प्रतितोला ३ लाख कट्यो सुन, किन बढिरहेको छ मूल्य ?

प्रतितोला ३ लाख कट्यो सुन, किन बढिरहेको छ मूल्य ?
सुन्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेसँगै आन्तरिक बजारमा सुनले नयाँ रेकर्ड रोखेको हो। बिहीबार २ लाख ९२ हजार २ सय प्रतितोलामा कारोबार भएको सुन शुक्रबार ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४ सय पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा प्रति औंन्स (करिब २.४३ तोला) सुनको मूल्य करिब ४९४६ अमेरिकी डलर रहेको छ। साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ७७ हजार २ सयमा कारोबार भएको थियो। 

इरान र ग्रिनल्यान्डका कारण सुनको मूल्य बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन्। ‘सुनको मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको इरान र ग्रिनल्यान्डसँग भइरहेको तनाव प्रमुख हो। अर्को भनेको युरोपको ८ वटा देशलाई कर लगाउने भनेको र पुराना युद्ध यथावत नै हुनु पनि सुनको मूल्य बढ्नुका कारण हो,’ उनले भने। फिजिकल भन्दा पेपर गोल्डले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्न दबाब दिएको छ। प्रतितोला करिब ४ लाख तोलासम्म पुग्ने अनुमान अन्तर्राष्ट्रिय विश्लेषकहरूको छ।

संयुक्त राज्य अमेरिकाको पछिल्लो राजनीतिक घटनाक्रम र ब्याजदरसम्बन्धी अपेक्षाका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ। अमेरिकी नीतिगत अनिश्चितताका बीच सुरक्षित लगानीको रूपमा सुनतर्फ लगानीकर्ताहरूको आकर्षण बढेको अन्तर्राष्ट्रिय न्युज एजेन्सीहरूको विश्लेषण रहेको छ। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रिनल्याण्डसँग सम्बन्धित महसुलबारे गरेको टिप्पणीले तत्कालको भू–राजनीतिक दबाबलाई केही कम गरेको विश्लेषण गरिएको छ। यद्यपि, व्यापारिक नीतिहरूमा आउन सक्ने सम्भावित परिवर्तनका कारण लगानीकर्ताहरू अझै पनि सतर्क देखिएका छन्, जसको सीधा प्रभाव सुन र चाँदीको कारोबारमा परेको छ। अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले निकट भविष्यमा ब्याजदर वा ऋणको लागतमा तत्काल परिवर्तन नगर्ने संकेत दिएको छ। ब्याजदर स्थिर रहने अपेक्षाले डलरको तुलनामा सुनलाई बलियो बनाएको छ। यी कारकहरूले सुन र चाँदीका साथै सेयर बजारलाई समेत एकसाथ प्रभावित पारेका छन्। नीतिगत अनिश्चितताका समयमा सम्पत्तिको मूल्य जोगाइराख्न लगानीकर्ताहरूले सुनलाई ‘स्टोर अफ भ्यालु’का रूपमा रोज्ने गरेको इकोनोमिक्स टाइम्सले विश्लेषण गरेको छ। विश्वबजारमा देखिएको यो हलचलले गर्दा आगामी दिनमा पनि सुनको मूल्यमा उतारचढाव कायमै रहने उक्त सञ्चारमाध्यमको विश्लेषण छ। 

महासंघका अध्यक्ष रसाइली पनि लगानीको सबैभन्दा सुरक्षित माध्यम सुन देखिएकाले मूल्य बढेको बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता सुनमा आकर्षित भएका छन्। ‘भूराजनीतिक दबाबसँगै बैंकमा रकम जम्मा गर्न पनि ब्याजदर घटिरहेको छ। अमेरिककी केन्द्रीय बैंकले पनि ०.२५ प्रतिशतले ब्याज घटाएको छ,’ उनको भनाइ छ।

अमेरिकी डलरको विनिमय दरले आन्तरिक बजार झन् महँगियो
आन्तरिक कारणले पनि सुनको भाउमा केही फरक पर्ने महासंघका अध्यक्ष बताउँछन्। नेपालमा अमेरिकी विनिमयदरमा आएको उछालले पनि सुन मूल्य थप महँगिएको छ। ‘अमेरिकी डलरको मूल्यमा भएको उछालले हाम्रो एक्सचेन्ज रेट बढी भएको छ र यसले सुनको मूल्य बढेको छ। हिजो प्रतिडलर १४० रुपैयाँ थियो भने शुक्रबार विनिमयदर प्रतिडलर करिब १४६ रुपैयाँ पुगेको छ,’ उनले भने। 

बिहेको लगनको समयमा सुनको मूल्यमा भएको चढावले बजारमा असर गर्ने व्यवसायीहरू बताउँछन्। एक तोला सुनको मूल्य ३ लाख १ हजार र गहना तयार गर्दा लाग्ने (जर्ती, ज्यालालगायत) गरी थप ३० देखि ३५ हजार अतिरिक्त शुल्क लाग्ने हुँदा त्यसले उपभोक्ताको मानसिकतामा पनि प्रभाव पार्ने देखिन्छ।  

लगनको बेला बजारमा सुनको माग बढेको देखिन्छ। दैनिक १५ देखि २० तोला सुनको कारोबार हुने महासंघ बताउँछ। तर, त्यसमा पुरानो सुन बेच्ने र पुराना सुन मासेर नयाँ गहना बनाउनेको पनि प्रमुख हिस्सा रहेको अध्यक्ष रसाइली बताउँछन्। त्योसँगै विदेशबाट आउने नेपालीले ल्याएको २५–५० ग्राम सुनले पनि अहिलेको बजारको मागलाई धानेको देखिन्छ। 

यता, अन्तर्राष्ट्रिय बजारमा करका हिसाबले सबैभन्दा महँगो सुन नेपालको भएको महासंघको भनाइ छ। करिब १३ प्रतिशत कर सुनमा लाग्दै आएको छ। भन्सारदर १० प्रतिशत, ०.५ प्रतिशत बैंकको मार्जिन, ०.५ प्रतिशत व्यावसायीलाई मार्जिन, गहना बनेपछि २ प्रतिशत विलासिता कर गरी कुल १३ प्रतिशत कर लागि रहेको छ। भारतमा यो दर करिब ९ प्रतिशत छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.