नियमित उडानमा न्यारोबडी

नियमित उडानमा न्यारोबडी

काठमाडौं : नेपाल वायुसेवा निगमको लामो समयदेखि ग्राउन्डेड रहेको न्यारोबडी ए ३२० (नाइनएन–एकेएक्स) जहाज इन्जिन मर्मत र जडानपश्चात् काठमाडौं फर्किएको छ। जहाज दुबईबाट सोमबार राति ११ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। न्यारोबडीको उक्त इन्जिन २०८० साल पुस २६ गते मर्मत (ओभरहल) का लागि काठमाडौंबाट इजरायल उडेको थियो। 

इन्जिन मर्मत भई २०८२ माघ ४ गते उक्त न्यारोबडी जहाज इजरायलबाट दुबई आएको थियो। सोमबार दुबईबाट करिब १२० जना यात्रु लिएर जहाज राति पौने १२ बजे काठमाडौं आएको हो। उक्त जहाजले सोमबारबाट नै नियमित उडान सुरु गरेको निगमले जनाएको छ। जहाज काठमाडौं हुँदै भारतको बंग्लोर उडेको छ।

निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जहाज अब नियमित उडान तालिकामा फर्किएको उल्लेख गरेको छ। योसँगै निगमका चारवटै जहाज (२ वटा न्यारोबडी र २ वटा वाइडबडी) बाट नियमित उडान सुरु भएको जानकारी दिएको छ। लिजसहितको इन्जिन फिर्ता गरी निगमकै इन्जिन हालेर ल्याउन यही माघ १४ गते उक्त जहाज दुबई हुँदै इजरायल पुगेको थियो। जहाज इन्जिन मर्मत तथा सट्टापट्टा गर्न पठाउँदा निगमले उडान भर्ने गन्तव्यका तीनवटा उडान प्रभावित भएको बताइएको छ।

मर्मत सम्भार ढिलो गर्दा राज्य कोषको कम्तीमा ३० करोड रुपैयाँ थप नोक्सान गराइसकेपछि उक्त इन्जिन राखिएको जहाज बल्ल सोमबार मध्य राति दुबई हुँदै काठमाडौं विमानस्थल आइपुगेको हो। इन्जिन मर्मत सम्भारका लागि पठाइने अपारदर्शी चक्र, सम्बन्धित कम्पनीसँग शंकास्पद सम्झौता, नवीकरण, इन्जिन भाडामा लिँदा हुने घाटाको पर्याप्त लेखाजोखाबारे प्रश्नकै बीच जहाज भने आइपुगेको हो। निगमको उच्च व्यवस्थापन र कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको विशेष पहलमा १२ महिनाको इन्जिन भाडा र जडानबापतको खर्च रकम मिनाहा गराइएको निगम बताउँछ। यसलाई निगमले क्षतिपूर्तिको रूपमा प्राप्त गरेको जनाएको छ।

करिब २ वर्ष १० दिनपछि मर्मत भई नेपाल आएको उक्त इन्जिन २०८० साल पुस २६ गते इन्जिन मर्मत (ओभरहल) का लागि काठमाडौंबाट इजरायल उडेको थियो। न्यारोबडी जहाजमा २ वटा इन्जिन हुनेमा करिब २ वर्षदेखि एउटा इन्जिन भाडाको थियो। कुनै पनि जहाजको करिब ६ देखि ८ वर्षमा इन्जिन मर्मत गर्नुपर्ने नियमित प्रक्रिया हो। उक्त जहाज किनेदेखि पहिलोपटक इन्जिन मर्मत गर्न पठाइएको थियो।

निगमको न्यारोबडी (नाइनएन–एकेएक्स) जहाजको एउटा इन्जिनमा समस्या आएपछि २०८० साल मंसिर १४ गते (नोभेम्बर ३०, २०२३) काठमाडौं विमानस्थलमा नै ग्राउन्डेड भएको थियो। त्यही वर्षको पुस २६ गते उक्त जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइयो। इजरायली जहाज मर्मत सम्भार कम्पनी (आईएआई) र निगमबीच ६ (४ वर्ष र २ वर्षको नवीकरणसहित) वर्षको सहमति छ। निगम व्यवस्थापनले न्यारोबडी जहाजको इन्जिन मर्मत–ओभरहल तथा भाडामा लिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई)सँग २०८० साल भदौतिर सम्झौता गरेको थियो।

जहाजको इन्जिन बनाउन व्यवस्थापनले विलम्ब गर्दा र आफैं तल पर्ने गरी सम्झौता नवीकरण गरेको कारण बढी घाटा बेहोर्नुपरेको दाबी निगम स्रोतको छ। तत्कालीन व्यवस्थापनले इजरायली कम्पनीसँग मिलेमतोमा जहाज बनाउन ढिलो गर्दै अस्वाभाविक भुक्तानी गरेको दाबी स्रोतको छ। उक्त समयमा पनि नाइनएन–एकेएक्स जहाजको अर्को इन्जिन बिग्रिएर जहाज ग्राउन्डेड नै थियो। 

इजरायली कम्पनीले सम्झौतापछि भाडामा इन्जिन दिएको थियो। केही समय इन्जिन ल्याएर न्यारोबडी उडाइयो। तर, २०८० मंसिर १४ गते फेरि अर्को इन्जिन (अहिले मर्मत भएर आएको) पनि बिग्रिएर जहाज ग्राउन्डेड भयो। उक्त इन्जिन मर्मतका लागि १ महिना १२ दिनपछि मात्रै जहाजलाई इजरायल पठाइएको थियो। 

२०८० पुस २६ गते इजरायल गएको जहाज २०८१ वैशाख १६ गतेमात्र भाडाको इन्जिन हालेर काठमाडौं फर्किएको थियो। भाडाका इन्जिन पनि नपाउँदा उक्त जहाज करिब ५ महिना ग्राउन्डेड भएको थियो। त्यही ५ महिनाको अवधिको छुट दिन इजरायली कम्पनीले नमानेपछि इन्जिन मर्मत भएर आउन समय लागेको हो। आईएआईसँग जहाजको इन्जिन छिटो बनाउन ताकेता गर्नुपर्नेमा पूरक सम्झौता गरिएको थियो। त्यसमा ढिलोगरेबापत ५ प्रतिशत मात्र क्षतिपूर्ति पाउने व्यवस्था थप थियो। 

निगमलाई घाटा हुने गरी उक्त सम्झौता भएपछि उक्त इन्जिनलाई उतै लुकाइएको थियो। मर्मतका लागि उक्त कम्पनीसँग सुरुमा ७७ लाख डलर लाग्ने उल्लेख थियो। पछि उक्त रकम बढेर ९४ लाख डलर पुगेको स्रोतको दाबी छ। त्यस्तै, निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीले आफ्नै अग्रसरतामा इन्जिन बनाउने र अर्को इन्जिन लिजमा ल्याउने दुवै काम एकै कम्पनीलाई दिलाएका थिए। त्यसो हुँदा मर्मत गर्ने काममा योजनाबद्ध ढंगले ढिलाइ भएको र त्यसमा आर्थिक चलखेल भएको हुन सक्ने दाबी स्रोतको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.