नेकपाका त्रिलोचन भट्टले गराए उम्मेदवारी दर्ता
डोटी: आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। डोटीबाट अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार त्रिलोचन भट्टले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा उम्मेदवारी दर्ता गराएका हुन्। नेकपाको केन्द्रीय सदस्य रहेका भट्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट डोटी प्रदेश क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए।
उनी पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए। उम्मेदवार दर्ता गर्दै भट्टले डोटीको समग्र विकासका लागि र मुख्यमन्त्री हुँदा गरेका अधुरा कामहरू पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्। डोटीमा नेमकिपाको संगठन शून्य जस्तै भएकाले शाही उम्मेदवारका लागि लम्किचुहा नगरपालिका-४, कैलालीबाट आएका हुन। उनी नेमकिपाको केन्द्रीय सदस्य रहेका छन्।
अहिले नेकपा एमालेबाट दीपक धामी, राप्रपाबाट खडक राज अग्रवाल, राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट उम्मेदवार प्रक्रियामा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !