विवादस्पद ‘चिनियाँ लामा’ हटाउने निर्णय उल्ट्याइयो
निर्वाचनसँग असम्बन्धित विषयमा आयोगको हस्तक्षेप
काठमाडौं : बौद्धनाथ स्तूपअन्तर्गतको बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख पुजारी ‘चिनियाँ लामा’ भूपति बज्र लामालाई पदबाट हटाउने गुठी संस्थानको निर्णय निर्वाचन आयोगले उल्टाइदिएको छ। निर्वाचनसँग प्रत्यक्ष सरोकार नराख्ने विषयमा आयोगले हस्तक्षेप गरेको भन्दै निर्णय विवादमा परेको छ।
गुठी संस्थानको सञ्चालक समितिले गत माघ ९ गतेको बैठकबाट नियुक्तिदेखि नै विवादमा मुछिँदै आएका भूपति बज्र लामालाई पदमुक्त गर्ने निर्णय गरेको थियो। तर, लामालाई पदबाट हटाउने निर्णय तथ्यपरक, न्यायसंगत तथा निर्वाचनको स्वच्छता र निष्पक्षताको सिद्धान्तअनुकूल नरहेको दाबी गर्दै निर्वाचन आयोगले सो निर्णय बदर गरेको हो। माघ ४ देखि निर्वाचन आचारसहिंता लागेको हो। यो विषयमा निर्वाचनसँग कुनै सरोकार नै राख्ने हुँदा निर्वाचन आचारसंहितासँग जोडिनु आवश्यक नरहेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन्।
लामाको तर्फबाट परेको उजुरीका आधारमा आयोगले २०८२ माघ २५ गते निर्णय गर्दै साविककै पदमा पुन: बहाल गर्न अनुरोध गरेको छ। सो निर्णयअनुसार २७ भित्र जानकारी गराउन गुठी संस्थानलाई निर्देशन दिइएको छ।
आयोगले गुठी संस्थानले २०८२ पुस २३ गते गठन गरेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा खोजबिनसम्बन्धी उपसमितिको प्रतिवेदनको आधार नलिई धर्मगुरुलाई हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। आयोगका अनुसार माघ ९ गतेको निर्णय तथ्यपरक र न्यायसंगत देखिँदैन।
तर, भूपति बज्र लामा नियुक्ति भएदेखि नै विभिन्न विवादमा तानिँदै आएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूपसँग जोडिएका विवादमा उनको नाम लामो समयदेखि आइरहेको छ। नियुक्तिपछि गुठी जग्गाको संरक्षण नगरेको, गुम्बाको उचित व्यवस्थापन नगरेको तथा बौद्धनाथ क्षेत्र विकास समिति र गुठीबीच स्वामित्व विवाद चुल्याएको आरोप उनीमाथि छ।
यस्तै, स्तूपमा उठेको भेटी दुरुपयोग गरेको, जथाभावी प्वाल पारेको, गुम्बामा नियमित नबस्ने तथा पदीय आचरणविपरीत गतिविधि गरेको आरोपसमेत उनीमाथि लगाइएको छ। छानबिनपछि दोषी देखिएको भन्दै नै गुठी संस्थानले उनलाई पदबाट हटाएको दाबी गरेको थियो। पुन: नियुक्तिको क्रममा तत्कालीन भूमि व्यवस्थामन्त्रीलाई घुस बुझाएको आरोप, शंकास्पद नागरिकता सच्याइएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको प्रसंग तथा कूटनीतिक राहदानी दुरुपयोगको आरोपसमेत लामामाथि लाग्दै आएको छ।
बौद्धनाथ परिसरमा रहेको ‘बुद्धचित्त’ बोटका दाना टिप्ने विषयलाई लिएर पनि ठूलो विवाद भएको थियो। पछिल्लो समय भक्तालुहरूलाई स्तूपमा पठाउने क्रममा ५ देखि १० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको पनि उनी माथि आरोप छ। उनका गतिविधिले स्तूपको गरिमा र धार्मिक मर्यादामा आँच पुगेको भन्दै स्थानीयहरूले पटक–पटक विरोध जनाउँदै आएका छन्। गुठी कार्यालयमा तालाबन्दीसमेत गरिएको इतिहास छ। गुठी प्रमुख नियुक्तिमा पनि ठूलो चलखेल पनि हुने गरेको छ।
०७३ असार २१ गते भूपति बज्र लामा बौद्ध घ्याङ गुठीको प्रमुख ‘चिनियाँ लामा’ नियुक्त भएका थिए। नियुक्तिदेखि नै विरोध सुरु भएको थियो। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भूपति बज्र लामाकै कारण बौद्ध स्तूप लथालिङ भएको आरोप लगाउँदै आएका छन्। नियुक्तसँगै गुठी प्रमुख लामा र क्षेत्र विकास समितिका अध्यक्ष लामाबीच पनि विवाद रहँदै आएको छ। बौद्धनाथस्थित धार्मिक गुरुलाई परम्परागत रूपमा ‘चिनियाँ लामा’ भनिन्छ। गुठी संस्थानअन्तर्गत रहेको बौद्धनाथ स्तूपमा ‘चिनियाँ लामा’ नियुक्त गर्ने अधिकार गुठी संस्थानमै निहित रहेको छ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
