रेडबुल किन्न र उधारो तिर्न नक्कली नोटको प्रयोग, एकजना पक्राउ

रेडबुल किन्न र उधारो तिर्न नक्कली नोटको प्रयोग, एकजना पक्राउ

विराटनगर : मोरङको रंगेलीमा दैनिक किनमेल र उधारो भुक्तानीको बहानामा नक्कली नोटको प्रयोग भएको पाइएको छ। नक्कली नोट चलाउने प्रयासलाई प्रहरीले असफल बनाएको छ। 

नक्कली एक हजार दरका नोट प्रयोग गरेको आरोपमा रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेन मंगलबार राति पक्राउ परेका छन्। घटनाले सामान्य देखिने खुद्रा कारोबारभित्र लुकेको नक्कली नोटको जालो उजागर गरेको छ भने प्रहरीले यसमा संगठित गिरोह संलग्न हुनसक्ने आशंकासहित अनुसन्धानलाई तीव्र बनाएको छ।

प्रहरीका अनुसार हुसेनले रंगेलीमा नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलबाट रेडबुल खरिद गर्दा एक हजार दरको नक्कली नोट दिएका थिए। त्यसैगरी, उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो रकम तिर्दा पनि उनले उस्तै दरको नक्कली नोट प्रयोग गरेका थिए। नोटको कागज, छाप र बनावट अस्वाभाविक देखिएको जानकारी पाउनसाथ पुगेको प्रहरीले हुसेनलाई राति ८ बजेतिर पक्राउ गरेको हो। 

प्रारम्भिक सोधपुछका क्रममा उनले घरमा समेत नक्कली नोट रहेको संकेत दिएपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोली घरमा पुगेको थियो। खानतलासीका क्रममा हुसेनले प्रयोग गर्दै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सीटी सफारीको चालक बस्ने सिटको डिकीभित्र एक हजार दरका दुईवटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। 

उनका अनुसार हुसेनको शरीरबाट पनि अर्को एक हजार दरको नक्कली नोट बरामद गरिएको छ। पसलमा प्रयोग गरिएको, साथबाट बरामद भएको र सवारी साधनमा लुकाइएका गरी पाँचवटा नक्कली नोट प्रहरीले बरामद गरेको छ। हुसेनलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी एसपी कटवालले दिए। 

उनका अनुसार नक्कली नोटको कारोबारमा एक व्यक्ति मात्रै नभएर संगठित गिरोह नै रहेको आशंका गरिएको छ। हुसेनले नक्कली नोट कहाँबाट ल्याएका हुन्, कसले उपलब्ध गराएको हो र यसमा अरू को–को संलग्न छन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै नक्कली नोटको स्रोत पहिचान र यसमा संलग्न अन्य व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। 

एसपी कटवालले शंकास्पद नोट देखिएमा तत्काल प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्। नक्कली नोटको प्रयोगले आर्थिक क्षति हुनुका साथै बजारको विश्वासमै आघात पुर्‍याउने भएकाले यस्ता घटनालाई गम्भीर रूपमा लिइएको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.