हिउँले गाउँबस्ती सेताम्मे

हिउँले गाउँबस्ती सेताम्मे
हेमनाथ खतिवडा

गोरखा/दोलखा/ रसुवा : देशका हिमाली तथा उच्च पहाडी भूभागमा यस वर्षको हिमपात सुरु भएको छ। बुधबार बिहानदेखि गोरखा, दोलखा र रसुवाका उत्तरी क्षेत्रका दर्जनौं गाउँबस्ती हिउँले सेताम्मे भएका छन् भने प्रसिद्ध पर्यटकीय गन्तव्य कालिञ्चोकमा पनि मौसमकै पहिलो हिमपातले रौनक थपेको छ। समयमै परेको हिउँले खेतीपाती सप्रने, वनडढेलोको जोखिम घट्ने र पर्यटन चलायमान हुने अपेक्षासहित स्थानीय उत्साहित देखिएका छन्।

बुधबार परेको हिउँले उत्तरी गोरखाका धेरै गाउँबस्ती हिउँले ढाकिएका छन्। चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा धेरै. गाउँबस्ती हिमपातले सेताम्मै भएका स्थानीयको भनाइ छ।
तिब्बती सीमामा अवस्थित गाउँ चुमनुब्री १ को साम्दो, सामागाउँ, चुमनुब्री ७ को छुले, निले, लार, छेकम्पारलगायत एक दर्जन गाउँबस्ती, वडा नं. ६ को चुम्चेत, चुम्लिङ, रिब्चेतलगायत आधा दर्जन गाउँबस्तीहरू बुधबार हिउँले ढाकिएका छन्।

त्यस्तै, वडा नं. २ का ल्हो, स्यो, ल्ही, स्यालालगायत गाउँहरू, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक, प्रोकलगायत गाउँहरू हिउँले ढाकिएको स्थानीयको भनाइ छ। त्यस्तै, धार्चे गाउँपालिकाका वडा नं. ४ लाप्राक(गुप्सीपाखा) र सिङ्ला गाउँ हिउँले ढाकिएका छन्। बिहान तीन बजेतिरबाट हिमपात हुन सुरु भएको चुमनुब्री ७ का पूर्ववडाध्यक्ष पासाङ फुन्जोले जानकारी दिए। ‘बिहान तीन बजेदेखि हिउँ पर्न सुरु गरेको हो’, चुमनुब्री ७ का पासाङ फुन्जोले भने, ‘हिउँ परेपछि गाउँलेहरू सप्पै एकदम खुसी भएका छन्।’ खेतीपानी राम्रो हुने, धूलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उनको भनाइ छ। ‘जोडदार रूपमा हुरी बतास चलेर अचेल घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियो’, उनले भने, ‘बल्ल हिउँ पर्‍यो। अब त आगालागीको पनि डर हट्यो। हावाहुरी चलेर धूलो उडाएर बस्न नसक्ने भएको थियो।’

धार्चेको गुप्सीपाखा र सिंलामा तीन वर्षपछि यस वर्ष हिउँ परेको छ। २८०० उचाइमा अवस्थित ती गाउँहरू यो साल हिउँले सेताम्मै भएको स्थानीय मार्सिङ गुरुङ बताउँछन्। हिउँ परेपछि खेतीपाती राम्रो हुने भन्दै उनले खुसी व्यक्त गरे। ‘मंसिरमा लगाएको गहुँ खेतीले अब पानी पाउने भयो। वनको झारलहरूले पनि पानी खान नपाएर आत्ति सकेका थिए। अब पानी खान पाउने भए।’ अहिलेसम्म करिब एकफिट हिउँ परेको उनले बताए। हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको छ। अहिले सबै जना घरभित्रै आगो तापेर बसेका उनको भनाइ छ।

कालिञ्चोकमा हिमपात
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ। बुधबार कालिञ्चोकमा हिमपात भएको हो। बिहान झन्डै एक घण्टा हिमपात भएर रोकिएको र साँझमा पुनः हिमपात भएको स्थानीयले बताएका छन्। धार्मिक विशेषतासँगै प्राकृतिक विशेषतासमेत रहेको कालिञ्चोक मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरू हिउँमा रमाई रहेको कालिञ्चोकको कुरीमा रहेको स्थानीयहरूको भनाइ छ।

यो वर्षको पहिलो हिमपातमा कालिञ्चोक दर्शन गर्न गएका दर्शनार्थीहरूले हिउँसँग रमाइलो गरेका छन्। कालिञ्चोकमा यो वर्षको पहिलो हिमपात भएकोले पनि सबै खुसी भएका छन्। विगत वर्षहरूमा कालिञ्चोकमा पुस– माघदेखि फागुन अन्तिमसम्मै हिमपात हुने गरेकोमा केही वर्षदेखि भने वर्षमा २÷४ पटकमात्र हिमपात हुने गरेको स्थानीयको भनाइ छ। ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा बुधबार बिहान नौ बजेतिर झन्डै एक घण्टा हिमपात भएको र साँझ ४ः४५ बाट पुनः हिमपात सुरु भएको होटल व्यवसायीको भनाइ छ।

हिमपात भएपछि यो वर्ष जिल्लाका पर्यटकीय स्थल कालिञ्चोक, शैलुङ, चेर्दुङलगायत स्थानहरूमा पर्यटक आउने अपेक्षा गरिएको छ। हिउँमा रमाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने गर्दछ। हिमपात नहँुदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायीहरू चिन्तित भएका थिए।‌
चरिकोटबाट १८ किलोमिटर दूरीमा रहेको र राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको सुन्दर धार्मिक एवं प्राकृतिक पर्यटकीय केन्द्र कालिञ्चोकले हरेक मौसममा फरकफरक सुन्दरता दिने हँुदा पर्यटकको गन्तव्यस्थल बन्न पुगेको छ। आन्तरिक पर्यटक मात्र होइन्, बाह्य पर्यटकहरू पनि आउने गरेको छ। केही वर्षअघिसम्म आन्तरिक पर्यटक मात्र देखिने कालिञ्चोक मन्दिरमा अहिले दैनिकजसो ८०÷९० जना भारतीय पर्यटक पनि पुग्ने गरेका छन्।

कालिञ्चोकको कुरीमा सुविधासम्पन्न होटल भएकाले पनि शुक्रबार, शनिबार, विभिन्न पर्व र बिदाको समयमा दैनिक चार पाँच सय पर्यटक पुग्ने गर्छन तीमध्ये झन्डै ९० जनाभन्दा बढी भारतीय पर्यटक पुग्ने गरेको कालिञ्चोक भगवती गुठी व्यवस्थापनका समितिका अध्यक्ष चन्द्र लामाले बताए। पहाडी टाकुरामा रहेको कालिञ्चोकमा जलकुण्ड पनि रहेको छ। यहाँको मुख्य विशेषता जलकुण्ड हो। जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिँदैन तर हिउँद वर्षा जुनसुकै समयमा पनि कुण्डमा पानी रहिरहन्छ। फागुन–चैतसम्म सेताम्य हिउँले ढाकिने कालिञ्चोकको कुरी र थुम्का आसपास जेठदेखि साउन–भदौसम्म विभिन्न प्रजातिका फूलहरूले पाखै रंगीचंगी बनाएको हुन्छ। अझ विभिन्न रङका चिमालले कालिञ्चोकको सौन्दर्यलाई बयान गर्न नसकिने बनाएको हुन्छ। असार–साउनमा वर्षा र बादलसँग बदलिने मौसमले फूलहरूको सुगन्ध र सौन्दर्यलाई चहकिलो पारिदिन्छ। 

रसुवाको उत्तरी क्षेत्र सेताम्मे 
रसुवाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि स्थानीय खुसी भएका छन्। जिल्लाको गोसाइँकुण्ड, आमाछोदिङ्मो गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो। यस वर्ष समयमै हिमपात भयो खेतीपाती र डाँडाजस्तो भएको हिमालमा हिउँ पनि टल्कने भयो गोसाइँकुण्ड गाउँपालिका–१ नागथलीमा होटल सञ्चालन गर्द आएका दावासाङबो तामाङ भन्छन् बल्ल हिउँ पर्‍यो खुसी लाग्यो।

लाङटाङ, क्यान्जिन, थुमन, गतलाङको माथिल्लो भेग, वृद्धिम, धुन्चेको लेक, चन्दनबारी, चोलाङपाटी, ठूलोस्याफ्रु, लौरीविनायकलगायतको स्थानमा वर्षासँगै हिमपात भएको छ। हिउँ परेपछि चिसोको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ।

‘अहिले हिउँदे खेतीबालीले पानी मागिरहेको समयमा हिउँ र पानी परेकाले खेती सप्रने भयो।’ गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ८२ वर्षीय वृद्ध पासाङ तामाङले भने ‘हिउँ पर्‍यो अब खेतीपाती राम्रो हुन्छ। पानी र हिउँ नपरेकाले वन जंगल, पर्यटनमा पनि असर पर्छ। उनले भने, ‘हिउँ परेपछि जंगलमा आगलागीको पनि पनि डर कम हुन्छ।’

हिउँ नपर्दा जमिन निकै रुखो भएको थियो। पानीको स्रोत बढ्ने, हिउँदेबाली जौ, करु र गँहु अब सप्रिन्छ। गतलाङका चौंरीपालक कृषक चेङदावा तामाङ भन्छन्– हिउँ परेपछि केही दिन चिसो बढे पनि जंगल, खेतबारीमा घासपात उम्रिन्ने समयमा पानी तथा हिउँ परेकाले घासपात पनि फस्टाउँछ वातावरण पनि स्वच्छ हुन्छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.