अन्तर्राष्ट्रिय पर्यटन आगमनमा ४ प्रतिशतले वृद्धि
काठामाडौं : सन् २०२५ मा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा करिब ४ प्रतिशतको वृद्धि भएको छ। विश्वभरका अधिकांश गन्तव्यहरूमा पर्यटक चहलपहल बढेसँगै अन्तर्राष्ट्रिय पर्यटक आगमन (रात बिताउने पर्यटक) ४ प्रतिशतले वृद्धि भएको वल्र्ड टुरिज्म ब्यारोमिटरले जनाएको छ।
सन् २०२५ मा विश्वभर करिब १ अर्ब ५२ करोड अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ। यो सन् २०२४ को तुलनामा करिब ६ करोड बढी हो। कोभिड अघि (सन् २०१९) सम्म अन्तर्राष्ट्रिय पर्यटकको औसत वृद्धिदर ५ प्रतिशत रहेको थियो। कोभिडअघिको हाराहारीमा नै पर्यटक वृद्धिदर पुगेको छ।
संयुक्त राष्ट्रसंघीय पर्यटन संगठन (यूएन टुरिज्म)ले उच्च मूल्यवृद्धि र भूराजनीतिक तनावका बाबजुद पनि पर्यटक आगमन बढेको उल्लेख गरेको छ। ‘एसिया–प्रशान्त क्षेत्रका गन्तव्यहरूको भइरहेको निरन्तर पुनरुत्थान, ठूला स्रोत बजारहरूको राम्रो प्रदर्शन, हवाई सम्पर्क विस्तार, भिसा सहजीकरणजस्ता कारणले अन्तर्राष्ट्रिय पर्यटन आगमन बढेको छ,’ यूएन टुरिज्मको विश्लेषण छ।
यूएन टुरिज्मकी महासचिव शैखा अलनुवाइसले विश्व अर्थतन्त्र चलायमान हुने र पूर्व–महामारीस्तरमा नपुगेका गन्तव्यहरू पुनस्र्थापित हुने अपेक्षासँगै सन् २०२६ मा पनि यो पर्यटक आगमन वृद्धिले निरन्तरता पाउने बताइन्। सन् २०२६ मा अन्तर्राष्ट्रिय पर्यटन करिब चार प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ। एसिया–प्रशान्त क्षेत्रको निरन्तर पुनरुत्थान र भूराजनीतिक द्वन्द्व नबढेमा सन् २०२६ मा करिब चार प्रतिशत पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको हो। इटालीमा हुने मिलानो–कोर्तिना शीतकालीन ओलम्पिक २०२६ र क्यानडा, अमेरिका तथा मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप २०२६ ले पनि अन्तर्राष्ट्रिय यात्रामा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ।
एसिया–प्रशान्त क्षेत्रमा पर्यटक पुनरुत्थान तीव्र
समग्रतासँगै क्षेत्रगत रूपमा पनि पर्यटक आगमन बढेको देखाएको छ। एसिया तथा प्रशान्त क्षेत्रमा सन् २०२५ मा ३३ करोड १० लाख पर्यटक आगमन भएको छ, जुन ६ प्रतिशतको वृद्धि हो। यद्यपि यो सन् २०१९ को तुलनामा अझै ९ प्रतिशत कम छ। उत्तर–पूर्वी एसियामा १३ प्रतिशतको वृद्धि देखिएको छ भने दक्षिण एसियाले पूर्व–महामारी स्तर पुनः हासिल गरेको छ।
अफ्रिकामा सन् २०२५ मा ८१ लाख अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत बढी हो। उत्तर अफ्रिकामा भने ११ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। मध्यपूर्व क्षेत्रमा सन् २०२५ मा तीन प्रतिशत वृद्धि भई पूर्व–महामारी स्तरभन्दा ३९ प्रतिशत माथि पुगेको छ। यस क्षेत्रमा करिब १० करोड अन्तर्राष्ट्रिय पर्यटक आगमन पुगेको अनुमान छ।
वर्ल्ड टुरिज्म ब्यारोमिटरका अनुसार विश्वकै सबैभन्दा ठूलो गन्तव्य क्षेत्र युरोपमा सन् २०२५ मा ७९ करोड ३० लाख अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ, जुन सन् २०२४ को तुलनामा ४ प्रतिशत र सन् २०१९ को तुलनामा ६ प्रतिशत बढी हो। पश्चिमी युरोप (५ प्रतिशत) र दक्षिणी भूमध्यसागरीय युरोप (३ प्रतिशत) मा राम्रो प्रदर्शन देखिएको छ। मध्य तथा पूर्वी युरोपमा ६ प्रतिशत वृद्धि भए पनि आगमन अझै सन् २०१९ को तुलनामा ९ प्रतिशतले कम छ। अमेरिका क्षेत्रमा सन् २०२५ मा २१ करोड ८० लाख पर्यटक आगमन भएको छ, जसमा एक प्रतिशत वृद्धि देखिएको छ।
सन् २०२५ मा अन्तर्राष्ट्रिय पर्यटनबाट हुने आम्दानी उच्च विन्दुमा पुगेको छ। प्रारम्भिक अनुमानअनुसार अन्तर्राष्ट्रिय पर्यटन आम्दानी १.९ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन सन् २०२४ को तुलनामा ५ प्रतिशत बढी हो। यात्रु यातायातसमेत समेट्दा कुल पर्यटन निर्यात आम्दानी २.२ ट्रिलियन अमेरिकी डलर पुगेको अनुमान छ।
थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन सशक्त
दक्षिण–पूर्व एसियाली प्रमुख पर्यटन स्रोत बजार थाइल्यान्डमा नेपालको पर्यटन प्रवद्र्धन थप सशक्त बन्दै गएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औं थाई इन्टरनेसनल ट्राभल फेयर (टीआईटीएफ) २०२६ मा सफल सहभागिता जनाउँदै नेपाली पर्यटनको विविधता र सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
२२ देखि २५ जनवरी २०२६ सम्म क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा आयोजित चारदिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ प्रतिष्ठित ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’मार्फत पर्यटन प्रवद्र्धन गरेको हो। मेलामा सहभागी कम्पनीहरूले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी पर्यटन उत्पादनहरूबारे प्रत्यक्ष जानकारी दिएका थिए।
थाइल्यान्ड र नेपालबीचको दैनिक प्रत्यक्ष उडान तथा साप्ताहिक २० भन्दा बढी हवाईसेवाले दुई देशबीचको पर्यटन आदान–प्रदानलाई सहज बनाएको छ। यही हवाई पहुँचले थाई बजारमा नेपालको पर्यटनप्रति चासो बढाउन महŒवपूर्ण भूमिका खेलेको बोर्डको भनाइ छ।
मेलाका क्रममा लुम्बिनी, हिमाली क्षेत्र, सम्पदा सहरहरू, पदमार्गहरू, साहसिक तथा आध्यात्मिक यात्राका उत्पादनहरूले थाई पर्यटकहरूलाई आकर्षित गरेको थियो। पर्यटन व्यवसायीसँग प्रत्यक्ष संवादमार्फत सम्भावित यात्रुहरूलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने अवसर मेलाले प्रदान गरेको बोर्डले जनाएको छ।
पर्यटन प्रवद्र्धनसँगै टीआईटीएफ २०२६ व्यवसायदेखि–व्यवसाय (बीटुबी) नेटवर्किङका लागि पनि प्रभावकारी प्लेटफर्म बनेको थियो। सहभागी नेपाली कम्पनीहरूले थाई ट्राभल ट्रेड, टुर अपरेटर तथा सञ्चारमाध्यमका प्रतिनिधिसँग भेटघाट गर्दै नयाँ व्यावसायिक सम्बन्ध स्थापना र भविष्यका सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए।
टीआईटीएफ २०२६ मा नेपालको उपस्थितिले थाई बजारमा नेपालको पर्यटन छविलाई थप मजबुत बनाएको, दीर्घकालीन पर्यटन वृद्धिका लागि साझेदारी सुदृढ गरेको र दक्षिण–पूर्व एसियामा नेपालको गन्तव्य पहिचानलाई नयाँ उचाइमा पु¥याउन भूमिका खेलेको बोर्डको विश्वास छ।
प्रतिक्रिया दिनुहोस !