कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवका लागि ३ जना सिफारिस
दैलेख : कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवका लागि तीन जनालाई सिफारिस गरिएको छ। सदस्य सचिव पदका लागि वीरेन्द्रनगर–७ सुर्खेतका रविन्द्र चन्द, भेरीगंगा–३ सुर्खेतका दिपक हमाल र वीरेन्द्रनगर–५ सुर्खेतका प्रमोद हमाल सिफारिस भएका हुन्।
परिषद्को सदस्य सचिवको सिफारिसका लागि सामाजिक विकास मन्त्रालयले गत पुष ३० गते प्रारम्भिक योग्यताक्रम सूचि सार्वजनिक गरेको थियो। प्रारम्भिक योग्यताक्रमको सूचीमा परेका १० जना उम्मेदवारको शनिबार लिइएको अन्तर्वार्ताबाट ३ जनालाई सिफारिस गरिएको हो।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनोट सम्बन्धी मापदण्ड, २०८२ को दफा ७ बमोजिमको मूल्यांकनबाट प्राप्त गरेको अंक र दफा ८ बमोजिम अन्तर्वार्तामा हासिल गरेको अंक समेतका आधारमा ३ जनालाई योग्यताक्रम कायम गरि सिफारिस गरिएको सदस्यसचिव जवाहरलाल हमालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !