जिम्मेवारीबाट पन्छिँदै जनप्रतिनिधि
काठमाडौं : प्रतिनिधिसभामा सांसद हुने राजनीतिक महत्वाकांक्षा पूरा गर्न दर्जनौं स्थानीय जनप्रतिनिधि एवं प्रदेश सांसदहरूले कार्यवधिको बीचैमा राजीनामा दिएका छन्। निर्वाचित प्रतिनिधिले कार्यावधि पूरा नगरी बीचैमा राजीनामा गर्ने प्रवृत्तिले विकृति बढाइरहेकोमा संविधानविद्हरू चिन्ता व्यक्त गर्छन्। संविधानविद् डा. विपिन अधिकारी भन्छन्, ‘निर्वाचन गराउन राज्यले समय, श्रम र साधनको धेरै खर्च गर्नुपर्छ। निर्वाचनका बेला मतदातालाई दिएको आश्वासन, भरोसा र प्रतिबद्धतालाई ठट्टा बनाउँदा प्रजातन्त्र प्रभावित हुन्छ। मतदातालाई अलपत्र पारेर राजनीति गर्न कसैलाई दिनुहुँदैन।’
२१ फागुनमा हुने निर्वाचनका लागि राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहबाट राजीनामा गरी दर्जनौं उम्मेदवारहरू चुनावी मैदानमा उत्रेका छन्। जनताको म्यान्डेटअनुसार २०८४ को स्थानीय चुनावसम्म कार्य गर्नुपर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह, चितवन महानगरकी मेयर रेणु दाहाल, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राई, धरानकै वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईलगायतका जनप्रतिनिधिले बीचैमा राजीनामा गरेका छन्। सबैजना आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दै छन्।
संविधानविद् अधिकारी भन्छन्, ‘एक÷दुई जनाले राजीनामा गरेको भए ईस्यु बनाउनु जरुरी थिएन। तर, अब त धेरै महत्वाकांक्षी देखिए। जनप्रतिनिधिले व्यक्तिगत रूपमा अवसर खोजेर हिँड्ने हो भने लोकतन्त्रको गुण खस्किन पुग्छ। यसका लागि निर्वाचन कानुनमा अविलम्ब संशोधन गर्नुपर्छ।’
प्रदेश सांसदको राजीनामा लर्को
नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। प्रदेशसभातर्फ दोलखा (ख) बाट निर्वाचित काफ्ले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेशसभाका ३ जना सदस्यले आइतबार राजीनामा दिए। दाङका धनबहादुर मास्की, बर्दियाका धर्मबहादुर चौधरी र कन्हैया बानियाँले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।
नेपाली कम्युनिस्ट पार्टीका मास्की दाङ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्दै छन्। त्यस्तै, उज्यालो पार्टीका महासचिव चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका हुन्। यस्तै कन्हैया बानिया रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने तयारीमा छन्। मधेस प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मण्डल आगामी धनुषा क्षेत्र नं १ बाट उम्मेदवारी दिँदै छन्। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह पनि प्रदेशसभा छाडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुँदैछन्।
सिंह राष्ट्रिय स्वाभिमान पार्टीबाट सप्तरी–२ बाट चुनावी मैदानमा उत्रँदै छन्। प्रदेशसभा सदस्यबाट राजीनामा गरेका मधेस प्रदेशकै पूर्वमुख्यमन्त्री सरोजकुमार यादव नेकपा एमालेबाट महोत्तरी–४ मा लड्दै छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका बागमती प्रदेशका पूर्वसभामुख भुवनकुमार पाठकले पनि प्रदेश सांसदबाट राजीनामा दिएरप्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा छन्। उनी काठमाडौं–४ बाट निर्वाचनमा उम्मेदवारी दिँदै छन्। सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा गरेर प्रकाशबहादुर शाह प्रतिनिधिसभा सदस्यको चुनाव लड्दै छन्। उनलाई नेकपाले बाजुराबाट उम्मेदवार बनाएको छ।
राजनीतिक विश्लेषक लोकराज बराल जनताको म्यान्डेटअनुसार पूरा कार्यकाल जिम्मेवारी पूरा नगरी बीचैमा राजीनामा गरेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु उपयुक्त नहुने बताउँछन्। ‘कार्यकालको बीचैमा छोड्ने प्रवृत्ति राम्रो होइन,’ बराल भन्छन्, ‘राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवार उठ्नु व्यक्तिको इच्छा होला। तर, यो प्रवृत्ति ठीक होइन। निर्वाचन कानुन संशोधन गर्दा लगाम लाग्न सक्छ।’
संविधाविद् डा. विपिन अधिकारी अवसर पाउँदा छोड्ने प्रवृत्ति प्रदेश सांसदहरूमा देखिएको बताउँछन्। ‘जनप्रतिनिधिले जनताप्रतिको आस्था र विश्वासका राजनीति गरेको देखिएन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !