खानेतेलको मूल्य समायोजन हुँदै

खानेतेलको मूल्य समायोजन हुँदै

काठमाडौं : चुनावको मुखमा खानेतेलको मूल्य बढेको भन्दै चौतर्फी विरोध भयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल वनस्पति घ्यू तेल उत्पादक संघलाई मूल्य समायोजना गर्न निर्देशन दियो। संघले मूल्य समायोजन गर्ने जानकारी विभागलाई गराएको छ।

‘चुनावको सन्दर्भ र उपभोक्ताको गुनासोलाई मध्यनजर गरेर विभागले मूल्यवृद्धिमा के कति समायोजन गर्न सकिन्छ, समायोजन गर्नुस् भनेर निर्देशन दिएका थियौं। सोअनुसार मूल्य समायोजन गर्ने प्रतिबद्धता जारी भएको छ,’ विभागका महानिर्देशक रोशन ज्ञवालीले अन्नपूर्णसँग भने। खानेतेलको मूल्यमा वृद्धि भयो भन्ने गुनासोपछि संघ र व्यवसायीहरूसँग विभागले छलफल गरी मूल्य समायोजनका लागि निर्देशन दिएको महानिर्देशक ज्ञवालीले अन्नपूर्णसँग बताए।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै खानेतेलको मूल्य समायोजन गर्ने जनाएको छ। ‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको समन्वयमा निर्वाचनको समयको संवेदनशीलता हेरी यस संघका सदस्य उद्योगहरूले मूल्यवृद्धिलाई दृष्टिगत गरी सकेसम्म आवश्यक समायोजन गरी बिक्री वितरण गर्ने प्रतिबद्धता गर्दछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संघले बिहीबारबाट नै लागू हुने गरी र चुनावसम्मका लागि तेलको बढेको मूल्यमा केही समायोजन गर्ने जनाएको छ।

२७ वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरूले नियमित रूपमा आफ्ना उत्पादनहरू सोयाविन तेल, सनफ्लावर तेल इत्यादी उत्पादन गरी स्थानीय बजारमा साथै निकाशीसमेत गर्दै आइरहेका छन्। उद्योगहरूलाई चाहिने मुख्य कच्चा पदार्थहरू क्रुड सोयाविन तेल अर्जेन्टिना र ब्राजिलवाट, क्रुड सनफ्लावर तेल अर्जेन्टिना र युक्रेनबाट र क्रुड पाम आयल इन्डोनेशिया र मलेसियालगायतका देशहरूबाट आवश्यकताअनुसार आयात भइरहेको संघ बताउँछ।

मुख्य कच्चा पदार्थहरू अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने संघको भनाइ छ। ‘दिनदिनै अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको जानकारी आजभोलि डिजिटल माध्यमबाट पारदर्शी रूपमा जहाँसुकैबाट हेर्न सकिने व्यवस्था भएअनुसार नेपालका होलसेल व्यापारीहरूले समेत प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यको निगरानी गरिरहेका छन्। साथै मूल्यको यस्तो उतारचढाव कसैको नियन्त्रणमा नरहेको र कसैले पूर्वानुमानसमेत गर्न सक्दैनन्,’ संघले भनेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा डलरको मूल्यमा भएको निरन्तर वृद्धिको कारणले अन्तर्राष्ट्रिय बजारमा नै कच्चा तेलको मूल्यमा वृद्धि हुन गएको आन्तरिक बजारमा असर देखिएको संघको भनाइ छ। ‘यस संघका सदस्य उद्योगहरूबाट कुनै प्रकारको अभाव सिर्जना गरी मूल्यवृद्धि नभएको, हालको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भइरहेको मूल्यवृद्धिको कारणले भएको व्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि निर्वाचनको मुखमा पर्नु संयोग भएको पनि संघले 
उल्लेख गरेको छ।

विभागले बुधबार नै विज्ञप्ति जारी गर्दै मूल्य भएको अस्वाभिक मूल्यवृद्धि समायोजन गर्न निर्देशन दिएको थियो। विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अवान्छित मूल्यवृद्धिदलाई नियन्त्रण गरी बजारलाई प्रतिस्पर्धी र बजार स्वच्छता कायम गर्न खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकहरूलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा अस्वाभाविक मूल्य वृद्धिदलाई समायोजन गरी उपभोक्तालाई राहत दिन निर्देशन दिइएको छ। साथै कानुनविपरीतका कार्य गर्ने केही फर्महरूलाई कानुन बमोजिम दण्ड जरिवानासमेत गरिएको छ।’

यसअघि विभागले देशभर तेल उत्पादन गर्ने करिब २७ उद्योगलाई दैनिक खरिद र बिक्रीदर उल्लेख गर्न पत्रचार गरेको थियो। बजारमा सबै प्रकारका खाने तेलको मूल्य बढेको गुनासो पछि वास्तविकता पहिचान गर्न सम्बन्धित उत्पादकहरूलाई २४ घन्टाको अल्टिमेटमसहितको पत्रचार गरेको थियो। सबै उद्योग उपत्यका बाहिर भएकोले सबैले डकुमेन्ट पेस नगरेको विभागका महानिर्देशक ज्ञवाली बताउँछन्। 

‘केहीले डकुमेन्ट पेस गर्नुभएको छ। त्यसको विश्लेषण गर्न बाँकी छ। मूल्यवृद्धिको कुनै मापदण्ड छैन। हाम्रो आपूर्ति नीतिले अत्यावश्यक वस्तुको पहिचान गरेको छ। अत्यावश्यक वस्तुको मूल्य निर्धारणसम्मको एउटा मापदण्ड वा कार्यविधि निर्धारण गर्न सक्ने भन्ने उपभोक्ता संरक्षण ऐनले पनि भनेको छ। यद्यपि हामी त्यो तहमा पुग्न सकेका छैनौं। अर्कोतर्फ खुल्ला बजार अर्थतन्त्र भएको कारणले मूल्यलाई बजारले निर्धारण गर्छ,’ ज्ञवालीले भने। तरपनि समयसन्दर्भ हेरेर विभागले व्यवसायीलाई मूल्य समायोजनाका लागि सहमत गराएको विभाग बताउँछ। विभागले बजार नियमन र अनुगमनलाई तीव्रता दिएको पनि ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.