वर–पीपल ढल्दा बर्दिबास स्तब्ध

वर–पीपल ढल्दा बर्दिबास स्तब्ध
सडक विस्तारका क्रममा महोत्तरीको बर्दिबासस्थित राजमार्ग किनारका पिपलका रुख कटान गरिँदै । तस्बिर : राजकरण महतो
सुन्नुहोस्

बर्दिबास (महोत्तरी) : बर्दिबास शान्त छ। तर, त्यो शान्ति सुखको होइन, स्तब्धताको हो। जहाँ हिजोसम्म वरपिपलका पात हल्लिँदा सास चल्थ्यो, आज धुलो उडेर घाँटी खसखसाउँछ। 

सडक चौडा हुँदैछ तर जवानी चढ्दै गएको बर्दिबासको छाती साँघुरिँदै गएको छ। कुरो देववृक्ष वरपिपलको हो। चार दशकअघि भुइँमा रुखको जरा गाडिँदा बस्तीमा खुसियाली थियो। आइतबार त्यही दर्जन बढी वृक्षको जरामा आरा चल्दा बर्दिबासवासीको मन कुँडिएको छ। बर्दिबासको आत्मा रोइरहेको छ।

जब वरपिपलको जरामा आरा चल्यो...

बिहीबार बिहानै ७२ वर्षीय नरसिंह फुयाँलको आँखैअगाडि जवान पिपलको जरामा आरा चल्यो। उनी अक्क न बक्क भए। निर्दयी आरा :  घिरघिर गर्दै ढेड घण्टासम्म पिपलको जरामा दौडिरह्यो, रेटिरह्यो। अन्तत:  करिब ४० वर्ष पुरानो पिपलले प्राण त्याग्यो। 

मर्मराउँदै सदाका लागि भुइँमा पछारियो। जसले अब कहिल्यै बटुवालाई अक्सिजन दिने छैन। आफ्नै कान समातेर रुखतिर फर्किंदै फुयाँलले पिपलसँग माफी माग्दै भने, ‘जय श्रीराम... माफ गर है। हामीले तिमीलाई हुर्कायौं, केही गरी बचाउन सकेनौं।’ बर्दिबासमा दिनका दिन ढल्दै, पहिचान हराउँदै गएको देववृक्षहरूको रोदन छ यहाँ। फागुन २१ को चुनावको जति चर्चा छ, त्योभन्दा बढी बर्दिबासमा ढलेका वृक्षहरूले बहस जन्माएको छ। खै पीपल चौतारी ? कहाँ पूजा गर्ने ? कहाँ हावा खाने ?

चार दशकको अन्तरमा बर्दिबासवासीले सडक किनारमा ३० बढी वरपिपल, समीका रुखहरू हुर्काएका थिए। जुन बर्दिबास विकासका लागि मेरुदण्डमात्रै होइन, इतिहास नै थिए। विकास सपनाले उहिलेका इतिहास मेटिँदा नरसिंह फुयाँलजस्ता बर्दिबासवासी टुलुटुलु हरेर बस्नबाहेक केही गर्न सकिरहेका छैनन्।null

अनि ढल्यो वरपीपलको इतिहास
स्कुल हिँडेका बालक युनिस थापा ढलेको पीपलको रुखलाई हेरेर टक्क रोकिए। हेरिरहे, टोलाइरहे। बर्दिबासबासीलाई लाग्यो, एउटा इतिहास नै ढल्यो। संस्कृतिको बिरासत नै चक्नाचुर भयो। देव वृक्ष संरक्षणका वातावरण अभियन्ता सुरेश शर्माका अनुसार एउटा रुख, रुखमात्रै होइन त्यो बटुवाका लागि छहारी हो। नव पुस्ताका लागि प्रकृतिमा रम्ने आधार अनि मानवका लागि अक्सिजन सिलिन्डर। 
‘एउटा वरपीपल भक्तजनका लागि भगवान् हो भने चराचुरुंगीका लागि फुड बैंक। अनि सहरका लागि सुन्दरता,’ उनले भने। विकासको नाममा सहरमा भएका पुराना रुखहरू मासिँदै गएपछि सहरको पहिचान संकटमा पर्ने उनी सुनाउँछन्।

सडक बिस्तारले बर्दिबासको रातु खोलादेखि बाँकेखोलासम्म ६ हजार बढी वरपीपलसहितका हजारौं रुख धमाधम काटिँदै गएका छन्। पूर्व–पश्चिम राजमार्ग विस्तारसँगै बर्दिबासको पहिचान बनेका सडकछेउका देववृक्षहरू एकपछि अर्को गर्दै ढलिरहेका हुन्। वर र पीपल— जसलाई यहाँका मानिसहरूले केवल रुख मानेनन्, आफ्नो जीवनको सास माने। 

ती रुख ढल्दा बर्दिबास केवल हरियाली होइन, आफ्नै स्मृति र संस्कार गुमाइरहेको बताउँछन् एक मन्दिरका ७६ वर्षीय पुजारी लक्ष्मण दास। उनी भन्छन्, ‘वरपीपल भगवान्का् अवतार हुन्। सरकारले आदेश दियो भने जे पनि हुन्छ , त्यसकै उदाहरण हुन् यी।’
डिभिजन वन कार्यालय जलेश्वरका अनुसार बर्दिबासको सहरी क्षेत्रका ७ वटा वर र १० वटा पीपल कटानका लागि छपान भएको छ। कागजमा यो विकासको प्रक्रिया हो, तर मानिसको मनमा यो बिछोडको चोट रहेको बताउँछन् वृद्ध नरसिंह फुयाँल। उनी भन्छन्, ‘बर्दिबासमा २०४० सालपछि अभियानकै रूपमा करिब २८ वटा वरपिपल रोपिएको थियो। सर्वसिद्धेश्वरनाथ महादेव मन्दिर बनाइयो। हनुमान मन्दिर पनि बन्यो।’
उनका अनुसार वरपिपल त विष्णु र शिवका रूप हुन्। बटुवाका लागि आश्रय थिए। ती काटिँदा बर्दिबास नै उजाड भएको छ।

छायांले हुर्किएको सहर
बर्दिबासको विकासमा चिया, पानी र वरपिपलको योगदान बराबरी थियो। रातु ठाकुर मोक्षधाम व्यवस्था समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा भन्छन्, ‘२००३ सालमा बसोबास सुरु भएको बर्दिबासको विकासमा वरपिपलको अहम् भूमिका छ। यीबिना बर्दिबास कल्पनै गर्न सकिँदैन।’
उनका शब्दहरू केवल भावुकता होइन, अनुभवको निष्कर्ष हुन्। ‘हट होस् वा कोल्ड, वरपिपलको फेदमा पुगेपछि सबै हावा सन्तुलित हुन्थ्यो। विज्ञानले आविष्कार गरेका सबै उपकरण यहाँ फिक्का लाग्थे,’ अध्यक्ष देवकोटाले भने, ‘आज त्यो फेद सुनसान छ।’
वृद्ध फुयाँल थप्छन्, ‘वरपिपल काटिँदा बर्दिबास कपडा नजाएको जस्तै नांगो भयो। यी रुख सहरका सुन्दर वस्त्र थिए। रुख काटिँदा सर्वस्व गुमाएजस्तो भयो।’

जलवायु परिवर्तनको साक्षी
बर्दिबासका ८० वर्षीय गंगाप्रसाद घिमिरेका लागि घरअगाडिको पिपल केवल रुख थिएन। ‘जरामा आरा चल्दा आफ्नै घाँटी रेटिएको महसुस भयो,’ उनी भन्छन्, ‘स्वच्छ हावा खाने, छायां दिने रुख काटिँदा जीवनै खोसिएजस्तो लाग्यो।’ रामेछापबाट २०३६ सालमा बसाइँ सरेका घिमिरे भन्छन्, ‘यी रुख बर्दिबासको इतिहास हुन्। रोप्ने कति बाँचे, कति मरे। तर, उनीहरूले लगाएको गुण बर्दिबासले कहिल्यै भुल्दैन।’

२०२८ सालमा पूर्व–पश्चिम राजमार्ग विस्तार हुँदा गंगाले देखेको बर्दिबास आजको भन्दा फरक थियो। ‘रुखको फेदमा बस कुथ्र्यौं, त्यहीँ सास फेथ्र्यौं। अब ती सबै एकादेशको कथा भए। रुख काटियो बर्दिबासको इतिहास ढल्यो। अब फेरि ती इतिहास कसले लेख्छ् अँ... ?’
बिहीबार आज बिहानै रुख ढलेको देखेर वृद्धा चिरा घिमिरेको आँखा रसायो। ‘गर्मी छल्ने जीवन थियो त्यो। अब गाउँलेहरू कहाँ 
जान्छन् ? हिजोसम्म खडा थियो, आज एकाएक ढल्यो। अब मेरो जीवनमा यहाँ ठाउँमा नयाँ वरपिपल फेरि देख्न पाइँदैन होला।’
उनको प्रश्न केवल व्यक्तिगत होइन, जलवायु परिवर्तनको प्रश्न हो। आज काटिएका सय वर्षका सासहरू भोलि रोपिने बिरुवाले कहिले फिर्ता दिन सक्छन् ?

देवता पनि विस्थापित
वर–पीपलको फेदमा रहेका सर्वसिद्धेश्वरनाथ महादेव र हनुमान मन्दिर पनि सडक विस्तारको चपेटामा परेका छन्। बर्दिबासका ७७ वर्षीय भवानीबहादुर थापा भन्छन्, ‘मठ–मन्दिर भत्काइँदैछन्, स्वच्छ अक्सिजन दिने वर–पीपल काटिँदैछन्। यसले भक्तजनको मन चिरिएको छ। मन्दिर बनाइदिने भन्छन् तर, कुन ठाउँमा बनाउने ? ठाउँको ठेगान छैन।’

मधेसको कैलास पर्वत टुटेश्वरनाथ महादेव मन्दिरका प्रचारक पूर्वप्रधानाध्यापक वासुदेव महतोका अनुसार वरपिपल मर्दा–पर्दा, पूजा–पाठ, जीवन–मरण सबैमा साथ दिने प्रतीक हुन्। आज ती धमाधम काटिँदै छन् विकासको नाममा।

रुख काट्न खटिएका कामदारका आँखामा पनि आँसु थियो। रुख काट्दै गर्दा सयौं मान्छेहरू वरिपरि जम्मा हुन्छन्। जहाँ रुख, जीवन र जगत्का कुरा हुन्छ। यसमा बालबच्चादेखि वृद्धवृद्धाहरू चासोपूर्वक रुखका बारेमा चर्चा गरिरहन्छन्। कसैले कसैलाई बोलाउँदैनन्। चियाखाजा, भत्ता पनि दिँदैनन् तर बर्दिबासका चिसा पसलहरूमा गम्भीर बहस भइरहेको छ बर्दिबास सहरमा हराउँदै गएका रुखहरूबारे। रुख कटानमा खटिएका उदयपुरका विष्णु सुनुवार, कमल श्रेष्ठ, सिरहाका समीर तामाङ भन्छन्, ‘रुख काट्नु हाम्रो काम हो, तर मन कहाँ मान्छ र ? विकल्प छैन।’

विकास र हरियालीको द्वन्द्व
बर्दिबासका पुर्खाहरूले आजको दिन हेरैरै रुख लगाएका थिए सहरमा, जलवायु परिवर्तन अनुकूलनका लागि। बर्दिबासका अगुवा दलबहादुर खत्री, रामबहादुर न्यौपाने, कान्छा काफ्ले, कृतिनारायण श्रेष्ठ, नहरी गौतमलगायतले सार्वजनिक स्थानहरूमा वरपीपलका रुख रोखेका थिए।
सब–डिभिजन वन कार्यालयका वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीका अनुसार एसियन हाइवे सरकारको प्राथमिकतामा छ। महोत्तरीमा १७ वटा वर–पीपलसहित ६ हजार २७ वटा रुख काट्ने अनुमति छ। इन्जिनियर ऋतिक कर्ण भन्छन्, ‘६ लेन सडक बन्छ, डिभाइडरमा फूल र फुटपाथमा रुख रोपिन्छ।’ तर बर्दिबास आज सोधिरहेको छ— रोपिने बिरुवा र ढलेका देववृक्ष बराबर हुन सक्छन् ?

वर–पीपल केवल रुख थिएनन्। ती छायाँ थिए, सास थिए, संस्कार थिए। जलवायु संकटको यो युगमा, बर्दिबास सहरले फेरि त्यो जवान वर, पीपल, समिको रुख कहिले पाउँछ ?
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.