निर्वाचन उत्सव, मनोनयनमा उत्साह

निर्वाचन उत्सव, मनोनयनमा उत्साह

काठमाडौं : फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारको मनोनयन कार्य सम्पन्न भएको छ। शान्तिपूर्ण रूपमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन भएको निर्वाचन आयोगले जनाएको छ।

जेन–जी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भएपछि नयाँ चुनाव हुन लागेको हो। दल र उम्मेदवारले बाजागाजा, सांस्कृतिक झाँकी र परम्परागत भेषभूषासहित देशका विभिन्न स्थानमा रहेका मुख्य र निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारी दिएका हुन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ हजार ४ सय ८४ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ जनाले उम्मेदवारी दर्ता गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट उम्मेदवारी दिएका छन्। त्यस्तै कांग्रेस सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। थापा काठमाडौं– ४ को आफ्नो साविकको निर्वाचन क्षेत्र छोडेर सर्लाही गएका हुन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वबाट मनोनयन दर्ता गरेका छन्। रोल्पा, काठमाडौं, सिराहा, चितवन हुँदै गोरखा पुगेका प्रचण्ड त्यहाँ पनि छोडेर तत्कालीन माओवादीको आधार इलाका रुकुमपूर्वबाट उम्मेदवार बनेका हुन्। 

रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बनेका छन्। २०७९ को निर्वाचनमा पनि चितवन–२ मा उम्मेदवार बनेका लामिछानेले शानदार जित हासिल गरेका थिए। पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बनेका छन्। त्यस्तै, गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मनोनयन गरेका छन्। सोही क्षेत्रबाट रास्वपाका महामन्त्री कविीन्द्र बुर्लाकोटी पनि उम्मेदवार बनेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले झापा–३ बाट मनोनयन गरेका छन्। २०७४ र २०७९ मा उनले यही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उठेका छन्। २०७९ सालको निर्वाचनमा यादव सप्तरी–२ बाट पराजित भएका थिए। यादवलाई पराजित गरेका जनमत पार्टीका अध्यक्ष डा. सिके रावतले यसपटक पनि सप्तरी–२ बाटै उम्मेदवारी दिएका छन्। निवर्तमान सभामुख देवराज घिमिरे झापा–२ बाट उठेका छन्। निवर्तमान उपसभामुख इन्दिरा राना मगर पनि सोही क्षेत्रमा रास्वपाबाट उठेकी छन्। एमाले महासचिव शंकर पोखरेल दाङ–२, कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाट उठेका छन्। 

पौडेलसँग एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपाका नेता कमल थापा पनि चुनावी मैदानमा उत्रेका छन्। कांग्रेसका अर्का महामन्त्री गुरुराज घिमिरेले मोरङ–४ बाट मनोनयन दर्ता गरेका छन्। कांग्रेस नेता डा. शेखर कोइराला मोरङ–६ बाट उठेका छन्। सोही क्षेत्रबाट एमालेका नेता विनोद ढकालको पनि उम्मेदवारी परेको छ। नेकपा नेता भीम रावल अछाम–१, नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवारी बनेका छन्। 

निवर्तमानमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट मनोनयन दर्र्ता गरेका छन्। हालै राजीनामा दिएका मन्त्रीहरू मध्ये जगदीश खरेल ललितपुर–२ मा रास्वपाबाट उम्मेदवार बनेका छन्। त्यस्तै निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सिराहा–२ बाट उम्मेदवार बनेका छन्। उनलाई रास्वपाले टिकट दिएको छ। टीकापुर घटनाबाट उदाएका रेशम चौधरीले कैलाली–१ बाट मनोनयन गरेका छन्। २०७४ सालमा चौधरीले कैलाली १ बाट निर्वाचन जितेका थिए। 
सबैभन्दा बढी उम्मेदवारी रुपन्देहीमा परेको छ। रुपन्देही निर्वाचन क्षेत्र–२ मा ४१ र रुपन्देही–३ मा ३७ जनाको उम्मेदवारी परेको छ। सबैभन्दा कम मुस्ताङमा ४ जनाको उम्मेदवारी परेको छ। मनाङमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० जना समानुपातिक तर्फबाट र १ सय ६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुन्छन्। 
समानुपातिक तर्फको मनोनयन गत १३ र १४ पुसमा सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फको मनोनयन मंगलबार भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० थिए। पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ छन्। महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ थिए। अघिल्लो निर्वाचनमा अन्य मतदाता १ सय ८५ थिए। २०७९ मा अस्थायी मतदाता ४ लाख ५० हजार थिए। 
यसपटक भने कुल मतदाता १ करोड ८९ लाख ३ हजार ६ सय ८९ छन्। जसमा पुरुष मतदाता ९६ लाख ६३ हजार ३ सय ५८ छन् भने महिला मतदाता ९२ लाख ४० हजार १ सय ३१ ले मतदान गर्दै छन्। यो निर्वाचनमा अन्य मतदाताको संख्या २ सय छ। 

२०७९ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ हजार ४ सय ११ उम्मेदवार थिए। पुरुष उम्मेदवार २ हजार १ सय ८६ थिए भने महिला उम्मेदवार २ सय २५ थिए। दलका उम्मेदवार १ हजार ५ सय ४५ र स्वतन्त्र उम्मेदवार ८ सय ६७ थिए। समानुपातिकतर्फ कुल २ हजार १ सय ९९ उम्मेदवार भएका थिए। जसमा पुरुष उम्मेदवार १ हजार १२ र महिला उम्मेदवार १ हजार १ सय ८७ थिए।

२०८२ मा कुल उम्मेदवार ३ हजार ४ सय २८ छन्। पुरुष उम्मेदवार ३ हजार ३७ छन् भने महिला उम्मेदवार ३ सय ९१ छन्। २०७९ मा मतदान स्थल १० हजार ८९२ थिए भने जसमा मतदान केन्द्र २२ हजार २ सय २७ थिए। अस्थायी मतदान स्थल १ सय ४१ थिए। २०८२ मा मतदान स्थल मतदान स्थल १० हजार ९ सय ६७ कायम गरिएको छ। जसमा मतदान केन्द्र २३ हजार १ सय १२ छन्। 

सिट संख्याभन्दा २१ गुणा बढी उम्मेदवारी
यसपटक चुनाव हुन लागेका सिटभन्दा २१ गुणा बढी उम्मेदवारी परेका छन्। २ सय ६५ सिटका लागि ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी परेको छ। जसमा तेस्रो लिंगी समुदायबाट भने एक जनाको पनि मनोनयन नभएको आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्यका लागि मनोनयन प्रक्रिया सकिएसँगै अब दाबी–विरोध, अन्तिम नामावली र चुनावी तालिका अनुसारको प्रक्रिया अघि बढ्नेछ। 

प्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिनेछ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय कार्य हुनेछ। माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

यस्तै, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशनपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ। 

आयोगले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने अठोट पूरा गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। यसपटकको निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीले राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्। प्रदेशसभा र स्थानीय तहका पद रिक्त भएमा ६ महिनाभित्र उपनिर्वाचन मिति तोकिने आयोगले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.