सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारको प्रतिबद्धताः विकासको बाकसदेखि ५ हजारलाई रोजगारीसम्म
सिन्धुपाल्चोक : आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भाग दिने उम्मेदवारले फागुन ३ गते भित्र घोषणापत्र सार्वजनिक गर्नुपर्ने निर्वाचन आयोगको प्रावधान अनुरूप सिन्धुपाल्चोकको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले आइतबार घोषणापत्र सार्वजनिक गरेका छन्।
नेपाल पत्रकार महासंघको सभाहल चौतारामा नेकपाका उम्मेदवारले सार्वजनिक गरेको घोषणापत्रमा विकासको बाकसदेखि ५ वर्षमा ५ हजारलाई रोजगारी दिनेसम्मको महत्वकांक्षी योजना समेटेका छन्। प्रतिबद्धता पत्र सार्वजनिक गर्दै प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार माधव सापकोटाले आफू निर्वाचित भए ५ वर्षमा ५ हजार हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए। ‘पर्यटन, कृषि, रोजगार, शिक्षा र पूर्वाधारमा व्यापक विकास गर्ने मेरो लक्ष्य छ’, सापकोटाले भने– ‘पर्यटन तथा सूचना प्रविधि क्षेत्रबाट ५ हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित काम गर्नेछु।’
सापकोटाको प्रतिबद्धता पत्रमा गुणात्मक कानुन निर्माण गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने, अरनिको राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, तातोपानी नाकालाई थप व्यवस्थित र प्रभावकारी बनाउने, विद्यालयमै सीप प्रदान गर्ने र प्लस टु गरेपछि रोजगारी प्रदान गर्ने, स्वास्थ्य सेवामा पहिलो अधिकार प्रदान गर्ने, डिजिटल सिन्धुपाल्चोक बनाउने, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, विपद् व्यवस्थापन र जलवायुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, जलस्रोत र ऊर्जा विकास गर्ने, विदेशमा रहेका नेपालीका अधिकार र अवसर सुनिश्चितता गर्ने विषयलाई मुख्य प्राथमिकता दिइएको छ।
‘हामी सांसदको मुख्य भूमिकाको बारेमा बहस गर्दैनौं, सांसदको भूमिका ऐन नियमको निर्माण गरी कार्यान्वयनमा ल्याउनु हो’, उनले भने– ‘तसर्थ सांसदले मन्त्री हुने व्यवस्थाको अन्त्य गर्ने नीति अख्तियार गर्ने मेरो लक्ष्य छ।’ सांसदले स्थानीयको मुद्दालाई जिम्मेवार भएर विषय उठान गर्ने हो भने जनपक्षीय काम गर्न सकिने उनको धारणा थियो।
विदेशमा रहेका नेपालीका मताधिकार सुनिश्चितता गर्नु पर्ने भन्दै उनले ‘नोट चल्ने, भोट नचल्ने’ वर्तमान व्यवस्थाको अन्त्य गरी बसेकै देशबाटै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न निरन्तर पैरवी गर्ने बताए। ‘हामीले जनमुखी योजना अघि सारेका छौं, जसले ठूला आश्वासन हैन स्थानीयको मुख्य समस्यालाई सम्बोधन गर्नेछ’, उनले भने– ‘यो बाचालाई म पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँछु।’
आफू यस अघि सांसद हुँदाको ३३ महिनामा तातोपानी नाका पुनः सञ्चालन, अरनिको राजमार्ग स्तरोन्नति, जुरे पहिरो पीडितलाई दशकपछि न्याय, दुर्गम गुम्बा गाउँमा पहिलो पटक बिजुली, जुगल हिमाल पर्यटनको नयाँ युग र तीन वर्षमा सात अर्बभन्दा बढी बजेट क्षेत्रमा भित्र्याउने काम गरेको स्मरण गर्दै उनले यस्ता कार्यलाई निरन्तरता दिने बताए। ‘विद्यालयमा सांसद, संसदमा विद्यार्थी’ अभियानबाट सयौं विद्यार्थीलाई संसदीय प्रक्रियासँग जोडें। जलवायु संकटमा युवा पुस्ताको पीडा अन्तर्राष्ट्रिय मञ्चमा उठाएँ। मैले ३३ महिनाको संसदीय यात्रामा किसान, युवा, विद्यार्थी र स्थानीय मुद्दालाई प्राथमिकता दिएँ। यसलाई पुनः निरन्तरता दिँदै रचनात्मक भूमिका निर्वाह गर्नेछु’, उनले भने।
त्यस्तै क्षेत्र नं. २ का उम्मेदवार युवराज दुलालले सुशासन, विकास, कृषि, पर्यटनलाई प्रतिबद्धता पत्रमा समावेश गरेका छन्। ‘बाकासभरी भोटः बाकसभरी विकास’ मुख्य नारा अघि सार्दै उम्मेदवार दुलालले विकासको बाकस परियोजना– २ लाई लागु गर्ने बताए। ‘प्रदेश सांसद र विभिन्न मन्त्रालयको मन्त्रीको रूपमा मैले बिताएको ८ वर्षमा सदैव विकासको मुद्दालाई प्राथमिकता दिएँ’, उनले भने– ‘अब नीतिगत सवाल र संसदमा जनताको पक्षमा नीति नियम बनाई दिगो एवं योजनाबद्ध विकासमा मेरो प्राथमिकतामा रहनेछ।’
दुलालले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विज्ञहरूको मन्त्रिपरिषद् निर्माणमा जोड दिने, विकासको बाकस परियोजना– २ लागु गर्ने, व्यवस्थित शहरी पूर्वाधारको विकास गर्ने, पाँचपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित गर्ने, किसान, युवा र उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने, विभिन्न खेलकुद विकासका कार्यक्रम लागु गर्ने, किसानमैत्री कानुन निर्माण एवं कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने, बाँदर, बँदेल, दुम्सी, मृगजस्ता जंगली जनावरबाट कृषि बाली रक्षा तथा कृषि उपजको समर्थन मूल्य र बजारीकरणको सुनिश्चित हुने गरी कानुन निर्माण गर्ने विषयलाई मुख्य प्राथमिकता दिइएको छ।
‘म नेपाली नागरिकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अगाध विश्वास र आस्था राख्छु। सबै जाति, भाषा, धर्म र संस्कृतिप्रति उच्च सम्मान गर्दै नागरिकको धार्मिक आस्था र मौलिक संस्कृतिको संरक्षणमा दृढ रहँदै सामाजिक सद्भाव कायम राख्न सदैव प्रतिबद्ध छु’, उनले भने– ‘एक जनप्रतिनिधिको रुपमा संविधानको कार्यान्वयन, कानुन निर्माण र योजनाबद्ध दिगो विकासका कार्यमा निरन्तर क्रियाशील रहनेछु।’
प्रदेश सभा र प्रदेश सरकारबाट कानुन निर्माण, विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै दुलालले जनप्रतिनिधि कुनै एक पार्टीको प्रतिनिधि होइन र हुन हुँदैन भन्ने दृष्टिकोणसहित साझा जनप्रतिनिधिको रुपमा प्रतिनिधि सभा सदस्य भई काम गर्ने बताए। ‘मैले चुनाव जित्नको लागि मात्रै सस्तो नारा अघि सारेको छैन’, दुलालले भने– ‘मतदाताले जनप्रतिनिधिको अनुभूत गर्ने गरी कामको योजना सार्वजनिक गरेको हुँ।’
अरू राजनीतिक दल र उम्मेदवारहरूलाई कटाक्ष गरी गाली गर्ने, आलोचना गर्ने फुर्सद नभएको बताउँदै दुलालले आफ्नो प्रतिबद्धता र विकासको स्पष्ट खाका लिएर मतदातासमक्ष जाने बताए। ‘अहिलेको मुख्य समस्या भनेको पारदर्शिता, सुशासन कायम गर्न नसक्नु र विकासको मुख्य खाका कोर्न नसक्नु हो, म यी विषयमा सदैव गम्भीर रही योजनाबद्ध काम गर्नेछु’, दुलालले भने– ‘कसैलाई कटाक्ष गर्ने फुर्सद छैन, मेरो एकमात्र अर्जुनदृष्टि विकास र सुशासनमा छ।’ यो चुनावमा मतदाताले ठीक कामका लागि ठीक उम्मेदवारलाई मत दिनेमा विश्वस्त रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !