साहस होस् त दुर्गानन्द झाको जस्तो!

साहस होस् त दुर्गानन्द झाको जस्तो!
सुन्नुहोस्

जनकपुरधाम : १९ वर्षको कलिलो उमेर। जुन बेला राम्रो खाने, राम्रो लगाउने र रमाइलो गर्ने रहर हुन्छ। तर, जटहीका दुर्गानन्द झामा भने व्यक्तिगत इच्छा र आकांक्षाभन्दा देश र समाज परिवर्तनको हुटहुटी थियो। त्यसैकारण यही उमेरमा उनले लोकतन्त्र र परिवर्तनका लागि विद्रोह गरे। ज्यानको पर्वाह गरेनन्। हाँसीहाँसी फाँसीमा चढे। उनको यही आँट र साहसका कारण मुलुकमा लोकतन्त्र प्राप्तिको जग बस्यो। 

प्रजातन्त्र पुनर्बहालीका लागि तत्कालीन राजा महेन्द्रमाथि २०१८ साल माघ ९ गते जनकपुरधामको जानकी मन्दिरमा झाले बम प्रहार गरेका थिए। उनले प्रहार गरेको बमले राजा महेन्द्र त जोगिए तर राजतन्त्र धेरै दिनसम्म टिकेन। सोही अभियोगमा २०२० साल माघ १५ गते काठमाडौंको केन्द्रीय कारागारमा उनलाई मृत्युदण्ड दिइयो। दुर्गानन्दको सोही बलिदानीलाई प्रत्येक वर्ष सम्झिने गरिन्छ र बलिदानी दिवस मनाइन्छ। 

२०१७ पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमविरुद्ध नेपाली कांग्रेसको अगुवाईमा मुलुकभर क्रान्ति आरम्भ भएको थियो। सो बेला भारतीय स्वतन्त्रता आन्दोलनका क्रान्तिकारी सेनानीहरू भगत सिंह र चन्द्रशेखर आजादको जीवनी पढेर निकै प्रभावित भएका दुर्गानन्द प्रजातन्त्रको खोस्नेहरूको अन्त्यका लागि जस्तोसुकै बलिदानी दिने निष्कर्षमा पुगेका थिए। कलिलो उमेरमै उनी नेपाली कांग्रेसका निर्वासित नेताहरूको सम्पर्कमा पुगेका थिए। सोही बेलादेखि उनको मनमा राजतन्त्रविरुद्ध विद्रोहको राँको दन्केको थियो।

२०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुरधाम सवारी भएको थियो। जानकी मन्दिर दर्शन गर्न जाँदा उनीमाथि बम प्रहार गर्ने योजना झा र उनको समूहले बनायो। बम लिएर जानकी मन्दिरसम्म जाने र बम हान्ने जिम्मा १५ वर्षीय अरविन्द ठाकुरलाई दिइयो। तर, ठाकुर अन्तिम समयमा बम प्रहार गर्न आत्तिए। तर, दुर्गानन्द पछि हटेनन्। सयौं सुरक्षाकर्मीको बीचमा उनले महेन्द्र सवार गाडीमाथि बम हाने। चारैतिर कोलाहल मच्चियो। उनलाई पक्राउ गर्न प्रहरी सक्रिय भयो । 

‘दुर्गानन्द झाले देशमा लोकतन्त्रको बिजारोपण गरेर गए। उनको शहादतले जुन परिवर्तन र देशमा विकासको सपना देखेको थियो त्यो साकार गर्नु सबै परिवर्तनकारीहरूका लागि मूल विषय हुनुपर्दछ,’ कांग्रेसका धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधि भन्छन्, ‘म गौरव गर्छु कि म त्यो क्षेत्रको बासिन्दा हुँ, जहाँ दुर्गानन्द झा जस्ता वीर सपुत भए। उनले राजामाथि गरेको बम प्रहार एउटा घटना थियो तर, त्यसले जनतालाई नेपालको मालिक बनायो। लोकतन्त्र ल्याउनका लागि उनको शहादतलाई जतिसुकै सलाम गरे पनि कम हुन्छ।’

धनुषाको जटही गाउँमा देवनारायण झा र सुकुमारी देवी झाको कोखमा १९९९ वैशाख १४ गते एक तेजस्वी बालकको जन्म भएको थियो। दुर्गानन्द चार महिनाका थिए जुन बेला उनको बुवाको निधन भएको थियो। अति विपन्न परिवार भएको हुँदा निकै अभाव र समस्यामा दुर्गानन्दको पालनपोषण भयो। आमाकै रेखदेखमा उनी गाउँबाट ५ किलोमिटर टाढा सीमापारी भारतको बिहार राज्यको उमगाँव स्थित दिनदयाल उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्थे। 

२०१७ सालमा कक्षा १० मा अध्ययनरत रहँदा धनुषाकै कुम्हरौराकी काशीदेवी झासँग वैवाहिक बन्धनमा बाँधिएका दुर्गानन्दले पारिवारिक जीवन बिताउनै सकेनन्। उनी एक वर्ष जति दाम्पत्य जीवनमा रहे। सो अवधिमा श्रीमती गर्भवती हुँदासमेत उनलाई छाडेर लोकतान्त्रिक आन्दोलनमा सक्रिय बने। उचित हेरचाह नपाउँदा काशीदेवीले मृत बच्चालाई जन्म दिइन्। ‘महाभारतको कथाको पनि अन्त भयो तर, मेरो दुःख र संघर्षको कुनै अन्त छैन। लोकतन्त्र स्थापनाका लागि हाम्रो परिवारमाथि त बज्रपातनै भएको थियो। 

तर, अहिले सबैले भन्छन् दुर्गानन्द झा अमर छन् म पनि त्यही कुरा सुनेर सन्तुष्ट हुन्छु,’ सहिद झाकी पत्नी काशीदेवी झा भन्छिन्, ‘उहाँ विद्रोही चरित्रको हुनुहुन्थ्यो। सानैदेखि राजतन्त्रको विरोध गर्दै हिँड्नुहुन्थ्यो।’ राजामाथि बम प्रहार गरेर दुर्गानन्द भारत गएका थिए। ‘उहाँलाई समात्न सक्ने हिम्मत कसैमा थिएन्,’ काशीदेवी भन्छिन्, ‘तर, जब उहाँका निर्दोश साथीहरूलाई प्रहरीले समातेर अनावश्यक दुःख दिन थाल्यो अनि उहाँले म चोर होइन्। मैले परिवर्तनका लागि विद्रोह गरेको हुँ र अगाडि पनि गर्नेछु। मैले राजालाई मार्नका लागि होइन् जनतालाई जगाउनका लागि बम फालेको थिएँ भन्नुभयो। उहाँले रोपेकै लोकतन्त्रको बिरुवा वृक्ष बनेको छ। यत्रो संघर्ष र बलिदानीको जुन फल त्यो वृक्षमा लागेको छ त्यो अहिले देशवासीले खान पाएका छन्।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.