राजीनामा दिएमा वा कुनै कारणले पद रिक्त हुन गएको अवस्थामा पनि विशेष महाधिवेशन आयोजना गरेर नयाँ नेतृत्व छनौट गर्ने विधानमा व्यवस्था छ।
विधानको धारा २६ अन्तर्गत ‘केन्द्रीय सभापतिको राजीनामा’ राखेर विधानमा निम्नानुसार लेखिएको छ। केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने छ। अर्को केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने छ र ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ।
तेस्रो कारण अन्य कुनै कारणबाट केन्द्रीय सभापतिको पद रिक्त हुन आएमा उपधारा ‘२’ बमोजिम गरिने छ। तर, विधानमा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने, चयन भएको नेतृत्वको कार्यकाल कति हुने लगायतका अन्य प्रावधानबारे विस्तृत व्याख्या भने गरिएको छैन। विधानले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउने भने पनि महाधिवेशन कसरी आयोजना गर्ने, त्यसबाट चुनिने नेतृत्वकोे कार्यकाल कति हुने, कति समय पछि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भन्नेबारेमा केही उल्लेख छैन।
अहिले माग गरिएको विशेष महाधिवेशनले वि.सं. २०१४ मा भएको पार्टीको पहिलो विशेष महाधिवेशनले गरेको जस्तै काम गर्छ। ‘यो १५ औं महाधिवेशनका रूपमा गणना हुँदैन। ०१४ सालको विशेष महाधिवेशन पनि पार्टीको महाधिवेशनमा गणना छैन। उक्त महाधिवेशनले नेतृत्वको नवीकरण गर्यो, नीतिको नवीकरण गर्यो र विशेष परिस्थितिमा पार्टीले गर्नुपर्ने सबै काम गर्यो। अहिले गरिएको विशेष पनि त्यही किसिमको हुन्छ।
अब कांग्रेसलाई वाम गठबन्धनबाट मुक्त गराउनुपर्छ। यो नेपाली जनताको कांग्रेस बन्नुपर्छ। कांग्रेसलाई अब दुबो जस्तै फैलिने पार्र्टी बनाउन यो महाधिवेशनले ऊर्जा दिन जरुरी छ।’
पुष्पा भुसाल, कांग्रेस नेतृ
त्यो पहिलो विशेष महाधिवेशन
कांग्रेसको ९ माघ २०१२ मा भएको छैटौं महाधिवेशनबाट सुर्वणशमशेर पार्टी सभापति भए। महाधिवेशनलगत्तै बीपी कोइराला, सुर्वणशमशेरलगायतका नेताहरू देश दौडाहामा निस्के। त्यतिबेला राजा महेन्द्रले आमनिर्वाचन गर्ने घोषणा गरेका थिए। अनि कांग्रेसले देशव्यापी रूपमा आफ्नो अवस्था बुझ्ने अभियान चलायो। देशव्यापी अवस्था बुझेपछि पार्टी सभापतिमा निर्वाचित भएको झन्डै एक वर्षपछि ‘१४ मंसिर २०१३’ मा सुवर्णशमशेरले पुरानो कार्यसमिति र संसदीय समितिनै विघटन गरे।
सप्तरीको राजविराजमा सुर्वणले एउटा सम्मेलन राखे जहाँ शीर्ष नेतृत्व थियो। उक्त सम्मेलनमा उनले अहिलेकै नेतृत्वमा निर्वाचनमा गइयो भने कांग्रेसले जित निकाल्न नसकिने भन्दै विराटनगरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखे। जुन सर्वसम्मतिबाट पारित पनि भयो।
सोहीअनुसार १० जेठ २०१४ मा कांग्रेसको विशेष अधिवेशन विराटनगरमा भयो। उक्त महाधिवेशन तत्कालीन मोरङ सभापति गिरिजाप्रसाद कोइरालाको सभापतित्वमा भएको थियो।
सोही समारोहको उद्घाटन सत्रमै तत्कालीन पार्टी सभापति सुवर्णले सम्बोधन गर्दै बीपी कोइरालालाई पार्टीको नेतृत्व लिन अनुरोध गरे। त्यतिबेला उनले भनेका थिए, ‘नेपाली कांग्रेस अहिले फेरि एउटा अर्को महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने परिस्थिति आएको छ। हामीले शान्तिपूर्ण एकजुट भएर प्रजातन्त्रको लागि लड्नुपर्ने भएको छ। यो लडाइँमा हामीलाई हार्ने छुट छैन। त्यसैले यो लडाइँ हाम्रो निम्ति महत्वपूर्ण छ। यो लडाइँ समयमा चुनाव गराउन सरकारलाई बाध्य गराउने र चुनावमा विजय हासिल गर्ने हो। त्यसको निम्ति सक्षम र गतिशील नेतृत्वको आवश्यकता छ। त्यो मैले देशव्यापी भ्रमण गर्दा मेरो नेतृत्वमा सफल हुँदैन।
त्यसैकारण सभापति पदबाट मैले आफूले राजीनामा गर्ने निर्णय गरिसकेको छु र अबको साथी विश्वेश्वरप्रसाद कोइरालाजीले सम्हाल्नुपर्छ भन्ने मेरो अनुरोध छ।’ त्यसपछि बीपीले जिम्मेवारी सम्हालदै भनेका थिए, ‘सुवर्णजी पार्टी र प्रजातन्त्रको हितबाहेक अरू केही चाहनु हुन्न भन्ने कुरालाई अरू पुष्टि गरेको छ।’ बीपीले अगाडि भनेका थिए, ‘सुर्वणजी मनमा एउटा कुरा राखेर, मुखले अर्को कुरा भन्ने मानिस उहाँ होइन। उहाँले यसबारेमा सबै कुरा गरिसकेपछि पनि मैले भनेको थिएँ– तपाईं सभापति पदमा नै रहनुहोस्। म आफू सभापति भए सरह नै काम गर्छु। तपाईं आफ्नो कार्यकाल पूरा गर्नोस्। तर उहाँले मान्नुभएन। भन्नुभयो तपाईंको नेतृत्वमा हामी निर्वाचनमा गएनौं भने कांग्रेसले बहुमत ल्याउन सक्दैन।’
‘हामी विशेष महाधिवेशनमा भेला भएका छौं। यो मलाई सभापति पदमा राख्ने महाधिवेशनभन्दा पनि सुर्वणजीको पार्टीप्रतिको निःस्वार्थ सेवाको सम्मान गर्ने महाधिवेशन हो। सुवर्णजीले मलाई पार्टीको सभापति बन्ने प्रस्ताव गरेर पार्टीप्रतिको दायित्व र उहाँप्रतिको कृतज्ञताको बोझ पनि मलाई थपिदिनुभएको छ।’
दुई दिनसम्म चलेको विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापतिमा सर्वसम्मत चयन गर्यो। तत्कालीन सभापति सुवर्णशमशेर आपूm भने कोषाध्यक्ष बने। विश्वबन्धु थापा र तुलसी गिरीलाई महामन्त्री चयन गरियो।
त्यसपछि २८ चैत २०१५ मा नेपालमा पहिलो प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो। बीपी कोइरालाको नेतृत्वमा पहिलो संसदीय चुनावमा प्रतिस्पर्धा गरेको कांग्रेसले १ सय ९ सिटमध्ये दुईतिहाइ बहुमत ७४ सिट पाएको थियो।
‘यथास्थितिमा बस्नु हुँदैन’
गुरुराज घिमिरे नेता, विशेष महाधिवेशन पक्षधर
कांग्रेस अब यथास्थितिमा चल्न सक्दैन। पार्टीको नेतृत्व परिवर्तन आवश्यक छ। जेन–जी विद्रोहले स्पष्ट सन्देश दिएको छ, कांग्रेस यथास्थितिमा बस्नु हुँदैन भनेर। कांग्रेसलाई नेतृत्व र नीतिगत परिवर्तन चाहिएको छ। ३६ वर्षको राजनीतिको गम्भीर समीक्षा गर्नुपर्ने छ।
भावी कार्यदिशा पनि यही महाधिवेशनबाट टुंगोमा पुर्याउनुपर्छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई सतप्रतिशतको बनाउन यसमा सहभागी हुनुपर्छ। बन्द सत्रसम्म आउनुहोस्। हामी स्वागत गर्छौँ। पार्टी सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काजी लगायतका संस्थापन पक्षका नेताहरू सहभागी भएर विशेष महाधिवेशनलाई उत्सवका रूपमा मनाउन आग्रह गर्दछु।
‘मिल्ने बेला हो’
नैनसिंह महर, केन्द्रीय सदस्य संस्थापन पक्ष
विशेषको भेलामा देखिएको जनलहरलाई पार्टीको हितमा प्रयोग गर्नुपर्छ। सबै कुरा मिलोस् भन्नेमै हामी छौं। भेलामा आएका हजारौं मान्छेमा अधिकांश मान्छे हिजो पनि थिए, आज पनि छन्।
हिजो सिंहदरबार जलाए भनेर काम नै ठप्प हुने भन्ने हैन नि ! आज सामान्यतर्फ मुलुक फर्किँदैछ। यतिबेला कांग्रेस जुट्ने बेला हो। बहुमतले भूमिका खेल्ने भन्ने हुँदैन। महामन्त्रीजीहरूलगायत आज उक्त कार्यक्रममा उपस्थित हुने कसैले पनि पार्टी फुटोस् भन्ने चाहनुहुन्न। यतिबेला मिल्ने बेला हो।
हामी मिल्छौं।
‘एमाले एकताबद्ध कांग्रेस चाहन्छ’
महेशकुमार बर्तौला, एमाले केन्द्रीय सदस्य
नियमित वा विशेष जुन महाधिवेशन गरे पनि कांग्रेसको आन्तरिक मामिला हो। तर, अहिलेको बेला लोकतन्त्रका पक्षमा लडेको पार्टी एकताबद्ध हुनुपर्ने आवश्यकता छ।
कांग्रेस विभाजित हुँदा, फुट्दा वा अन्तरविरोध झाँगिदा लोकतन्त्र बलियो बन्न सक्दैन। विषम परिस्थितिमा कांग्रेसले आफूलाई समाल्नुपर्छ। कांग्रेसजनले कम्तीमा पनि उत्तेजनामा होइन, सालिनताका आधारमा पार्टीभित्रको आन्तरिक सहिष्णुतालाई नयाँ उचाइमा पुर्याएर अगाडि बढ्ने संकल्प गर्नुपर्छ।
पछिल्लो समय जसरी ‘पपुलिज्म’ हाबी भइरहेको छ। त्याग, तपस्या, बलिदान, राष्ट्रप्रति समपर्णलाई बिर्सने काम भइरहेको छ। यो परिस्थिति कांग्रेसले नजिकबाट समीक्षा गर्नु जरुरी छ।
प्रतिक्रिया दिनुहोस !