सरकार र निर्वाचन आयोगलाई एमालेको चेतावनी : रास्वपाले चुनाव भाँड्न खोज्दैछ

मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र भइरहेका छन् : एमाले

मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्र भइरहेका छन् : एमाले
सुन्नुहोस्

निर्वाचन उल्लघंन कार्यप्रति निर्वाचन आयोगको उदासिनता र शैलीप्रति एमालेले गम्भीर आशंका व्यक्त गरेको छ।

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव भाँड्न खोजेकाले सरकारलाई सचेत बन्न चेतावनी दिएको छ। आज च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले प्रतिनिधि सभा निर्वाचनको समय नजिकिदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएपनि सरकारले  चुनावलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा बनाउन नसकेको टिप्पणी गरेको हो।

‘फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको छ। चुनावलाई भयरहित, स्वच्छ र निश्पक्ष वातावरणमा निर्वाचन समपन्न गराउने विषयमा सरकारले शान्ति सुरक्षाको वातावरणलाई भरपर्दो र विश्वासयोग्य बनाउन सकिरहेको छैन।’ एमालेले विज्ञप्तिमार्फत भनेको छ,‘मुलुकभर कुनै एक अमुक दलले नेकपा (एमाले) को आस्थाको केन्द्र 'सूर्य' ध्वजावाहक झण्डा जलाउने, मूल नेतृत्वप्रति घृणा फैल्याउने कार्यलाई तिब्र पारेको छ। मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रका रूपमा भएका अवाञ्छित गतिविधिप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ। यसतर्फ सरकार र सम्बन्धित निकायलाई जवाफदेही र उत्तरदायी बन्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एमाले जोड्दार माग गर्दछ।’

एमालेले ‘देश पहिला’का लागि जस्तोसुकै बलिदान दिन तयार रहेको प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बताए। ‘हामीले निर्वाचन घोषणा भए लगत्तै हजारौं कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले अवाञ्छित र अपराधिक क्रियाकलाप बढ्न सक्ने विषयप्रति पटक-पटक सरकारको ध्यानाकर्षण गराएको विदितै छ। पछिल्लो पटक अमुक दल जिन्दावादको नारासहित नेकपा ( (एमाले) को मूल नेतृत्वप्रति घृणा, सूर्य चिन्ह अंकित झण्डा जलाउने खालका गतिबिधिबाट हामीले गरेको पूर्वानुमान पुष्टि हुँदै गएको छ।’ एमालेले भनेको छ,‘देश पहिलाका लागि नेकपा (एमाले) जस्तोसुकै बलिदान दिन तयार छ। अनेकन कठिन अवस्थामा पनि धैर्य, संयमताका साथ आफ्ना एजेन्डा लिएर एमाले जनताको घरदैलोमा पुगेको छ।’

फागुन २१ को प्रतिनिधि सभा चुनावलाई नेकपा (एमाले) ले 'देश बनाउने र जलाउने' बीचको जनमत सङ्ग्रहको रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। ‘कथित नयाँको नाममा 'भोटफरचेन्ज' को भाष्य बिक्री हुन छोडेपछि अहिले देशैभर अभद्र व्यवहार, सर्वेक्षणको नाममा जनमतलाई प्रभावित गर्ने गरी फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने कार्यप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ,‘चुनावी परिणाम आफ्नो पक्षमा आउने सम्भावना नदेखेपछि निर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रका स्वरूप देशका विभिन्न भागमा हिंसा भड्काउने कामको थालनी भएको छ। समुदाय समुदायबीच अर्न्तविरोध सृजना गर्ने प्रयास गरिएको छ। जसको उदाहरण अहिले रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यूको  आदेश जारी गरिएको छ। यो घटना स्वच्छ, भयरहित र निर्भिक ढंगले मतदान गर्ने अधिकारको सुरक्षित गर्ने कार्यका लागि आम मतदाताका लागि प्रिय हुन सक्दैन।’

एमालेले देशमा शान्ति सुरक्षा, अमनचयन कायम हुन नसकेका कारण चुनाव भयरहित हुनेमा एमाले अझै विश्वस्त हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। निर्वाचन आचारसंहिताको गम्भीर उल्लघंन हुँदै बताउँदै एमालेले अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिन्ह अंकित टिसर्टहरु होली पर्वको मौका छोपी वितरण गरिनु त्यसका उदाहरणहरु भएको जनाएको छ। निर्वाचन उल्लघंन कार्यप्रति निर्वाचन आयोगको उदासिनता र शैलीप्रति एमालेले गम्भीर आशंका व्यक्त गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.