महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्तामा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए। सभापति र निवर्तमान सभापतिबीच शिष्टाचार भेट भएको स्रोतले पुष्टि गर्यो। 'उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। सभापतिले निवर्तमान सभापतिलाई भेट्नु सामान्य कुरा हो। भेटमा पार्टीको सुदृढीकरणका विषयमा छलफल भयो,' स्रोतले अन्नपूर्णसँग भन्यो।
स्रोतका अनुसार उनीहरूबीच कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा पनि छलफल भएको थियो। नवनिर्वाचित सभापति थापाले पार्टी विवाद समाधान गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउनुपर्ने देउवालाई आग्रह गरेको स्रोतको भनाइ छ।
निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनलाई मान्यता दिएपछि कानुनीरूपमै नेपाली कांग्रेसको सभापति थापा बनेका थिए। देउवा समूहले भने आयोगको निर्णय नमान्ने निर्णय गरिसकेको छ। देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !