को हुन् ती ?

को हुन् ती ?
सुन्नुहोस्

एउटा घना जंगल। त्यहाँको दृश्य हो यो, जुन दृश्यलाई एक अनाम कविले आफ्नो कवितामा यसरी दृश्यांकन गरेका छन्– जंगलमा हात्ती, गैंडा, बाघ, सिंह, मृग, ब्वाँसो, स्याल, खरायोलगायतका जनावर बसोबास गर्थे। अन्य जंगलमा जस्तै त्यो जंगलमा पनि ‘सिस्टम’ थियो– राज्यव्यवस्थाको। एक किसिमले त्यहाँ पनि समाज थियो। समाज भएपछि वर्ग विभाजन हुने नै भयो। स्वभावत: त्यहाँ पनि जनावरको आआफ्नै वर्ग थियो। बलिया जनावरहरूको बलियो वर्ग, निर्धाहरूको निर्धो वर्ग। हात्ती–सिंहजस्ता जनावरहरू बलिया वर्गका थिए भने मृग, खरायोजस्ता जनावर निर्धो वर्गका।

तथापि, सबै जनावरको समझदारीमा त्यो जंगलमा पनि त्यहाँको राजा भनेर सिंहलाई तोकिएको थियो भने अन्य जनावर त्यो जंगलका प्रजा। सामान्यत: बलियाले निर्धालाई दबाउँछ नै। यही संस्कार त्यो जंगलमा पनि थियो। बलियो वर्गका जनावरलाई देख्नासाथ निर्धो वर्गका जनावरहरू त्रसित हुन्थे। कदाचित् बलियासँग निर्धाको भेट भयो भने भयले थरथर काँप्थे र सुइँकुच्चा ठोकिहाल्थे।

एक दिन! एउटा खरायो जंगलमा आफ्नो छिटो चालले हिँडिरहेको थियो। अचानक उसको अघिल्तिर सिंह देखापर्‍यो। देख्दैमा भयंकर! खरायोको सातोपुत्लो उड्यो। अप्रत्याशित थियो यो जम्काभेट। त्यसैले, ऊ भागिहाल्न पनि सकेन। र, पनि भाग्न खोज्यो। सकेन। भाग्न खोजेर पनि भाग्न नसक्नुको खास कारण थियो। हो, त्यो कारण उसको अघिल्तिरको सिंह। गजब के थियो भने सिंहको सधैं देखिने क्रूर अनुहार त्यतिखेर त्यस्तो थिएन, त्यहाँ गजबको मुस्कान थियो।

कस्तो अविश्वसनीय दृश्य! खरायो छक्क पर्‍यो किनकि सिंहको अनुहार यस्तो कहिल्यै देखेको थिएन उसले। मुस्कानले व्याप्त सिंहको त्यो मुस्कान अत्यन्तै आकर्षक थियो। लट्ठै पर्‍यो खरायो– त्यो मुस्कानको सामुन्ने। एकछिनलाई उसले बिर्सियो कि आफू एउटा निरीह खरायो हुँ, जो यतिखेर जंगलको राजा सिंहको अगाडि उभिएको छ।

अर्को क्षणमा, खरायोले सिंहको अनुहार ताकिरहँदा सामुन्नेको सिंह उही मुस्कानका साथ उसको नजिकै आयो। खरायोको हंसले ठाउँ छोड्यो। सोच्न लाग्यो, अब मेरो शरीर केही नरहने भयो यो धर्तीमा। ओहो, एकै गाँस पारेर खल्र्लप्पै निल्ने भयो यसो सिंहले मलाई! ‘हे भगवान्! तिमीले दिएको यो ज्यान अब तिमीलाई नै अर्पण गरें।’ मनमनै ईश्वर सम्झँदै खरायोले दुवै आँखा चिम्लियो र आफ्नो मृत्युको पल गन्न लाग्यो– एक... दुई... तीन...। केहीबेर दृश्य स्थिर भयो। हेर्दाहेर्दै त्यो क्षणको दृश्य बदलियो। आफूमाथि सिंहद्वारा यतिबेरसम्म पनि कुनै भौतिक आक्रमण नगरेको महसुस भएपछि उसले आँखा खोल्यो।

‘ओहो, यो के आठौं आश्चर्य!’ खरायो अचम्मित भयो, सिंह त आफ्नो सामु आफ्ना अघिल्ला दुवै हात (पञ्जा) जोडिरहेको पो थियो! ‘के यस्तो पनि हुन सक्छ दुनियाँमा ? जंगलका यति बलियो राजा सिंहले जाबो म एउटा निर्धोलाई हात जोडेको ?... कतै म भ्रममा त छुइनँ ?’ उसले सिंहको अनुहार नियाल्यो।

सिंहको मुस्कान झन् फैलिँदै गएको देख्यो। उसले बुझ्ने कोशिश गर्‍यो, यो के भइरहेछ यहाँ ? यसैबीच दृश्यमा थप रोमाञ्चकता पैदा भयो। भयो के भने, उसको नरम शरीरमाथि सिंहले आफ्ना दुवै पञ्जा बढायो। अब भने खरायोले आँखा चिम्लेर जीवनको अन्तिम श्वास झैं लामो र 
गहिरो नि:श्वास तान्यो।

तर, फेरि अर्को आश्चर्य! खरायोको शरीरमा सिंहले सुम्सुम्याइरहेको थियो। अपत्यारिलो किसिमले खरायोले आँखा खोल्यो र सिंहको अनुहार नियाल्यो, सिंहको मुस्कान अझै उस्तै थियो। र, हेर्दाहेर्दै सिंहले उसको शरीरबाट हात हटाएर फेरि उसरी नै जुम्ल्याहा हात जोड्यो। अनुहारको 
मुस्कान झन्–झन् फैलिँदै गयो।

अचानक! फैलिँदै गएको मुस्कानयुक्त सिंहको त्यो अनुहार एउटा मान्छेको अनुहारमा बदलियो। अनुहारमा मुस्कान लिएर हात जोड्दै अघिल्लो पटक झैं घरदैलोमै आइपुगेका छन् ती मान्छे। परैबाट चिन्दछु म तिनलाई। के, तपाईंले पनि चिन्नुभयो, को होलान् ती मान्छे ?
‘थुक्छन्, चाट्छन्। फेरि थुक्छन्, फेरि चाट्छन् तर पनि लाजघिन पचाएर सगौरव! राजनीतिको खेल खेलिरहन्छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.