नेपाल–भारत १३३ किलोमिटर खाली खुट्टा पैदलयात्रा
न घरको चिन्ता न परिवारको फिकिर। टाउकोमा कपडाको मोटरी र हातमा लाठी र कमण्डल। अनि खाली खुट्टा १५ दिन १३३ किलोमिटरको यात्रा। ७६ वर्षीय मिसरु मण्डल यस कठिन यात्राका लागि तयार छन्। मण्डलको शरीर केही वृद्ध भए पनि उनमा मध्यमा परिक्रमाप्रतिको आस्था र विश्वास अटुट छ। बाटोमा भेटिने कठिनाइ र बाधक तत्वहरूलाई उनको श्रद्धाले चुनौती दिनेछ र आस्थाको विजय हुन्छ भन्ने विश्वास छ।
‘म पहिला पनि परिक्रमामा दुई तीन पटक सहभागी भइसकेको छु। सीतारामको नाम लिएर अगाडि बढ्दै गयो भने न खुट्टामा ढुंगा, रोडाको चोट लाग्छ न त घामपानीले नै गाहे हुन्छ। यो त उत्सव र उल्लास हो। १५ दिन बितेको पत्तै हुँदैन,’ परिक्रमामा सहभागी हुन आइतबार नै भारतको सीतामढीबाट जनकपुर आइपुगेका मण्डल भन्छन्, ‘हाम्रो बुवा र त्योभन्दा पहिला दादाहरू पनि यस परिक्रमामा सहभागी भएका हुन्। म सानो हुँदा बुवासँगै परिक्रमामा आउथे तर, अहिले बीचमा केही वर्ष आइन। अब यो बुढेसकालमा फेरि यात्रामा सहभागी हुनेछु।’
सोमबारबाट विधिवत् रूपमा मिथिला मध्यमा परिक्रमा सुरु हुँदैछ। यस परिक्रमामा नेपाल र भारतका लाखौं यात्रुहरूको सहभागिता हुनेछ।
मिथिलामा फगुनहट (फागुन महिनामा बग्ने हावा) सुरु भएदेखि मध्यमा परिक्रमाको तयारी पनि सुरु हुन्छ। परिक्रमामा सहभागी हुनेहरू नयाँ लुगाको जोहो गर्छन्। १५ दिनका लागि चाहिने अन्न, कपडा र आवश्यक सरसामग्री पोको पार्छन् र त्यसपछि सुरु गर्छन् आस्था र विश्वासको कठिन यात्रा।
मिथिलाञ्चलको भूभाग नेपाल र भारत दुवै देशमा छ। जसलाई यस मध्यमा परिक्रमाले समेत प्रमाणित गर्छ। दुई देशबीचको राजनीतिक र कूटनीतिक सम्बन्ध बाहेक धार्मिक र सांस्कृतिक सम्बन्धले बनाएको यो यात्रा धार्मिक पर्यटन प्रवद्र्धनको लागि कोशेढुंगा साबित हुन पर्याप्त सम्भावना रहेको छ।

- परिक्रमामा नेपाल र भारतका गरी १० लाखभन्दा बढी श्रद्घालु सहभागी हुने अनुमान।
- परिक्रमा १५ दिनमा १३३ किलोमिटर पैदल यात्रा गरेर सम्पन्न गरिन्छ।
यसरी सुरु भयो परिक्रमा
देवी देवताको जन्मस्थान, धार्मिकस्थल र स्वर्गवास भएका पितृहरूको परिक्रमा गर्नु सनातन परम्परा मानिन्छ। आदर्श नारी सीताको जन्मभूमि जनकपुरधामको परिक्रमा यसै परम्पराको निरन्तरता हो। बृहत्विष्णु पुराणमा वर्णित मिथिला महात्म्यको तेस्रो अध्यायमा तीन प्रकारका परिक्रमाको विषयमा उल्लेख गररिएको छ।
‘परिक्रमापि त्रिविधा बृहती मध्यमा लघु ।
मार्गशीर्षेऽथवा माघे फाल्गुने माधवेपिऽवा।।’
अर्थात्, बृहत्, मध्यमा र लघु तीन प्रकारका परिक्रमा गर्ने परम्परा हिन्दु धर्ममा रहिआएको छ।
जुन कि अग्हन, माघ—फागुन र वैशाखमा हुने गर्दछ। बृहत् परिक्रमाको अर्थ कौशिकी अर्थात् कोशी नदीको स्नान गरी सुरु हुन्छ र श्रद्धालुहरूले दक्षिणमा गंगा, पश्चिममा गण्डकी र उत्तरमा हिमालय तलको मिथिलाको भूमि हुँदै कोशी नदीमा नुहाएर परिक्रमा सम्पन्न गर्छन्।
मिथिलामा हुने १५ दिवसीय परिक्रमा मध्यमा हो। यसलाई ८४ कोस परिक्रमा, माध्यमिकी परिक्रमा र मिथिला परिक्रमासमेत भन्ने गरिन्छ। यो मिथिलाको राजधानीको परिक्रमा हो भने अन्तरगृह परिक्रमा राजा जनकको दरबारको परिक्रमा हो भन्ने विश्लेषण छ। धर्मग्रन्थहरूमा मध्यमा परिक्रमाको विषयमा उल्लेखित भए पनि यो शास्त्रमै सीमित भएको थियो।
१८१० सालको सेरोफेरोमा सियालाल शरण परमहंस नाम गरेका सिद्ध साधु भए। जो जनकपुरको रत्नसागर मठछेउको फूलबारीमा बस्थे। उनले सो बेला मिथिलाको परिक्रमा गर्ने योजना बनाए। सो बेला साधुहरूको एक समूह बनाएर ढोलक, झ्याली पिट्दै भजन कीर्तनसहित परिक्रमा सुरु भयो। तर, त्यक्तिबेला परिक्रमा सहज थिएन। बाटो जंगलको थियो। पैदलयात्रा गर्नु सहज थिएन। तर, ती आँटिला जोगीले भगवानको नाम लिँदै यस परिक्रमालाई जारी राखे। केही साधुसन्तले सुरु गरेको यो यात्रा हालसम्म अनवरत रूपमा चल्दै आएको छ।
‘हामीले हाम्रो बाजेहरूबाट सुनेका थियौं, परिक्रमा जाने साधुहरूलाई बाघले खाइदिएको कथाहरू,’ परिक्रमाको सुरुवात स्थल धनुषाको ठेरा कचुरीस्थित मिथिलाविहारी मन्दिरका महन्थ रामनरेश शरण भन्छन्, ‘परिक्रमामा सुरक्षा प्रदान गर्नका लागि मिथिलाविहारी मठलाई नेपाल सरकारले ६ जना प्रहरी जवान उपलब्ध गराएको थियो जो कि महन्थ र डोलाको सुरक्षा गर्दै परिक्रमा घुम्थे।’
परिक्रमा बृहत् हुँदै गएपछि जनकपुरको सीताकुण्ड भन्ने आ श्रमबाट मिथिला बिहारीको डोला परिक्रमामा सहभागी गराउने क्रम सुरु भएको थियो। मिथिलाविहारी भगवान् रामकै नाम हो। रामको डोला परिक्रमामा सहभागी हुन थालेको केही वर्षपश्चात् जनकपुरस्थित सीताकुण्डका साधुहरूलाई डोला सञ्चालन गरिराख्न कठिनाइ भयो र उनीहरू असमर्थ भए।
तर, सो साधुपरिवारकै सदस्यहरू धनुषाको ठेरा कचुरीमा पनि मठ सञ्चालन गरेर बसेका थिए र सोही बेलाबाट कचुरी मठका महन्थले मिथिलाबिहारीको डोला सञ्चालन गर्न स्वीकार गरेको जनकपुरको अग्निकुण्ड सुन्दरसदनका महन्थ नवलकिशोर दास बताउँछन्।
मिथिलाबिहारी अर्थात् रामको डोला परिक्रमामा सहभागी भए पनि जानकी जीको डोला सहभागी भएको थिएन्। सीता बिना राम अधुरो रहने हुँदा त्यतिबेला जनकपुरस्थित सुन्दरसदनका तत्कालीन महन्थ पण्डित रामदुलारी शरणजीले अग्निकुण्ड मठबाट जानकीजीको डोलाको स्थापना गरी परिक्रमामा जानकीको डोला सहभागी गराएका हुन्।
सुरुवातमा मध्यमा परिक्रमा पाँच दिनको मात्रै हुन्थ्यो। मिथिला महात्म्यमा उल्लेख गरिए अनुसार,
‘कलाणेश्वरमारभ्य निवसेद् गिरीजालये।
पुनर्जलेश्वरं गत्वा पुनः क्षरेश्वरं ब्रजेत।।
विश्रम्य धुनुषस्थाने पुनः कल्याणपीठके।
एवं पञ्चाह्मिकी प्रोक्ता मिथिलायः परिक्रमा।।’
अर्थात्, कलाणेश्वरबाट प्रारम्भ भई गिरिजास्थान, जलेश्वर, क्षीरेश्वर र धनुषाधाममा वि श्राम गरेर पाँचौं दिन पुनः कलाणेश्वर फिर्ता आउने पाँच दिवसीय परिक्रमा गरिन्थ्यो। तर, समयावधि छोटो भएकाले वृद्धवृद्धाहरू र बालबालिकालाई परिक्रमामा कठिनाइ हुन थालेपछि साधुसन्तहरूले यसलाई १५ दिवसीय बनाउने निर्णय गरे।
धनुषाको कचुरीस्थित मिथिलाबिहारी मठबाट आरम्भ हुने परिक्रमा भारतको कलाणेश्वर महादेव स्थानबाट विधिवत् रूपमा संकल्पित भई सुरु हुन्छ। परिक्रमावासीहरू पूर्णिमाको दिन जनकपुरधामको अन्तरक्रिया परिक्रमा गरेर यस यात्राको समापन गर्छन्। अन्तरगृह परिक्रमा जनकपुरको पाँच कोसको परिक्रमा हो। आधनुनिक जनकपुरका अभियन्तामध्येका एक मौनीबाबाले तत्कालीन नेपाल सरकारसँग स्वीकृति लिएर अन्तरगृह परिक्रमा सडक विस्तार गरेका थिए।
मध्यमा परिक्रमाका विषयमा थुप्रै किंवदन्तीहरू पनि छन्। केही कथाहरूमा भनिन्छ, भगवान् राम अयोध्याबाट जनकपुरसम्म आउँदा जुन बाटोहरू भएर आएका थिए तिनलाई नै परिक्रमाका पडाव बनाइएका छन्। नेपाल र भारतको १३३ किलोमिटर लामो यस यात्राले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको ठम्याइँ छ। नेपालको १०७ र भारतको २६ किलोमिटर भूमिमा यात्रीले पैदलयात्रा गर्ने परम्परा छ।
कचुरीको मिथिला बिहारी मठबाट सुरु भएर भारतको कलानेश्वर, फूलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन र धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा हुँदै पुनः भारतको करुणा, बिसौल र कलानेश्वर हँदै फागुन पूर्णिमाको पूर्वसन्ध्यामा परिक्रमावासी जनकपुर फिर्ता आउने गर्छन्।
व्यवस्थापनमा छैन चासो
आन्तरिक तथा बाह्यगरी करिब १० लाखभन्दा बढी पर्यटक सहभागी हुने यस धार्मिकयात्राको व्यवस्थापनतर्फ तीन तहकै सरकारले खासै ध्यान पु¥याएको छैन। जसले गर्दा सहज रूपमा उल्लासमय हुनुपर्ने यात्रा बिजुली, पानी, शौचालय र बासस्थानको कठिनाइ र असहजताका बीच सम्पन्न हुने गर्दछ। परिक्रमाका पडावस्थलहरूलाई खासै व्यवस्थित गर्न नसकिएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह स्वीकार्छन्। ‘हामीले स्थानीय सरकारहरूसँग समन्वय गरेर यस परिक्रमालाई व्यवस्थित र परिक्रमावासीलाई सहजता प्रदान गर्ने कामहरू त गरेका छौं तर, यसलाई थप आकर्षक र विश्वव्यापी बनाउन जुन खालको लगानी हुनुपथ्र्यो।
त्यसमा कसैको ध्यान गएको छैन,’ अध्यक्ष साह भन्छन्, ‘लाखौं पर्यटक भित्रिने यस परिक्रमालाई व्यवस्थित बनाउन मधेस प्रदेश सरकारको कुनै योजना नै छैन। उनीहरूको त ध्यान नै पुगेको छैन। अन्य क्षेत्रमा अनावश्यक बजेट विनियोजन गर्ने सरकारले यस धार्मिक पर्यटनको बढावाका लागि ठोस रणनीति अपनाउनु आवश्यक छ।’ भौतिक कठिनाइहरूका बाबजुद आस्थाको यो यात्रा निरन्तर चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !