डडेलधुरामा विरासत जोगाउने दाउमा कांग्रेस, खोस्नेमा अन्य
डडेलधुरा : २०४८ देखि निरन्तर उम्मेदवार भई सात पटक चुनाव जितेका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपछि डडेलधुरामा चुनावी माहोल भिन्नै बनेको छ।
देउवाको नामबाट चिनिने डडेलधुरा आसन्न निर्वाचनमा कांग्रेस विरासत थाम्ने दाउमा छ भने अन्य दल तथा उम्मेदवारहरू विरासत फिर्ता लिने कसरतमा लाग्दा चुनावी माहोल रोचक बनेको छ। देउवाको अनुपस्थितिमा डडेलधुराबाट १३ जनाले दल र स्वतन्त्र भई उम्मेदवारी दर्ता गरेका छन्।
जिल्लाको चुनावी मैदानमा नेपाली कांग्रेसतर्फबाट नयाँ अनुहारको रूपमा नैनसिंह महरलाई उम्मेदवारका रूपमा अघि सारेका छन्। नेकपा एमालेबाट पूर्व राष्ट्रियसभा सदस्य चक्र स्नेहीलाई टिकट दिई चुनावी मैदानमा पठाएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल चुनावका लागि मैदानमा छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिई डा. तारा जोशीले उम्मेदवारी दिएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोविन्द खडायत चुनावी मैदानमा छन्। त्यसैगरी श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार महेन्द्र पुन छन्। स्वतन्त्र युवाका तर्फबाट गौरव ऐर लगायतका युवाले उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा होमिएका छन्।
३४ वर्षपछि पहिलो पटक डडेलधुराले देउवा बाहेकका उम्मेदवारलाई मतदान गर्नेछ। २०४८ सालमा पहिलो पटक उम्मेदवार बनेका देउवा गृहमन्त्री बन्दै पाँचपटक प्रधानमन्त्री बनेका र सातवटा निर्वाचन लगातार जितेको इतिहास रहेको डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदले बताए। सभापति साउदका अनुसार श्रद्धेय नेता पूर्वप्रधानमन्त्री देउवाका मान, सम्मान र शाख बचाउनका लागि पनि जिल्लाका मतदाताले मत नफेरी कांग्रेसका उम्मेदवारलाई जिताउनेमा ढुक्क रहेको बताए।
कांग्रेसबाट उम्मेदवार रहेका महर को हुन्
जिल्लाको भागेश्वर गाउँपालिका–३, लामिकाँडेका एक मध्यम वर्गीय परिवारमा जन्मेका नैनसिंह महर कांग्रेस डडेलधुराका लागि उदाउँदा भविष्य हुन्। उनी प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट टिकट पाई देउवाको विरासत जोगाउने दौडमा छन्। विद्यार्थी जीवनमा नै असिग्राम माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ अध्यक्षको भूमिकाबाट राजनीतिमा प्रवेश गरेका महर २०५२ सालमा नेवि संघ डडेलधुराको कार्यवाहक अध्यक्ष र २०५६ मा निर्वाचित जिल्ला अध्यक्ष भएका थिए। २०५७ सालको चितवन महाधिवेशनमा नेवि संघको केन्द्रीय सदस्य निर्वाचित भएका महर २०७३ सालमा सम्पन्न नेवि संघको ११औँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भए। ०७८ मा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित महर आम निर्वाचनका लागि भने नयाँ अनुहार हुन्।
विद्यार्थी अध्यक्षका रूपमा रहँदा ‘नीतिगत सुधार र रूपान्तरणको युग’ का रूपमा काम गरी दशकौँदेखि विद्यार्थी राजनीतिमा जरा गाडेर बसेको ‘पाका विद्यार्थीहरू’को सिन्डिकेटलाई तोडेर महरले ‘३२ वर्षे उमेर हद’ को विधान पारित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले नवयुवाको प्रवेशद्वार खोली स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षे उमेर हदको निर्णय विश्वविद्यालयबाट पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँछन्।
गरिब र जेहेन्दार विद्यार्थीले पैसाको अभावमा उच्च शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर उनले ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने’ नीतिको परिकल्पना गरी राज्यको नीति तथा कार्यक्रममा समावेश पहल गरेका उत्कृष्ट कार्यको थालनी गरेका स्मरण महरसँग छ।
एमाले उम्मेदवार स्नेही को हुन् ?
यसैगरी एमालेका अध्यक्ष गजेन्द्र शाहीका अनुसार देउवा निर्वाचन प्रतिस्पर्धामा हुँदा पनि यस जिल्लामा एमालेको आठदेखि १० हजार मत प्रत्यक्षतिर र समानुपातिक मत नौ हजार २ सय १४ कायम थियो। यो आधारमा हेर्दा आसन्न निर्वाचनका लागि एमालेका तर्फबाट उम्मेदवार रहेका नेता स्नेहीले राष्ट्रिय सभाको अनुभव बटुलेका छन्। उत्पीडित समुदायबाट प्रतिनिधित्व गर्ने र नेकपा एमालेका प्रभावशाली नेता भएका कारणले चुनावी विरासत फर्काउन सक्ने शाहीले बताए। अध्यक्ष शाहीले भने, ‘अहिलेको जनलहर र जिल्लाका विभिन्न मुद्दा समाधान गर्नका लागि एमाले उम्मेदवार स्नेहीको भूमिका महत्वपूर्ण रहेको मतदाताले उनलाई नै रुचाएका छन्।’
एमालेबाट चुनावी मैदानमा रहेका स्नेही एमालेका पाका नेतामध्येका एक हुन्। पूर्व राष्ट्रियसभा सदस्य समेत रहेका उनी एमालेको पुरानो नेतामा पर्छन्। जिल्लाको आवाज, भावना, समस्या र आवश्यकतालाई हिजो पनि राष्ट्रियसभा संसद भवनबाट जनताको पक्षमा वकालत गरेको नेता फेरि प्रतिनिधिसभामा डडेलधुरावासीको आवाजको प्रतिनिधित्व गर्न आफूले चाहेको बताउँछन्।
चुनावी परिणाम आफ्नो पोल्टामा आउँछ : नेकपाका उम्मेदवार माल
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका मानसिंह माल पनि चुनावी परिणाम आफ्नो पोल्टामा आउने दाबी गरिरहेका छन्। सातवटै स्थानीय तहमा राम्रो पकड रहेको र मतदाताको चासो र समाजले नयाँलाई रुचाउने भएका कारणले पनि आफूले चुनाव जित्ने कुरामा ढुक्क रहेको उम्मेदवार मालको भनाइ छ। उम्मेदवार माल भित्री मधेश क्षेत्रमा प्रभाव राख्ने नेताको रूपमा चिनिन्छन्। उनी नेकपा माओवादीबाट समायोजनपश्चात नेपाली कम्युनिस्ट पार्टीमा पुगेका हुन्। उनी सहिद परिवारबाट प्रतिनिधित्व गर्छन्। उनी सो पार्टीमा अब्बल नेताको रूपमा चिनिन्छन्।
जनताको सेवामा समर्पित छु : राप्रपाका उम्मेदवार खडायत
राप्रपाका तर्फबाट उम्मेदवार रहेका गोविन्द खडायत पनि परिवर्तन र समृद्धिको संकल्प लिएर उम्मेदवारको रूपमा जनताको सेवामा समर्पित रहेकाले चुनाव जित्ने आशमा रहेका छन्। भ्रष्टाचारको अन्त्य, सनातनी धर्म–संस्कृतिको रक्षा र हाम्रो डडेलधुराको स्वाभिमान जोगाउन म सधैँ प्रतिबद्ध रहने उनले बताए। उम्मेदवार खडायतले जनताले आफूलाई रुचाएको जनाएका छन्।
रास्वपाका उम्मेदवार डा. जोशी को हुन् ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका डा. जोशी सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान सदस्य हुन्। उनले २०७९ मा सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाको ‘ख’ क्षेत्रबाट जितेका हुन्। उम्मेदवार जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा गरी आसन्न निर्वाचनका लागि उम्मेदवार बनेका हुन्। डा. जोशी पछिल्लो लहरका कारण बलिया उम्मेदवारका रूपमा रहेका छन्। २०७० सालमा तत्कालीन एमालेबाट संविधानसभा सदस्यका उम्मेदवार जोशी कांग्रेस नेता देउवासँग पराजित भएका थिए। २०७४ सालमा उनी तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेसका उम्मेदवारसँग पराजय भोगेका थिए।
तर २०७९ सालको प्रदेशसभा निर्वाचनमा समाजवादीले कारबाही गर्दा डा. जोशी स्वतन्त्र भई उम्मेदवारी दिँदा भने विजयी भएका थिए। कांग्रेसबाट कारबाही भई बीपी कांग्रेसमा लागेका कर्ण मल्लको साथ र समर्थनमा डा. जोशीले ०७९ को निर्वाचन जितेको आरोप छ। प्रतिनिधिसभामा रास्वपाका तर्फबाट उम्मेदवार रहेका डा. जोशी नेकपा समाजवादी पार्टीको यात्रा परित्याग गर्दै उज्यालो पार्टी हुँदै रास्वपा पुगेका हुन्। डा. जोशीको जनता सँगको सहज पहुँच र विज्ञ व्यक्तिका साथै शेरबहादुर देउवाको हाइटमा पुग्न सक्ने व्यक्ति भएका कारणले जनताले उनलाई पत्याउने रास्वपाका जिल्ला सचिव यादव ओझाले बताए।
श्रम संस्कृति पार्टीका उम्मेदवार पुन को हुन् ?
जिल्लामा श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार महेन्द्र पुन पनि चुनावी परिणाम आफ्नो पक्षमा ल्याउनका लागि जनताको माझमा लागिपरेको जनाइरहेका छन्। ‘जय माटो जय देश’ भन्दै मतभार ल्याउन लागि परेको उनको भनाइ रहेको छ। साथै चुनाव चिन्ह ‘सुई’ लिएर स्वतन्त्र युवाका रूपमा चुनावी प्रतिस्पर्धामा रहेका गौरव ऐर पनि युवामा राम्रो प्रभाव पारी चुनावी प्रतिस्पर्धामा छन्। उनले युवाका माझमा प्रभाव पारेका कारण चुनाव जित्न सक्ने आकलन उनका समर्थक युवाहरूको रहेको छ।
सुदूरपश्चिमका लागि देउवाले हालसम्म के गरे ?
२०४८ सालको पहिलो चुनावबाट विजयी सुरुवात गरेका देउवाले त्यसपछि पराजय भोग्नु परेको इतिहास छैन। पूर्व प्रधानमन्त्री देउवाले विरासत बोकेको डडेलधुरामा २०४८ सालमा पहिलो पटक चुनाव जितेर गृहमन्त्री बनेका थिए। देउवा सुदूरपश्चिमका खम्बाका रूपमा चिनिन्छन्। उनी गृहमन्त्री हुँदै २०५२ सालमा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम देशको राजधानी काठमाडौंसँग जोडिएको थियो। कर्णाली नदीमा मोटरेबल पुल निर्माण भएपछि तत्कालीन सुदूरपश्चिमाञ्चल देशको राजधानी र अन्य अञ्चलहरूसँग जोडिन पुगेको जानकारको दाबी छ।
कर्णाली पुलसँगै सुदूरपश्चिमअन्तर्गत महेन्द्र राजमार्ग खण्डमा २२ वटा पुल निर्माण गरिएको सुदूरपश्चिमका नेताहरूको भनाइ छ। त्यसयता सुदूरपश्चिमका सात पहाडी जिल्लामा पनि सडक विस्तारसँगै कालोपत्रे गरिएका थिए।
यद्यपि पश्चिम सेती जलविद्युत योजना हाल भारतीय कम्पनी एनएचपीसीसँग सम्झौता भई आएको काम भइरहेको छ। डडेलधुराका प्रत्येक गाउँ सडक सञ्जालसँग जोडिएका छन्। डडेलधुराका महत्वपूर्ण चारवटा सडक कालोपत्रे भएका र केही भइरहेको कांग्रेस उम्मेदवार नैनसिंह महर बताउँछन्। देशको विषम परिस्थितिमा देउवाले नेतृत्व गरी चुनाव गराउनेदेखि शान्ति प्रक्रिया अगाडि बढाएकाले जनताले आश गरे अनुसारका काम गर्न नसकिएको उनको भनाइ छ।
देउवा प्रधानमन्त्री भएपछि २० वटा गाविस रहेको डडेलधुरामा २०५२ सालमा पहिलो नगरपालिका अमरगढीको स्थापना गरिएको थियो। डडेलधुरामा हाल ९८ प्रतिशत घरधुरीमा बिजुली पुगेको, ८० प्रतिशत बढी बस्तीहरूमा एकघर एक धारा निर्माण भई शुद्ध पिउने पानीमा पहुँच पुगेको, ६० प्रतिशत बढी खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था पुगेको, मेडिकल कलेज स्थापना भई दुईवटा विषयमा अध्यापन भइरहेको, डडेलधुरा अस्पताल ३०० शय्यामा स्तरोन्नति र जोगबुडा अस्पताल ५० शय्यामा स्तरोन्नति भएको लगायतका धेरै कामहरू देउवाले जिल्लामा गरेको उनको दाबी छ।
राजनीतिबाट देउवाको बहिर्गमन हुँदा बहुचर्चित पञ्चेश्वर र पश्चिम सेती जलविद्युत योजनाहरू भने निर्माण हुन सकेनन्। सुदूरपश्चिम एवं नेपालकै मुहार फेरिने भनेर उनले बारम्बार चुनावी सभा भाषण गर्ने यी दुई योजनासँगै महाकाली करिडोर, सेती करिडोर, दैजीछेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह लगायतका अन्य ठूला योजना सञ्चालनमा आउन नसक्दा सुदूरपश्चिमवासी निराश छन्।
प्रतिक्रिया दिनुहोस !