भ्रष्टाचारमा कांग्रेसले नेता वा नाता हेर्दैन : गगन


काठमाडौं : कांग्रेस सभापति गगनकुमार थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका छन्। कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिकपछि बिहीबार काठमाडौंमा भएको ‘सीधा प्रश्नोत्तर’ कार्यक्रममा सभापति थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका हुन्। 

‘हिजो प्रधानमन्त्री हुनुभएका नेताहरू, मन्त्री हुनुभएका नेताहरू वा तपाईंहरू आफैंले सम्हाल्नुभएको प्रत्येक पदमा भ्रष्टाचार गरेको खण्डमा कांग्रेसले अख्तियारको निर्णयलाई कार्यान्वयन गर्छ,’ थापाले भने, ‘यसमा कांग्रेसले नेता वा नाता हेर्दैन, र आयोगका सिफारिसका आधारमा नै कार्यान्वयन हुन्छ।’ प्रधानमन्त्री मातहत रहने गरी गभर्नेस ल्याब र प्रत्येक मन्त्रालयमा गभर्नेस युनिट स्थापना गर्ने उनले बताए।

सभापति थापाले राजनीतिक नियुक्तिमा दलको हैसियतले नभई योग्यता र क्षमता हेर्ने पनि बताए। कांग्रेसले संवैधानिक आयोग र विश्वविद्यालयमा भागबन्डा नगर्ने र त्यस्ता कुरा अब सुन्न नपर्ने प्रतिबद्धता व्यक्त गरिएको थापाले बताए। पद लिनुभन्दा अघि र पद मुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने योजना पनि कांग्रेसले अघि सारेको उनले बताए। गठबन्धनको राजनीतिले मुलुकको राजनीतिलाई नै दूषित बनाएको भन्दै सभापति थापाले कांग्रेसले कसैसँग गठबन्धनका लागि सम्झौता नगर्ने पनि स्पष्ट गरे। 

‘बदलिएर आएको कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौं। हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौं,’ उनले भने, ‘सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता गर्दैन। चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबन्डा हुँदैन हुन दिँदैनौं। यो बदलिएको कांग्रेसको संकल्प हो।’

थापाले संसारभर छरिएर रहेका नेपालीको ज्ञान, पुँजी र अनुभव देशको पुनर्जागरणमा खर्च गर्न कांग्रेसले पहल गर्ने र त्यसका लागि अभिभावकको भूमिका खेल्ने पनि बताए। उनले एनआरएनहरूलाई नेपालसँग जोड्ने काम हालसम्म अधुरो र अपूर्ण भएको पनि बताए। थापाले भने, ‘एक पटकको नेपाली सधैंको नेपाली हो।’ प्रवासमा रहेका नेपालीले नेपालमा रहेको पैतृक सम्पत्ति, मताधिकार र लगानीसम्बन्धी विषयसमेत घोषणापत्रमा समेटिएको बताए। आगामी निर्वाचनबाट बहुमत प्राप्त गरेर पार्टीको सरकार गठन भएको अवस्थामा गैरआवासीय नेपाली नागरिकतासँग सम्बन्धित ऐन र कानुन संशोधन गर्ने प्रतिबद्धता जनाए।

मुलुकको अर्थतन्त्र सुधारका आर्थिक पुनरुत्थानको दशक बनाइने थापाले बताए। उनले नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पु¥याउने लक्ष्य कांग्रेसले राखेको उल्लेख गरे। निजी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक पहल गर्नुपर्ने भन्दै थापाले भने, ‘नेपाल प्रो–प्राइभेट सेक्टर पार्टी हो।’ सभापति थापाले करका दरहरू १०/१५ वर्षसम्म स्थिर राख्न पहल गरिने बताए। उनले नीति र योजनामा निजी क्षेत्रले गल्ती गरे दण्डित गरिनुपर्छ भन्ने सोचलाई राज्यको दृष्टिकोणले परिवर्तन गर्नुपर्ने बताए। ‘सरकार बनेको तीन–छ महिनाभित्र कुन कुन कानुन बदल्ने भन्ने विषय घोषणापत्रमा लेखेका छौं,’ थापाले भने।

सभापति थापाले अबको ५ वर्षभित्र नेपाललाई दक्षिण एसियामा लगानी योग्य देश बनाउने लक्ष्य राखेको बताए। ‘यो कसैले बोलेर हुने कुरा होइन, यसका लागि नेपालले कर दरमा ठूलो परिवर्तन गर्नुपर्छ,’ उनले भने। थापाले ५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारे। उनले भने, ‘युवा साथीहरूले बिना धितो ऋण कसरी पाउने र त्यसको प्रयोग सुनिश्चित कसरी हुने भन्ने विषय पनि घोषणापत्रमा विस्तृत रूपमा समेटेका छौं।’ 

थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनालाई अस्वीकार गर्ने र त्यसको लाभ खाने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.