मकवानपुरमा नयाँ र पुरानो अनुहारबीच प्रतिस्पर्धा
हेटौंडा : प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ। पुराना दलहरूले प्रायः पुरानै अनुहारलाई दोहोर्याएका छन्।
नेपाली कांग्रेसले क्षेत्र नं. १ मा सहमहामन्त्रीसमेत रहेकी महालक्ष्मी उपाध्याय (डिना) र क्षेत्र नम्बर २ मा पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेदवार डिना राप्रपाका दीपक सिंहसँग पराजित भएकी थिइन्।
नेकपा एमालेतर्फबाट क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि बर्तौलाले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई हराउँदै निर्वाचित भएका थिए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मकवानपुर १ मा विजय गौतम र मकवानपुर २ मा लवशेर विष्ट दुवै नयाँ अनुहार हुन्। विष्टले थाहा नगरप्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फबाट मकवानपुर–१ मा दीपक बहादुर सिंह र क्षेत्र नम्बर २ मा रामबहादुर थोकरले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ बाट प्रकाश गौतम र क्षेत्र नम्बर २ बाट प्रशान्त उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन्। दुवै नयाँ अनुहार हुन्। क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र नम्बर–२ मा सन्तोष विष्ट उम्मेदवार छन्। श्रम संस्कृति पार्टीतर्फबाट विद्या श्रेष्ठले मकवानपुर १ र युनिश लामाले मकवानपुर २ बाट उम्मेदवारी दर्ता गरेका छन्।
उज्यालो नेपाल पार्टीबाट १ नम्बर निर्वाचन क्षेत्रमा इन्जिनियर सुरेन्द्र लामा र २ नम्बर निर्वाचन क्षेत्रमा डा. प्रवीण लामा उम्मेदवार रहेका छन्।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन्। क्षेत्र नम्बर २ मा हेटौंडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन्।
मकवानपुरका २ वटा निर्वाचन क्षेत्रमा महिला मतदाता संख्या १ लाख ५३ हजार ३ सय ७६ जना, पुरुष मतदाता १ लाख ६१ हजार ९ सय ५३ जना र अन्य ५ जना सहित कुल मतदाता संख्या ३ लाख १४ हजार ३ सय ३४ रहेको छ।
प्रतिक्रिया दिनुहोस !