निर्यात ४३ प्रतिशतले बढे पनि व्यापार घाटा ८ खर्ब नजिक
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) को वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा नेपालको वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९८ अर्ब ७८ करोड मात्र थियो ।
त्यस्तै, आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८ खर्ब २२ अर्बको आयात भएको थियो । आयात र निर्यात दुवै बढे पनि कुल व्यापार घाटामा भने १०.१५ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको छ । कुल निर्यातभन्दा पेट्रोलियम पदार्थ आयातको हिस्सा नै बढी देखिएको छ । ६ महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँबरारबको पेट्रोलियम पदार्थ आयात गरेको
पेट्रोलियम पदार्थमा डिजेल ५८ अर्ब २७ करोड, पेट्रोल ३३ अर्ब ७ करोड, खाना पकाउने ग्यास २७ अर्ब ४ करोड र हवाइ इन्धन ९ अर्ब ९३ करोड रुपैयाँबराबरको आयात भएको छ ।
आयातमा दोस्रो स्थानमा कच्चा सोयाबिन तेल रहेको छ । समिक्षा अवधिमा ४८ अर्ब ८३ करोडको कच्चा सोयाबिन तेल आयात भएको हो ।
वैदेशिक व्यापारमा छिमेकी मुलुक भारतको नै वर्चस्व देखिन्छ । समीक्षा अवधिमा भारतबाट ५ खर्ब ३२ अर्बको आयात हुँदा १ खर्ब १५ अर्बको मात्र निर्यात भएको छ । नेपालको भारतसँगको व्यापार घाटा करिब ४ खर्ब रुपैयाँ छ ।
समीक्षा अवधीमा दोस्रो छिमेकी मुलुक चीनबाट १ खर्ब ९६ अर्बको वस्तु आयात भएको छ भने ६४ करोडको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस !