प्रतिनिधिसभा निर्वाचन :अछाममा तीन दलले टुंग्यायो उम्मेदवार, एमालेको उम्मेदवार फेरबदल
अछाम : अछाममा तीन राजनीतिक दलले उम्मेदवारको नाम टुंगो लगाएका छन् । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी र राष्टिय स्वतन्त्र पार्टीले उम्मेदवारको नाम टुंगो लगाएका हुन्।
निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट भीमबहादुर रावल,नेकपा एमालेबाट दिपक साउद,रास्वपाबाट ओमप्रकाश रावलको नाम टुंगो लगाएको हो । एमालेले भने उम्मेदवार फेरबदल गरेको हो । यो भन्दा पहिले एमालेबाट झपटबहादुर बोहराको नाम आए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि साउदलाई उम्मेदवार बनाइएको हो ।
साउद २०७० को निर्वाचनमा नेकपा माओवादीबाट उम्मेदवार थिए। एकीकृत समाजवादी,नेकपा माओवादीलगायतका दलहरूबीच पार्टी एकीकरण भएपछि साउद प्रगतिशिल लोकतान्त्रिक पार्टीमा आवद्ध थिए । साउद एमालेमा प्रवेश गरेका छन् ।
क्षेत्र नं २ मा एमालेबाट यज्ञबहादुर बोगटी,नेपाली कम्युनिष्ट पार्टीबाट शरदसिंह भण्डारी र रास्वपाबाट भूपदेव शाह उम्मेदवार बन्ने भएका छन् । क्षेत्र नं १ मा २०४८ र २०५६ मा नेपाली कांग्रेसले जितेको थियो भने २०५१ मा एमाले र २०६४ पछि लगातार २०७०,२०७४ मा एमालेले जित्दै आएको थियो । २०७९ निर्वाचनमा भने कांग्रेससँगको गठबन्धनमा नेकपा समाजवादीले जितेको थियो ।
क्षेत्र नं १ मा २०७९ मा तत्कालिन नेकपा समाजवादीका उम्मेदवार (हाल नेपाली कम्युनिष्ट पाटी) शेरबहादुर कुँवरसँग एमालेका झपटबहादुर बोहरा ४ हजार ४८९ मतान्तरले पराजित भएका थिए । कुँवरले १९ हजार ५३४ मत पाएका थिए भने बोहराले १५ हजार४५ मत प्राप्त गरेका थिए । २०७४ मा तत्कालिन एमालेबाट उम्मेदवार बनेका भीमबहादुर रावलले २४ हजार ८९३ मत पाएका थिए भने कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६८९ मत प्राप्त गरेका थिए । रावल २०४८ मा कांग्रेसका बलबहादुर कुँवर र २०५६ मा गोविन्द शाहसंग पराजित भएका थिए । रावल २०५१,२०७० र २०७४ मा निर्वाचित भएका थिए ।
भीमबहादुर रावल छैठौ ,यज्ञबहादुर बोगटी तेस्रो,साउद २०७० पछि र शरदसिह भण्डारी २०६४ पछि दोस्रो पटक उम्मेदवार बनेका छन् । रास्वपाले भने पहिलो पटक दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार पठाएको छ ।
यस्तै क्षेत्र नं २ मा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहसँग एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी ४ हजार ४७१ मतान्तरले पराजित भएका थिए । शाहले १७ हजार २८३ मत पाएका थिए भने बोगटीले १२ हजार ५१२ मत प्राप्त गरेका थिए ।
यस्तै २०७४ को निर्वाचनमा भने बोगटीसँग शाह २ हजार ८५९ मतान्तर पराजित भएका थिए । बोगटीले २१ हजार ९६५ र शाहले १९ हजार १०६ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगले माघ ६ गते मनोनयन दर्ताको मिति तोकेको छ ।
प्रतिक्रिया दिनुहोस !