१८ महिनापछि सौर्य उडान भर्ने तयारीमा

१८ महिनापछि सौर्य उडान भर्ने तयारीमा
सुन्नुहोस्

काठमाडौं : सौर्य एयरलाइन्सले पुन:  उडान सुरु गर्ने भएको छ। दुर्घटनापछि प्रतिबन्धमा परेको कम्पनीले फागुनको दोस्रो साताबाट पुन:  उडान सुरु गर्न लागेको कम्पनीका बिक्री तथा बजार प्रमुख मुकेश खनालले जानकारी दिए।

२०८१ साउन ९ गते पोखरा बिमानस्थलमा ‘सी’ चेकका लागि १७ प्राविधिक र २ चालकदलसहित १९ जना बोकेर उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सुरक्षा अडिटमा ६५ प्रतिशतभन्दा बढी अंक दिएको र उडान अनुमति प्रमाणपत्र (एओसी)को प्रतिबन्ध फुकुवा र एओसी नवीकरणसँगै कम्पनीले उडान प्रक्रिया सुरु गरेको खनालले बताए। 

‘सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम प्राप्तांकका कारण उडानमा प्रतिबन्धमात्र लगाइएको अवस्था थियो। हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणले दिएको २३ वटा सुरक्षा सिफारिसहरूको अक्षरंश:  पालना साथै टेक्निकल सफ्टवेरसमेतको खरिद र जडानपश्चात् सेफ्टी स्ट्यान्डर्डमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्तपछि एओसी नवीकरण गर्न आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएको हो,’ खनालले बताए।

सुरक्षा सिफारिसहरूको पालनासँगै २०२७ को नोभेम्बरसम्मलाई एओसी नवीकरण पनि सम्पन्न भएको कम्पनीले जनाएको छ। प्रतिबन्धमा परेको करिब ८ महिनापछि कम्पनीले २०८१ चैत २९ गते टेस्ट फ्लाइट सम्पन्न गरेको थियो। प्राधिकरणबाट एओसी फुकुवा २०८२ को साउन ३० मा भएको थियो भने एओसीको नवीकरण यहि माघ ६ गते गरिएको हो।

जहाज दुर्घटनामा शृंखलाबद्ध कमजोरी
तत्कालीन पाँच आन्तरिक गन्तव्यमा उडान भर्दै आएको सौर्य एयरलाइन्सले जहाज नियमित चेकजाँचका लागि पोखरा लैजाने तयारी थियो। जहाजको नियमित उडान तालिकालाई रोकेर फेरि उडान (मर्मतसम्भारका लागि गरिने उडान, जहाँ यात्रु हुँदैनन्) को अनुमति लिएको थियो। फेरि उडानमा चालकदल र केही प्राविधिज्ञ जाने चलन छ। 

बिमान परिचारिका पनि यो उडानमा नलगिने विज्ञ बताउँछन्। नियामक निकाय प्राधिकरणसँग फेरि उडानको अनुमति लिँदै जहाजलाई पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल लैजान अनुमति लिएको थियो। एयरलायन्सको कलसाइन नाइनएन–एएमई बोम्बारडियर जहाज सी चेकका लागि पोखरा लगिँदै थियो।

साउन ९ गते दुर्घटनामा परेको जहाजको छानबिन गर्न गठित आयोगले करिब १ वर्ष लगाएर प्रतिवेदन तयार गरेको होे। उक्त प्रतिवेदनले बिमान आकस्मिक नभई शृंखलाबद्ध कमजोरीको कारण दुर्घटना भएको भन्दै मुख्यत:  ‘टेकअफ’ का क्रममा पाइलटले ‘पिच रेट’ अत्याधिक बढाएकाले जहाजको अगाडिको भाग (नोज) मापदण्डभन्दा माथि उचालिएर जहाजको गति घट्दा ‘डिप स्टल’ भई दुर्घटना भएको निष्कर्ष दिएको छ।

नाइनएन–एएनएमबाट उडान भर्ने तयारी
विगत १८ महिनादेखि ठप्प भएको एयलाइन्स अहिले मासिक करिब डेढ करोड रुपैयाँ सञ्चालन घाटमा रहेको छ। प्रतिबन्धको अवधिमा पनि कम्पनीले कर्मचारीलाई तलब सुविधा दिएको जनाएको छ। सौर्य एयरलाइन्ससँग ३ वटा जहाज रहेकोमा एउटा दुर्घटना (कलसाइन नाइनएन–एएमई) मा परेपछि हाल दुईवटा जहाज छन्। ५० सिट क्षमताको नाइनएन–एएलई र नाइनएन–एएनएम कलसाइन जहाजमध्ये नाइनएन–एएनएमबाट उडान भर्ने तयारी 
कम्पनीको छ। 

नाइनएन–एएलई प्राविधिक समस्याका कारण करिब २ वर्षदेखि काठमाडौं बिमानस्थलमा नै थन्किएको छ। अब उडान भर्ने तयारीमा रहेको नाइनएन–एएनएम जहाज उडानका लागि जाँच गर्दा प्राविधिक समस्या देखिएपछि व्यावसायिक उडान सुचारुका लागि समय लागेको कम्पनीका नायब महाप्रबन्धक उमेश आचार्य बताउँछन्। ‘दुर्घटनापछि उडान प्रतिबन्धका कारण काठमाडौं बिमानस्थलको खुला आकाशमा रहेकाले त्यसको विनसिल्ड ग्लासमा क्र्याक देखिएको छ।

यस उडानयोग्य नदेखिएकाले सामान मगाइएको छ। सामान आएर फिट गरेपछि उडान सुरु गर्छौं,’ उनले जानकारी दिए। कम्पनीले सुरुमा काठमाडौं– विराटनगर र भद्रपुर उडान अनुमतिका लागि प्राधिकरणमा पेस गर्ने भएको छ। दुर्घटनामा परेर लामो समय ब्रेक लिएको कम्पनीले सुरक्षा र विश्वसनीयताको प्रत्याभूतिका लागि यात्रुसँग आत्मीय सम्बन्धमा बढाउनमा केन्द्रित हुने उल्लेख गरेको छ।

बिमा भुक्तानी अझै बाँकी
नागरिक उड्डयन ऐनको प्रावधानअनुसार चालक दल (पाइल, कोपाइलट र परिचारिक) लाई ५० हजार र यात्रुको २० हजार अमेरिकी डलरको बिमा दाबीको व्यवस्था छ। सौर्यको जहाज दुर्घटना हुँदा पाइलट, कोपाइलट र एक जना अप्रेसन इन्जिनियर ककपिटमा थिए भने बाँकी प्राविधिज्ञ यात्रुका रूपमा जहाजमा रहेका थिए। सोअनुसार बिमा कम्पनीले बिमा दाबी भुक्तानी गरेको छ। पाइलट सकुशल रहेकाले मृत्यु हुने १८ जनामध्ये १० जनाले बिमाबापतको रकम बुझेको नायब महाप्रबन्धक आचार्य बताउँछन्।

बाँकी ८ जनाले भने ५० हजार डलर पाउनुपर्ने माग राख्दा बिमा भुक्तानी हुन नसकेको उनको भनाइ छ। योसगै मृतकका परिवारले करिब ३ हजार डलर मृत्यु संस्कार खर्च र सामूहिक दुर्घटना बिमाबापतको ७ लाख रुपैयाँ पनि प्राप्त गरेको कम्पनीले जनाएको छ। यता, कम्पनीको दुर्घटनामा परेको जहाजको दाबी करिब ४५ करोड रुपैयाँ रहेकामा अहिलेसम्म भुक्तानी हुन नसकेको बताइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.