सिरहा–३ मा यस्तो छ चुनावी प्रतिस्पर्धा
सिरहा : सिरहा–३ मा अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरूमा पटकपटक चुनाव जितेका, पटकपटक प्रतिस्पर्धा गरेका र नयाँ अनुहार सम्म छन्। मुख्यगरी नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिएका छन्। उनीहरू नै प्रतिस्पर्धामा छन्।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ९५१ मतले सिरहा–५ ले पराजित भएका एमालेका लीलानाथ श्रेष्ठ यसक्षेत्रमा ०७४ मा २३ हजार २२७ मत र ०७९ मा २८ हजार ६४ मल ल्याएर निर्वाचित भएका थिए। उनीसँग ०७४ मा जसपाका अशेश्वर यादव २१ हजार २२० मत ल्याएर पराजित भएका थिए भने ०७९ मा नेकपा (तत्कालीन माओवादी केन्द)का विश्वनाथ साह २६ हजार ८८२ मत ल्याएर पराजित भएको थियो। क्षेत्रको पुनर्संरचना भएपछि संविधानसभाका क्षेत्र ३, ५ ६ का केही भाग जोडेर अहिले क्षेत्र–३ भएको छ। संविधानको बेला क्षेत्र–३ र ६ मा कांग्रेस निर्वाचित भएका थिए।
संयोग एमालेका श्रेष्ठ दुवै पटक निर्वाचित भएको गठबन्धनबाटै हो। ०७४ मा एमाले–माओवादी र ०७९ मा एमाले–जसपा गठबन्धनबाट चुनाव लडेर जितेका हुन्। ०७९ मा श्रेष्ठसँग पराजित माओवादीका साह कांग्रेस र एकिकृत समाजवादी पार्टी मत पाउँदा पनि दोस्रो भएका थिए। ०७४ मा जसपाका यादवले बिना गठबन्धन प्रतिस्पर्धा गरेर पराजित भएका थिए।
यसपटक श्रेष्ठसँग प्रतिस्पर्धा गरिसकेका जसपाका यादव र नेकपाका साहले उम्मेदवारी दिएका छन्। कांग्रेसले भने नयाँ अनुहार डा.सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाएका छन्। कांग्रेसका अमर रेग्मीले ०७४ मा ११ हजार ७७८ मत ल्याएर तेस्रो भएका थिए।
०७९ मा यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार दिनेश कुमार यादवले ११ हजार १४६, राप्रपाका गोबर्धन दास तत्माले १२५९ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपककुमार साहले ४६३ मत ल्याएका थिए। यसपटक जनमत पार्टीले रोहित महतो, राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर शम्भुकुमार यादव, उज्यालो नेपाल पार्टीले श्रवण पासमान, प्रगतिशील लोकतान्त्रिक पार्टीले पुजन सिंहलाई उम्मेदवार बनाएका छन्।
स्थानीय तह जनप्रतिनिधिमा एमाले अगाडि
यसक्षेत्रमा सिरहा नगरपालिकाका २२, गोलबजार नगरपालिकाका १२, विष्णुपुर गाउँपालिका २, नरहा गाउँपालिका २ र अर्नमा गाउँपालिकाका ३ वटा गरी ४१ वटा वडाहरू रहेका छन्। एमालेले १५ वटा वडामा निर्वाचित भएका छन्। कांग्रेस ८, जसपा ८, एकीकृत समाजवादी ५, माओवादी ४ र स्वतन्त्र एक जना निर्वाचित भएका थिए। उनी अहिले कांग्रेसमा छन्। यसमध्ये सिरहा नगरपालिकाका एकीकृत समाजवादीबाट निर्वाचित वडा ५, ७ र जसपाबाट निर्वाचित वडा १ का अध्यक्ष एमालेमा प्रवेश गरेको छ।
सिरहा नगरपालिका मेयर/उपमेयर एमाले, गोलबजार नगरपालिका मेयर/उपमेयर एमाले, नरहा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष एमाले, अर्नमा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जसपा र विष्णपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा निर्वाचित भएका छन्। अधिकांश ठाउँमा कांग्रेस र माओवादीसँग प्रतिस्पर्धा भएका थिए। स्थानीय तहको मत परिणाम अनुसार यसक्षेत्रमा सांगठिनक मतमा एमाले बलियो देखिन्छ। उनीसँग प्रतिस्पर्धामा कांग्रेस र नेकपा रहेका छन्। जसपाको अवस्था कमजोर छ। कमजोर हुनुको पछाडी ०७४ मा जितेका स्थानीय तहमा हार ब्यहोर्नु र मनोज सिंह र सत्रुधन सिंह एमालेमा प्रवेश गर्नु हो।
अहिले दुवै जना मधेस प्रदेशसभामा एमालेबाट निर्वाचित भएका छन्। ‘दुवै चुनावमा जित्न एमालेलाई गठबन्धन फापेको थियो। यसपटक त्यस्तो अवस्था छैन। झन् स्थानीय तहको जनप्रतिनिधिको कामको रबैया र विगतमा आफैले गरेका बाचाहरू केही पूरा गर्न नसकेपछि रक्षात्मक अवस्थामा छ,’ गोलबजारका एक स्थानीयले भने, ‘संगठनको मत चुनावसम्म एमालेले बचाउन सक्नुपर्छ। अनि बलियो प्रतिस्पर्धी हुन्छ।’ जेन–जी आन्दोलन र कांग्रेसभित्रको एकताले एमालेलाई अब सहज नरहेको उनले तर्क गरे।
कांग्रेसमा पहिले दुई गुटमा उम्मेदवार भएका यादव र मधेस प्रदेश महामन्त्री उपेन्द्र यादव देखिन्थे। यसपटक एकताबद्ध भएर चुनावमा खटिरहेका छन्। ‘कांग्रेसका एकताले चुनावमा जित्न सक्ने दाबेदारी छ,’ नरहाका सविन यादवले भने, ‘पहिले जितेका जनप्रतिनिधिले जनभावना अनुसार काम गरेको छैन।’
ओझेलमा विकासका मुद्दा
यसक्षेत्रमा मुख्यरुपमा गोलबजार–लगडीगदियानी सडक, कमला पुल, सिरहा सदरमुकाम बजार विकास, सिरहा–चोहर्वा सडकखण्ड चारलेन रहेका छन्। यससँगै कमला–कोशी डाइर्भसन गरेर सिँचाई सञ्चालन गर्ने योजना चुनाव पटकपटक उठेका छन्। लगडीगदियानी सडक अलपत्र छ। कमला पुल उद्घाटनअघि नै भासियो। त्यो सम्म पुनर्निर्माण हुन सकेको छैन। सदरमुकाम सिरहा बजार विकास पनि अधुरै छ। पूरै बजार कालोपत्रे पनि हुन सकेको छैन्। सिरहा–चोहर्वा सडक चार लेन भएनन। कमला–कोशी डाइभर्सन चर्चामै रहयो। ‘यस क्षेत्रका मुख्य योजनामा पटकपटक चुनाव जितेकाले केही गर्न सकेनन। अब कति पटक आश्वासन मात्रै सुन्ने ?,’ सिरहा बजारका सुरेन्द्र यादवले भने, ‘आफ्नै आश्वासन अहिले पहिले जितेका उम्मेदवारलाई भारी भएको छ।’ अब हामी आश्वासनमा नपर्ने मत परिवर्तन गर्ने उनले सुनाए।
रास्वपालाई बालेनको साहारा
यस क्षेत्रमा रास्वपाका उम्मेदवारले ०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४६३ मत मात्रै ल्याएका थिए। त्यसपछि चहलपहल थिएन। जेन–जी आन्दोलन र बालेन साह रास्वपामा आएपछि यहाँ आकर्षण बढेको देखिन्छ। फेरि यहाँ रास्वापामा विवाद देखिएको छ। पहिले धर्मेन्द्र मरवैता यादवलाई उम्मेदवार बनाउने चर्चा थियो। मरवैताले उम्मेदवारीका लागि ब्यानर, पर्चा सबै छपाएका थिए। तर, मनोनयनको दिन उनको ठाउँमा डा.शम्भुकुमार यादवलाई उम्मेदवार बनाएको छ। ‘यस क्षेत्रमा बालेन साह आएर घुमी मात्रै दिए पुग्छ। यहाँ कांग्रेससँग रास्वापाको प्रतिस्पर्धा देखिन्छ,’ गोलबजारका पत्रकार अर्जुन थपलियाले भने, ‘यस लीला र एमालेको क्रेज घटेको छ। जसको कारण उहाँ आफैं हो।’ विकासका योजना असफल, अलपत्र र भ्रष्टाचारको गन्धले अब मतदाताले मत परिवर्तन गर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !