प्रतिनिधि सभा निर्वाचन-२०८२

माओवादीको विरासत भत्काउने, आफ्नो जोगाउने चुनौतीमा जनार्दन

माओवादीको विरासत भत्काउने, आफ्नो जोगाउने चुनौतीमा जनार्दन

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको चार दशक बढी लामो सम्बन्धमा ‘ब्रेक’ लगाउँदै अलग्गिएका नेता जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिमबाट फागुन २१ को प्रतिनिधिसभा चुनावको मैदानमा छन्।

नेता शर्मा यसपटक नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट चुनावमा होमिएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग्गिएका जनार्दन यसपटक आफ्नै अगुवाइमा निर्माण भएको नयाँ दल प्रलोपाबाट छैटौंपटक चुनाव जित्ने चुनौतीमा छन्।

गृहजिल्ला रुकुम पश्चिमका मतदाता रिझाइरहेका शर्माले यसअघि सोही क्षेत्रबाट पाँचपटक विजयको स्वाद चाखिसकेका छन्। यसपटक उनको मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता पूर्वसहयात्री गोपाल शर्मा र कांग्रेसका राजु केसीसँग हुने देखिएको छ। २०६४ सालयताका निरन्तर चुनाव जित्दै आएका शर्मा माओवादीको विरासत भत्काउँदै आफ्नो व्यक्तिगत विरासत भने जोगाउने चुनौतीमा घेरिएका छन्।

नयाँ दलबाट चुनाव लड्दै गरेका शर्माको भिड्न्तको यो छैटौं प्रतिस्पर्धाका कारण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी रूकुम पश्चिममा बढेको छ। प्रचण्डले एकीकृत समाजवादीसहितका कम्युनिस्ट घटकहरूसँग एकता गरेपछि जनार्दन शर्मा अलग्गिएर प्रलोपा गठन गर्दै चुनावमा होमिएका हुन्। विगतका सहयात्री गोपाल शर्माबीचसँग जनार्दनको मुख्य प्रतिस्पर्धाले रुकुम पश्चिमको चुनावी समीकरण रोचक बनाइदिएको छ। जनार्दनलाई नेकपा एमाले रूकुम पश्चिमले सघाउने निर्णय गरेको छ। जसले जनार्दन शर्मालाई चुनावी मैदानमा बल प्रदान गरेको छ। 

२०७९ सालको निर्वाचन तथ्यांक हेर्दा रूकुम पश्चिममा वामपन्थी मत बलियो देखिन्छ। कांग्रेसले ८,७६६, नेकपा एमालेले १९,७४९, तत्कालीन नेकपा माओवादी केन्द्रले ३४,३४७, तत्कालीन नेकपा समाजवादीले १,५१०, राप्रपाले ५९३ र रास्वपाले १,८६१ मत प्राप्त गरेका थिए। वाम मत विभाजन भए परिणाम फरक पर्न सक्ने अनुमान गरिएको छ। शर्मा नेकपाबाट बाहिरिए पनि माओवादी आधार क्षेत्रमा उनको व्यक्तिगत प्रभाव अझै बलियो रहेको मानिन्छ। एमालेले दिएको साथले शर्मालाई थप राहत दिएको छ।

कांग्रेसले भने विगतको मत आधार र असन्तुष्ट वाम मत तान्ने रणनीति बनाएको छ। त्यस्तै, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर मानबहादुर शाही पनि युवा माझ प्रभाव बढाउने प्रयासमा छन्। यस्तै, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका धनबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, नेकपा माओवादीका चन्द्र बुढा, नेकपा संयुक्तका शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी र आमजनता पार्टीकी प्रेमा दमाई नेपाली पनि चुनावी मैदानमा छन्। यी उम्मेदवारहरूबाट मत काट्ने सम्भावनाले मुख्य प्रतिस्पर्धीलाई चुनौती थपिएको छ।

ढुक्क जनार्दन
जनार्दन शर्मा २०६४ यता जिल्लामा निरन्तर पाँच चुनाव जितेका प्रभावशाली नेता हुन्। २०७१ मा सार्वजनिक लेखा समिति सभापति, २०७३ मा ऊर्जामन्त्री, २०७४ मा बिनाविभागीय मन्त्री हुँदै २०७४ मा प्रतिनिधिसभा सदस्य तथा सोही वर्ष गृहमन्त्री एवं २०७८ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर जनार्दनले पाएका थिए।

उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो जितलाई निरन्तरता दिए। शर्माले विकास–निर्माण, ऊर्जा र पूर्वाधारका क्षेत्रमा योगदान दिएको दाबी गर्दै आएका छन्। उनले अहिले पनि जनमत आफ्नै पक्षमा बलियो रहेको दाबी गरेका छन्। उनले अहिले विगतमा आफूले गरेका कामको विश्लेषण र समीक्षा, नयाँ कामका योजनाका विषयमा मतदाताहरूसँग भेटघाट र छलफल गर्ने काममै रहेको बताए। 

चुनाव प्रचार–प्रसारको अवधि सुरु भएकाले अहिले आफू मतदाताको चाहना, आवश्यकताका विषयमा छलफल गर्दै सुझाव संकलनका क्रममा जनतासँगै रहेको बताउँदै राष्ट्रको संकट र संविधानको रक्षाका विषयमा मतदाताहरूलाई जानकारी गराइरहेको 
पनि बताए।  आफैंले आफ्नोबारेमा बोल्नु उचित नहुने बताउँदै उम्मेदवार शर्माले भने, ‘अहिलेसम्म जति जनासँग भेटघाट र छलफल गरियो, जनताको मनमा जनार्दनलाई जिताउनै पर्छ भन्ने पाएँ, यसले उत्साहित बनाएको छ।’

भूकम्प, कोरोना महामारीलगायत जनतालाई दुःख पर्दा गरेको सेवा र सक्रियताका कारण पनि मतदाताले ‘जनार्दनलाई भुल्न–बिर्सन सकिँदैन’ भनेर मतदाताले भन्ने गरेको सुनाउँदै उनले भने, ‘सबैले तपाईंको जित सुनिश्चित छ भन्नुभएको छ, म मात्र होइन, मतदाता नै जित सुनिश्चित छ भन्नेमा ढुक्क हुनुहुन्छ।’  २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जनार्दन शर्मा रूकुम पश्चिमबाट भारी मतले विजयी भएका थिए।

त्यसयता २०७९ सम्म आइपुग्दा जनार्दन संघीय संसद्मा निरन्तर रहे। २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा भारी मतका साथ सांसद चुनिएका शर्माको यो नयाँ दलमार्फत छैटौं चुनावी प्रतिस्पर्धाले कस्तो परिणाम देला त्यो भने कौतूहलताको विषय बनेको छ। जनार्दन शर्मा विगतदेखि नै पार्टीभित्र प्रश्न उठाउन सक्ने, युवाको भावना बुझ्न सक्ने, प्रस्ट छवि, विकासका ‘सेतु’ र विषम परिस्थितिमा समेत जनताको सुख–दुःखमा साथ दिने नेता मानिन्छ। 

जनार्दनलाई पूर्वसहकर्मीकै चुनौती
रूकुम पश्चिमबाट लगातार चुनाव जितिरहेका जनार्दनलाई यसपटक उनकै पूर्वलडाकु तथा सहकर्मी गोपाल शर्मा चुनौती बनेका छन्। पार्टीमा आएको फुटका कारण जनार्दन शर्मा र गोपाल शर्मा एक–अर्काको प्रतिस्पर्धी बनेका छन्। जनयुद्धदेखि नै माओवादीको आधार इलाका रहेको रूकुम पश्चिममा गणतन्त्रपछिका निर्वाचन तत्कालीन माओवादीले नै जित्दै आएको छ। तर, अबको १६ दिनपछि हुने चुनावमा जनार्दन फरक कित्तामा उभिँदा चुनावी माहोल रोचक बनेको हो।

२०७९ को स्थानीय तहको निर्वाचनमा रूकुम पश्चिमका ६ स्थानीय तहमध्ये चारवटा पालिका प्रमुख तथा अध्यक्षमा तत्कालीन माओवादी केन्द्रबाट रहेका छन्। दुईवटा कांग्रेसबाट निर्वाचित छन्। विगतदेखि माओवादीको पकट क्षेत्र रहेको भन्दै नेकपाका गोपाल शर्मा चुनाव जित्नेमा ढुक्क छन्। नेकपा उम्मेदवार शर्माले रूकुम पश्चिम कम्युनिस्टको गढ भएकाले व्यक्तिभन्दा पनि संगठनका कारण पार्टीले मत पाउने दाबी गरेका छन्।

आफूहरूले नै जनार्दनलाई शक्तिशाली नेता बनाएको दाबी गर्ने गोपाल तिनै नेता हुन् जसले जनार्दन सांसद निर्वाचित भइरहँदा जिल्लामा पटक–पटक पार्टी र निर्वाचनको कमान्ड सम्हालेका थिए। उनै गोपाल शर्मा र जनार्दनको राजनीतिक यात्रा मोडिएको मात्र छैन, सम्बन्ध नै टुटेको छ। जनार्दनलाई हरेक संकटमा साथ दिँदै आएका गोपाल यसपटक भने उनकै मुख्य प्रतिस्पर्धी बनेर चुनौती दिइरहेका छन्। हिजोसम्म जनार्दनलाई कसरी जिताउने भनेर योजना बनाउने चुनावी कमान्डर गोपाल अहिले जनार्दन हराउने रणनीति बनाउन व्यस्त छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.