पहिरो गएको ५ महिना बित्यो, भएन पदमार्ग मर्मत

पहिरो गएको ५ महिना बित्यो, भएन पदमार्ग मर्मत

गोरखा : चुमनुब्री गाउँपालिका—२ ल्होका छिरिङ धार्के लामाले मनास्लु पदमार्गको पहिरोको भिडियो सामाजिक सञ्जाल (फेसबुक)मा राख्दै प्रश्न गरेका छन्, ‘गाउँपालिकाले पदमार्ग मर्मतसम्भार गर्न भन्दै पर्यटकसँग करोडौं राजस्व उठायो भन्छन्। ड्याङभन्दा मुनि, न्याकफेदीभन्दा माथिको पहिरो कसले बनाउने हो ? यहाँको पहिरोमा पुरिएर बर्खामा विदेशी पर्यटकको मृत्यु भएको थियो। यहाँ पहिरो गएर बाटो बिग्रिएको पाँच महिना भइसक्यो। अब त अर्को टुरिस्ट सिजन पनि सुरु हुन लाग्यो। कहिले बनाउने हो ? ’

छिरिङमात्र होइन, मनास्लु क्षेत्रका बासिन्दा सदरमुकाम आउँदा–जाँदा जब जोखिमपूर्ण पहिरो कट्न उँभो भिरतिर हेर्दै दौडिन्छन्, तब यी ठाउँहरूमा सुरक्षितपूर्वक हिँड्डुल गर्न कहिले पाइएला भन्ने कल्पना गर्छन्। पदमार्ग मर्मतसम्भार गर्न भन्दै गाउँपालिकाले पर्यटकसँग कर संकलन गर्ने गर्छ। संकलित करोडौं रुपैयाँले किन चाँडै बाटो मर्मतसम्भार नभएको होला भन्ने प्रश्न आपसमा गर्ने गर्छन्।

गत साउनयता पाँच महिनाको अवधिमा आठ हजार विदेशी र एक हजार स्वदेशी पर्यटकसँग गाउँपालिकाले ८२ लाख १६ हजार राजस्व संकलन गरिसकेको छ। तर पदमार्ग भने मर्मतसम्भार गरिएको छैन। ‘पहिरो झरेर टुरिस्ट पुरिएको केही दिनपछि गाउँलेहरूले काम चलाउ बाटो खोलेका थिए। यहाँ अहिले एक पाइलामात्र टेक्न मिल्ने साँघुरो छ’, छिरिङ भन्छन्, ‘यही पहिरोेमा एक महिनाको अवधिमा दुईवटा खच्चड लडेर गण्डकीमा परिसक्यो। फाट्टफुट्ट विदेशी पर्यटक पनि हिँडिरहेका छन्। स्थानीयवासी र कर्मचारीहरू पनि नियमित हिँडिरहेकै छन्’, छिरिङ धार्के लामा भन्छन्, ‘अब अर्को स्प्रिङ सिजन आउन लागिसक्यो, बाटोको अवस्था जस्ताको तस्तै छ। पर्यटकसँग राजस्व उठाएपछि त पर्यटक हिँड्ने बाटो खुरुखुरु बनाए हुन्थ्यो। किन ढिला भइरहेको छ ? ’ मीठा–मीठा भाषण गर्नुभन्दा स्थानीयवासी र पर्यटक दिनहुँ हिँड्ने बाटोलाई सुरक्षित बनाउनुपर्नेमा उनको जोड छ।

गत बर्खायाममा न्याकफेदीभन्दा माथि, ड्याङसम्म तीन ठाउँमा पहिरो झरेका थिए। काम चलाउका लागि जतोतसो खोलिएका ती पहिरोहरू अहिले पनि जस्ताको तस्तै रहेको स्थानीयवासीको गुनासो छ।

‘मनाङतिर पनि यस्तै पहिरो जान्छ, तर त्यहाँ त केही दिनभित्रै मर्मतसम्भार गरेर जस्ताको तस्तै बनाइदिन्छन्। हाम्रो यहाँ त यत्तिका महिना भइसक्यो’, स्थानीय चन्द्र गुरुङ भन्छन्, ‘ठेक्का लगाउने भन्छन्। प्रक्रियामा जाँदा महिनौं लाग्छ। जनता हिँड्ने बाटो त अल्ली फास्ट ट्र्याकमा बनाए नि हुन्थ्यो।’ आफूले बेलाबेला यस्तै सुझाव दिने गरेको उनको भनाइ छ। चुमनुब्री—३ का वडाध्यक्ष रामकुमार गुरुङले त्यहाँको अवस्थाको बारेमा बुझेर समस्या छिट्टै सम्बोधन गर्ने प्रयास गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.