वालिङमा जारी भेट्रान्स फुटबलको उपाधि एनएफसी पोखरालाई
स्याङ्जा : ॐकार इभेन्ट्स हब वालिङद्वारा जारी प्रथम ॐकार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि एनएफसी पोखराले जितेको छ।
वालिङ खेलमैदानमा भएको फाइनल खेल मेजर एफसी पोखरा र एनएफसी पोखरा बीच भएको थियो। निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुग्यो। एनएफसी पोखराले ४ गोल गर्दे एक गोल अन्तरले उपाधि जित्न सफल भएको हो।
उपाधि विजेता समूहले १ लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र र उपविजेताले ५० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा म्यान अफ द म्याच दिलिप गुरुङ (एनएफसी पोखरा), बेस्ट स्ट्राइकर नरेन केसी (एनएफसी पोखरा), बेस्ट डिफेन्डर राजु गुरुङ (मेजर एफसी पोखरा), बेस्ट गोलकिपर सूर्य तिमिल्सिना (एनएफसी पोखरा), हाइ स्कोरर प्रदिप गुरुङ (मेजर एफसी पोखरा), बेस्ट मिडफिल्डर गोबिन थापा (मेजर एफसी पोखरा), बेस्ट प्लेयर किरण प्रकाश गुरुङ (एनएफसी पोखरा) लाई विधागत पुरस्कारद्धारा पुरस्कृत गरिएको ॐकार इभेन्ट्स हब वालिङका अध्यक्ष विजयविक्रम खाँणले जानकारी दिए।
पुरस्कार प्रदान सहित प्रतियोगिताको समापन गर्दै वालिङ नगरपालिकाका पूर्वमेयर एवं गरिमा विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाँणले खेलकुद सबैका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै भेट्रान्स खेलाडीहरूको उत्साह देखेर आफू अत्यन्त हर्षित भएको बताए।
पुस २९ देखि सुरु प्रतियोगितामा पोखरा, पाल्पा, बुटवलका ९ समूह सहभागी रहेको हबका प्रबन्ध निर्देशक नवराज पौडेलले बताए। प्रतियोगितामा ४० वर्ष उमेर पुरा भएका र प्रति समूहमा न्यूनतम १/१ जना ५० वर्षका हुनुपर्ने नियम थियो।
प्रतिक्रिया दिनुहोस !