लागुपदार्थ सेवन गरी रात्रिबस चलाउने दुई दर्जन चालक पक्राउ
काभ्रे : रात्रिकालीन समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको विशेष लापसे (लागुपदार्थ सेवन) चेकजाँच सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अरनिको राजमार्ग र बीपी राजमार्गमा लापसे चेक अभियान नै चालाएको छ।
स्थानीय स्वास्थ्य संस्थाहरूको समन्वय तथा सहकार्यमा पाँचखाल नगरपालिका–४ स्थित अरनिको सडक खण्डमा रात्रिकालीन समयमा सञ्चालन हुने टिपरहरूलाई लक्षित गरी चेकजाँच गरिएको हो। प्रहरीले र्यापिड ड्रग टेस्ट किटमार्फत २५ जना टिपर चालकको परीक्षण गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक महेश्वर अधिकारीले जानकारी दिए।
परीक्षणका क्रममा ५ जना चालक लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको र उनीहरूलाई थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको अधिकारीले जानकारी दिए।
ट्राफिक प्रहरीले लापसे चेकजाँचलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने एक महिनादेखि अभियान नै चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनील धाजुले जानकारी दिए। प्रहरी र ट्राफिकको संयुक्त चेकजाँचमा एक महिनामा दुई दर्जन चालक लाई कारवाही गरिसकेको प्रहरी निरीक्षक धाजूले बताए। रात्रिकालीन समयमा हुने सवारी दुर्घटना न्यूनीकरण र सचेतना दिन अभियान जारी रहेको ट्राफिक कार्यालय काभ्रेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !