झापामा हेभीवेट उम्मेदवार, सुरक्षा निकाय ‘हाई अलर्ट’मा
झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा हेभिवेट उम्मेदवारको चुनावी गतिविधि बढेसँगै सुरक्षा निकाय हाई अलर्टमा रहेको छ। मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने प्रत्यक्षतर्फको उम्मेदवार दर्ताका लागि जिल्लामा हेभीवेट उम्मेदवारको उपस्थितिसँगै सुरक्षा निकाय हाई अलर्टमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुले बताए।
चुनाव लक्षित सम्भावित भिडभाड, अप्रिय घटना र शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको संख्या थप गरिएको एसपी लिम्बुले बताए। जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र छ। त्यसमध्ये सबैभन्दा बढी संवेदनशील झापा ५ लाई मानेका छौं। ‘त्यसपछि झापा ३ र २ हो,’ एसपी लिम्बुले भने। जिल्लामा हेभिवेट उम्मेदवारहरू एमाले अध्यक्ष केपी शर्मा ओली, बालेन्द्र शाह, निवर्तमान सभामुख देवराज घिमिरे, निवर्तमान उपसभामुख इन्दिरा राना मगर, राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन रहेका छन्।
चुनावी एकीकृत सुरक्षा योजनाअनुसार नै पाँचै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएका छौं। मुख्यसहित पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा पनि त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौं। उम्मेदवार दर्तामा भिडभाड र घुसपैठ हुन नदिन निर्वाचन अधिकृतको कार्यालयहरूले टाइम कार्ड पनि लागू गरिसकेको उनको भनाइ छ। जिल्ला प्रशासन कार्यालय झापामा सरोकारावालाबीच भएको छलफलमा पनि आचारसंहिता पालना गरी सबै दलले पालैपालो मनोनयन दर्ता गर्ने दलबीच सहमति भएको जनाइएको छ।
यसपटक राष्ट्रिय राजनीतिमा झापा ५ सबैभन्दा बढी चर्चा रहेको छ। यस क्षेत्रबाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सातौंपटक उम्मेदवार बन्दै छन्। ओलीको मुख्य प्रतिस्पर्धीका रूपमा यसपटक काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिन लागेका हुन्। अध्यक्ष ओली उम्मेदवारी दिन सोमबार दिउँसो झापा आइपुगेका छन् भने बालेन राति दमक आइपुगेका छन्। ओली र बालेनलाई टक्कर दिन झापा ५ मा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले पनि उम्मेदवारी दिने भएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी संग्रौला, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समीर तामाङ र राष्ट्रिय परिवर्तन पार्टीका सविन चाम्लिङ राईले उम्मेदवारी दिने भएका छन्। नेपाली कांग्रेसबाट अइन्द्रविक्रम नेम्बाङ उम्मेदवार बन्न लागेका छन्। त्यस्तै, झापा १ मा एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीले नरेन्द्र खडका, नेपाली कम्युनिस्ट पार्टीले अशेष घिमिरेलाई र श्रम संस्कृति पार्टीले केबलराम राईलाई उम्मेदवार बनाएका छन्। नेपाली कांग्रेसले केशव पाण्डेलाई उम्मेदवार बनाउने चर्चा छ।
झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर दुवै जना चुनावी मैदानमा उत्रिएका छन्। घिमिरे नेकपा एमाले र राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन्। नेपाली कांग्रेसले सरिता प्रसाईं अघि सारेको छ। नेपाली कम्युनिस्ट पार्टीले धर्मशिला चापागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिवक्ता स्वागत नेपाल र श्रम संस्कृति पार्टीले केशव भण्डारीलाई उम्मेदवार बनेका छन्।
झापा–३ मा नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला नउठ्ने भएपछि राजेन्द्र घिमिरे र नवीन बिमलीमध्ये एक जनालाई उम्मेदवार बनाउने चर्चा छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन यस क्षेत्रबाट उम्मेदवार बनेका छन्। नेकपा एमालेका हरिबहादुर राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति प्रकाश पाठक, नेपाली कम्युनिस्ट पार्टीका डिल्ली घिमिरे (हिक्मत), श्रम संस्कृति पार्टीका दीपक तिम्सिना उम्मेदवार बनेका छन्।
त्यसैगरी झापा ४ मा नेकपा एमालेले एलपी साँवालाई उम्मेदवार बनेका छन्। सुरुमा मनोज ताम्लीलाई उम्मेदवार बनाएको एमालेले आफ्नो निर्णय उल्टाउँदै साँवालाई टिकट दिएका हुन्। नेपाली कांग्रेसले देउकुमार थेबेलाई उम्मेदवार बनाउने चर्चा छ। नेपाली कम्युनिस्ट पार्टीले पुरुषोत्तम चुँडाललाई, राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टीले भक्ति सिटौला र श्रम संस्कृति पार्टीले अमृता राईलाई उम्मेदवार बनेका छन्।
प्रतिक्रिया दिनुहोस !