आज देशभर उम्मेदवारी दर्ता

झापादेखि डडेलधुरासम्म १० निर्वाचन क्षेत्र, जसले ततायो चुनाव

झापादेखि डडेलधुरासम्म १० निर्वाचन क्षेत्र, जसले ततायो चुनाव

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता मंगलबार हुँदैछ। १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्तासँगै मुलुक पूरै निर्वाचनमा होमिँदै छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धा गर्ने भनिएको झापा क्षेत्र नम्बर ५ सहित १० वटा क्षेत्रले चुनावी सरगर्मी ह्वात्तै बढाएको छ।  यही क्रममा सोमबारसम्म टुंगो नलागे पनि विशेष महाधिवेशनबाट सभापति चुनिएका नेपाली कांग्रेसका सभापति गगन थापादेखि चुनावी क्षेत्र फेर्दैफेर्दै रुकुम पूर्वपुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायतका नेताहरूको वस्तुस्थितिले सबैमा कौतुहलता थपेको छ। यी निर्वाचन क्षेत्र उम्मेदवार तय भइसकेका आधारमा प्रस्तुत गरिएको छ। 

झापा ५ : यसपटकको चुनावमा सबैभन्दा चर्चामा छ यो निर्वाचन क्षेत्र। जुन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित हुँदै आएको क्षेत्र हो। काठमाडौं महानगरपालिको मेयरको जिम्मेवारी छोडेर सोही क्षेत्र पुगेका छन् पूर्वमेयर बालेन्द्र शाह (बालेन)।

झापा– ५ मा तीन दशकभन्दा बढिदेखि ओलीले एकछत्र जित्दै आएका छन्। उनले २०४८, २०५१, २०५६, २०७०, २०७४, २०७९ मा जितेका छन्। २०६४ मा ओलीलाई तत्कालीन माओवादीका नेता विश्वदिप लिङ्देनले हराएका थिए। रास्वपाले भने शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गर्दै अघि बढाएको छ। 

नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ। पछिल्लो समय उदाएको हर्क सम्पाङको श्रम संस्कृति पार्टीबाट समिर तामाङ उठेका छन्। २०७९ सालको निर्वाचनमा ठूलो अन्तरले ओलीले कांग्रेसका उम्मेदवारलाई हराएका थिए। 

रुकुमपूर्व : पुष्पकमल दाहाल रुकुमपूर्वमा पुगेका छन्। प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका दाहाल यो पटक रुकुमपूर्व पुगेका हुन्। 

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा रोल्पा २ र काठमाडौं १० बाट उनी लडेका थिए। दुवै क्षेत्र जिते पनि। तर, उनले रोल्पा छोडेर काठमाडौं १० रोजे। त्यसपछि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा दाहालले काठमाडौं १० र सिराहा ५ रोजे। काठमाडौं १० मा राजेन्द्रकुमार केसी (राजन)सँग पराजित मात्रै भएनन्, केसी निकटम प्रतिद्वन्द्वी त एमालेका सुरेन्द्र मानन्धर भए। दाहाल तेस्रो हुन पुगे । सिराहामा पनि बालबाल जिताइएको भन्दै उतिबेला आलोचना भएको थियो। 

२०७४ सालको आमनिर्वाचनमा काठमाडौं, सिराहा दुवै छोडेर प्रचण्ड चितवन २ मा पुगे। चितवनमा जिते पनि । तर, चितवनमा रास्वपा सभापति रवि लामिछाने गएपछि उनी २०७९ सालमा गोरखा–२ पुगे। डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ दुवैले उम्मेदवार नदिएर सहयोग गरेपछि उनले गोरखाबाट जितेका थिए। अहिले पुनः गोरखा पनि छोडेर सुरक्षित स्थान खोज्दै रुकुमपूर्व पुगेका छन्। २०७९ सालको निर्वाचनमा माओवादीको आधार क्षेत्रका रूपमा रहेका रूकुम पूर्वबाट तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी भएका थिए। यो क्षेत्रबाट कांग्रेसले कुसुम थापा मगरलाई उम्मेदवार बनाएको छ भने एमालेले लीलामणि गौतमलाई उठाएको छ। 

चितवन २ : चर्चामा रहेको अर्को निर्वाचन क्षेत्र चितवन ३ हो। जहाँ रास्वपा सभापति रवि लामिछाने लड्दै छन्। यसअघिका दुई निर्वाचनमा उनले यो क्षेत्रबाट विजय हासिल गरिसकेका छन्। २०७९ सालको निर्वाचनमा लामिछानेले भारी मतान्तरबीच जित हासिल गरेका थिए। लामिछाने नक्कली नागरिकता प्रकरणमा पद मुक्त भएपछि पुनः भएको उपनिर्वाचनमा पनि उनी नै विजयी भएका थिए। त्यो निर्वाचन क्षेत्रबाट कांग्रेसले सामाजिक अभियन्ता मीना खरेललाई उम्मेदवार बनाएको छ। एमालेले युवा नेता अस्मिन घिमिरेलाई उठाएको छ। 

चितवन ३ : अर्को चर्चामा रहेको निर्वाचन क्षेत्र चितवन ३ हो। यो क्षेत्रबाट भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लड्दै छन्। उनीसँग रास्वपाकी नेतृ सोविता गौतम भिड्न पुगेकी छन्। २०७९ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी गौतमलाई रास्वपाले चितवन ३ पठाएको छ। दाहाल पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालकी छोरी हुन्। २०७४ र २०७९ सालमा गरी दुई कार्यकाल भरतपुरकी मेयर भएकी रेणुले यहाँ आफूलाई सुरक्षित ठानेकी छन्। कानुनको जानकार, स्पष्ट वक्ता गौतम पनि रास्वपाकी चर्चित नेतृ हुन्। यो क्षेत्रबाट राप्रपाका प्रभावशाली नेता विक्रम पाण्डे पनि लड्दैछन्। राप्रपाका नेता पाण्डे २०७९ सालमा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। निर्माण व्यवसायी पाण्डेको पनि त्यो प्रभाव क्षेत्र हो। एमालेले त्यो क्षेत्रबाट शंकरराज थपलियालाई उम्मेदवार बनाएको छ। 

गोरखा २ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा २ बाट उठ्ने भएका छन्। उनी प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका हुन्। २०७९ को निर्वाचनमा भट्टराईले यही निर्वाचन क्षेत्रमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सहयोग गरेका थिए। यो क्षेत्रबाट एमालेले मिलन गुरुङ पनि उम्मेदवार छन्। उनी चक्रे मिलनका नाममा विभिन्न अपराधिक क्रियाकलापमा मुछिएका छन्। नेपाली कम्युनिस्ट पार्टीले युवा नेता र लेखक लेखनाथ न्यौपानेलाई उठाएको छ। डा. बाबुराम भट्टराई, चक्रेमिलन र न्यौपानेको उम्मेदवारी पनि यो निर्वाचन क्षेत्रमा पनि धेरैको चासो छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि यही निर्वाचन क्षेत्रबाट लड्दैछन्। 

सुनसरी १ : पछिल्लो समय हर्क साम्पाङका कारण धरान चर्चित छ । यो सुनसरी क्षेत्र नम्बर १ हो। जसबाट मेयर पदबाट राजीनामा दिएर हर्क साम्पाङ उम्मेदवार बन्दै छन्। उनले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टीसमेत खोलेका छन्। 

रास्वपाले सुनसरी–१ बाट कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ (सरिन) लाई दोस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। उक्त निर्वाचनमा उनले १६ हजार ६ सय ६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन्। उनी एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारसँग ४ सय ५३ मतको अन्तरले पराजित भएकी थिइन्। यो क्षेत्र अन्य हिसाब पनि चर्चित छ। २०४८ सालमा तत्कालिन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी यो निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए। कम्युनिस्ट गढ भनिने गरेको यो निर्वाचन क्षेत्र योपटक हर्क साम्पाङको कारण चर्चामा छ।

भक्तपुर २ : एमाले सचिव महेश बस्नेत भक्तपुर २ बाट चुनाव लड्दै छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनमा भएको विध्वसंको विरुद्ध पहिलो आवाज उठाउने नेताहरूमा बस्नेत परिचित छन्। भय त्रासको चरम अवस्थाबाट पछिल्लो समय जनजीवन सामान्यातिर ल्याउन उनको भूमिका महत्वपूर्ण छ। डर, त्रासको जगजगीमा बस्नेतकै कारणले पछिल्लो समय पुराना राजनीतिक दल,नागरिक समाजलाई बोल्न साहस आएको थियो। यो निर्वाचन क्षेत्र रास्वपा र नेपाली कम्युनिस्ट पार्टीले युवा उम्मेदवार ल्याएको छ।

रास्वपाले पूर्वपत्रकार राजीव खत्रीलाई उठाएको छ । पछिल्लो समय खत्री सामाजिक सञ्जालमा नै सक्रिय छन् । नेपाली कम्युनिस्ट पार्टीले बाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)लाई उम्मेदवारी दिएको छ। बस्नेतका साथै खत्री र दिपशिखाको उम्मेदवारीले पनि यो निर्वाचन क्षेत्र थप चर्चामा छ। २०७४ साल बस्नेतले जितेको यो क्षेत्रमा २०७९ सालमा कांग्रेसका दुर्लभबहादुर थापा झिनो मतान्तरले विजयी भएका हुन्। बस्नेत ९५७ को मतान्तरले पराजित भएका थिए। कांग्रेसका उम्मेदवार थापाले २४ हजार २ सय ३९ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार २ सय ८२ मत प्राप्त गरेका थिए।

डडेलधुरा : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो। २०४८ सालदेखि देउवा निरन्तर यही निर्वाचन क्षेत्रबाट लड्दै छन्। उनी कुनै निर्वाचनमा पराजित भएका छैनन्। तर, यो पटक भने कांग्रेस गगन थापाको काँधमा पुगेको छ। विशेष महाधिवेशनले थापालाई सभापति बनाएको छ जसलाई निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ। तर, देउवा पक्ष आयोगको यो निर्णय मान्न तयार छैन।

देउवा पक्ष सर्वोच्च अदालत गएको छ। यो अवस्थामा कांग्रेसबाट डडेलधुरामा कसले टिकट पाउँछ भन्ने चर्चा पनि त्यतिकै छ । ७ पटक डडेलधुराबाट निर्वाचन जितेर ५ पटक प्रधानमन्त्री, दुई कांग्रेसको सभापति देउवा भइसकेका छन्। गगन थापाको हातमा पार्टी गएपछि देउवा नेतृत्व र पार्टीविहीन अवस्थामा छन्। 

यो क्षेत्रबाट रास्वपाले डा.तारा जोशीलाई उम्मेदवार बनाएको छ। जसले २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर प्रदेशसभा सदस्य जितेका थिए। एमालेले चक्रबहादुर स्नेहीलाई उम्मेदवार बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले मानसिंह माललाई उठाएको छ। 

रौतहट १ : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ उठ्दै छन्। काठमाडौं २ र रौतहट १ बाट विगतमा उठ्ने गरेका नेपाल २०७९ सालको निर्वाचनमा रौतहटमा नै सरेका हुन्। २०७९ सालको निर्वाचनबाट रौतहटबाट उनले विजयी हासिल गरेका थिए। उनको निर्वाचन क्षेत्रबाट उनकै चेला अजयकुमार गुप्ता प्रतिस्पर्धी छ ।

अघिल्लो निर्वाचन पनि गुप्ताले प्रतिस्पर्धी थिए। रौतहट–१ बाट २०५६ को आमचुनावमा पनि नेपालले जितेका थिए। २०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि त्यहीबाट नेपाल निर्वाचित भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाल काठमाडांै र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भए। २०७९ को निर्वाचनमा फेरि रौतहट–१ बाटै विजयी भए।

काठमाडौं ३ : यो निर्वाचन क्षेत्रबाट पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उम्मेदवार हुने भएका छन्। उज्यालो नेपाललाई अभियानकै रुपमा प्रस्तुत गर्ने घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै छन्। घिसिङले निर्वाचनमा लड्नकै लागि मन्त्री पद पनि छोडेका छन्। २०७९ सालको निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए। उनीविरुद्ध अख्तियारको मुद्दा पनि लागेको छ। एमालेले यो निर्वाचन क्षेत्रबाट रामेश्वर फुयाँललाई उम्मेदवार बनाउने भएको छ। 

काठमाडौं ४ कांग्रेसका सभापति गगन थापाको क्षेत्र हो। तर, उनी त्यहाँबाट चुनाव लड्ने कि नलड्ने भन्ने विषय यो समाचार तयार गर्दासम्म टुंगिएको छैन। यो निर्वाचन क्षेत्रबाट लड्दै आएका एमाले सचिव राजन भट्टराईको विषयमा पनि टुंगो लागिसकेको छैन।  यीबाहेक अन्य क्षेत्रहरू पनि राष्ट्रिय राजनीतिमा चर्चा कमाएका नेताहरूका कारण विशेष चर्चामा छन्। काठमाडौं ५ बाट एमाले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लड्दै छन्। त्यसतै अछाम १ बाट भीम रावल उठ्दै छन्। सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी परेको छ। null

२०७९ सालमा धेरै चर्चामा रहेको सप्तरी २ पनि हो। त्यो बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके रावतबीच भिडन्त भएको थियो। त्यो निर्वाचन क्षेत्रबाट सिके रावत निर्वाचित भए। सप्तरी २ बाट निर्वाचन हारेका यादव बारा २ आए । बारा २ बाट निर्वाचन रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि यादव आएर चुनाव जितेका थिए। 

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल उठ्दै छन्। सुरुमा पौडेल पाल्पा २ बाट उम्मेदवार हुने निर्णय एमाले सचिवालयले गरेको थियो। दबाब बढेपछि साविककै निर्वाचन क्षेत्रमा पौडेल फर्किएका हुन्। यो निर्वाचन क्षेत्र २०७९ को निर्वाचनमा झिनो मतान्तरमा पौडेल विजयी भएका थिए। एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट लड्दै छन्। त्यस्तै अर्को चर्चित निर्वाचन क्षेत्र गुल्मी १ पनि हो। यो निर्वाचन क्षेत्रबाट एमालेमा पूर्व उपमहासचिव प्रदीप ज्ञवाली, कांग्रेसबाट नेता चन्द्र भण्डारी र रास्वपाबाट युवा नेता सागर ढकाल उठ्दै छन्। 

२०७९ मा यो निर्वाचन क्षेत्रबाट भण्डारी विजयी भएका थिए। युवा नेता ढकाललाई रास्वपा वरिष्ठ नेता बालेनले यसपटक डडेलधुराबाट शेरबहादुर देउवासँग चुनाव लड्न निर्देशन गरेका थिए तर ढकाल गएन। २०७९ मा ढकाल डडेलधुरा गएर देउवासँग चुनाव लडेका थिए। 

दुई मन्त्रीले दिए राजीनामा 
निर्वाचनमा उम्मेदवार हुनका लागि दुई मन्त्री सोमबार मात्रै राजीनामा दिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। खरेल ललितपुर २ र गुप्ता मधेसको कुनै क्षेत्रबाट चुनाव लड्ने भएका हुन्।

यसअघि नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिमा लाग्ने भन्दै मन्त्री छोडेका थिए। नागरिक सरकारको रूपमा बनेको सुशीला कार्की नेतृत्वको सरकारका रहेका मन्त्रीहरू धमाधाम राजीनामाले मन्त्री पद रिक्त भएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.