विदेशको पसिनाले जन्मथलो उज्यालो पार्दै

विदेशको पसिनाले जन्मथलो उज्यालो पार्दै

मुगु : रोजगारीका लागि बिदेसिने धेरैको सपना हुन्छ– राम्रो कमाइ गरेर आफ्ना परिवारलाई सुखसाथ राख्ने। तर मुगुको छायाँनाथ–रारा नगरपालिका–१३ थार्प गाउँका ४६ वर्षीय अक्कल बोहोरा भने फरक उदाहरण बनेका छन्। हाल स्पेनमा रहँदै आएका बोहोराले विदेशमा दुःख गरेर कमाएको रकम आफ्नै गाउँ–समाजको विकासमा निरन्तर खर्च गर्दै आएका छन्।

बोहोराले ‘अक्कल कोपिला फाउन्डेसन’मार्फत असहाय, विपन्न तथा दैवीप्रकोप पीडित परिवार, विद्यार्थी आर्थिक अभावले उपचार गर्न नपाएका  सहयोग गर्दै आएका छन्। नगरपालिकाभित्रका थार्प, रुगा, बाम, सोवा, चराप, कार्कीबाडा, रञ्जनबालै कम्फालगायत गाउँमा उनले लाखौं रुपैयाँ खर्च गरेर पदमार्ग, खेलमैदान, प्रवेशद्वार, सार्वजनिक खानेपानी धारा, आरसीसी बाटो तथा विद्यालय सहयोगका काम सम्पन्न गरेका छन्।

छायाँनाथ रारा नगरपालिका–१३ को रुगा गाउँमा १५ लाख रुपैयाँभन्दा बढी खर्चेर आरसीसी बाटो निर्माण गरिएको छ। थार्प गाउँको मष्टा मन्दिरदेखि मालिका तीर्थस्थलसम्म करिब ३ किलोमिटर लामो ढुंगे सिँढीसहितको धार्मिक पदमार्ग निर्माण भइरहेको छ। हालसम्म ५० लाख रुपैयाँ खर्च भइसकेको उक्त योजनामा सम्पन्न गर्न  १ करोड रुपैयाँभन्दा बढी लाग्न अक्कल कोपिला फाउन्डेसनका   सस्थापक अक्कल बोहोराले जानकारी दिएका छन्।

यसैगरी, वडा नम्बर १२ को सोवा गाउँको विद्यालयमा ४५ लाखभन्दा बढीको लागतमा खेलमैदान निर्माण गरिएको छ। यो बस्तीको विद्यालयमा खेलमैदान बन्ने कल्पनासमेत नगरेका यहाँका स्थानीय खेलमैदान निर्माण भएपछि उत्साहित छन्। सरकारी तथा गैरसरकारी निकाय धाउँदा पनि सुनुवाइ नभएको आवश्यकता अक्कल दाइले पूरा गरिदिएका, सोवा गाउँका युवा दीपक बुढा बताउँछन्।

वडा नम्बर ५ कार्कीबाडामा धर्मशाला, वडा नम्बर ६ रञ्जनबालैमा ५ लाखबराबरको धर्मशाला, वडा नम्बर १० मा ५ लाखभन्दा बढीको मसानघाट तथा दुईवटा सार्वजनिक खानेपानी धारा निर्माण गरिएका छन्। त्यस्तै, वडा प्रवेशद्वार निर्माणका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको वडा नम्बर १० का वडा अध्यक्ष हस्त बुढाले जानकारी दिए।

वडा नम्बर १४ बाम गाउँमा ७ लाखभन्दा बढीको लागतमा प्रवेशद्वार निर्माण हुनुका साथै सोही गाउँको माध्यमिक विद्यालयमा एक शिक्षकको मासिक तलबसमेत बोहोराले व्यवस्थापन गर्दै आएका छन्। थार्प गाउँका रामलाल बोहोरा भन्छन्, अक्कलले विकासका काम मात्र गर्नुभएको छैन, ती योजनामा काम गर्ने स्थानीयलाई सरकारी दररेटअनुसार दैनिक ज्याला पनि दिनुभएको छ। त्यसैले गाउँलेहरूलाई काम खोज्न अन्यत्र जानु परेको छैन ।’

बोहोराले विपन्न र असहाय बिरामीलाई आर्थिक सहयोग गरेर उपचारको अवसर दिलाएका छन् भने धेरै विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामग्री वितरण गर्दै आएका छन्। आमा गोरी बोहोराको सम्झनामा सुरु गरिएको  थार्प मष्टा मन्दिर–मालिका तीर्थ पदमार्गले धार्मिक पर्यटनलाई सहज बनाउने अपेक्षा गरिएको छ। पहिले जोखिमपूर्ण भिरालो बाटो पार गर्नुपर्ने तीर्थयात्रीहरू अब सुरक्षित सिँढीमार्फत पुग्न सक्नेछन्।

वडाध्यक्ष वीरबहादुर खड्का भन्छन्– पर्याप्त बजेट नहुँदा स्थानीय सरकारलाई योजना सम्पन्न गर्न धौ–धौ पर्ने बेला अक्कलले विदेशको पसिना गाउँमा बगाएर उदाहरण प्रस्तुत गरेका छन्। उनको जन्मथलोप्रतिको माया र केही गरौं भन्ने सोचले सरकारी तथा गैरसरकारी निकायलाई राजनीतिक दललाई समेत चुनौती दिएको छ।

विदेशमा बसेर कमाएको सम्पत्ति निजी सुखसुविधामा खर्च गर्नु सामान्य मानिन्छ। तर, अक्कल बोहोराले भने आफ्नो कमाइ जन्मथलोको उन्नतिमा लगानी गर्दै उदाहरणीय कार्य गरिरहेको वडाध्यक्ष खड्काले बताउँछन्। उनको योगदानले गाउँमा भौतिक पूर्वाधार मात्र होइन, आशा, आत्मविश्वास र एकताको भावना पनि निर्माण गरेको छ। मुगुजस्ता दुर्गम जिल्लामा यस्ता समाजसेवी हातहरू बढ्दै गए विकासको उज्यालो अझ टाढासम्म फैलिने विश्वास छायाँनाथ रारा नगरवासीले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.