रास्वपालक्षित ओलीको टिप्पणी : चुनाव जित्दैनौं भन्ने लागेछ क्यारे, अर्काको झण्डा जलाउन थाले

रास्वपालक्षित ओलीको टिप्पणी : चुनाव जित्दैनौं भन्ने लागेछ क्यारे, अर्काको झण्डा जलाउन थाले

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव स्थगित गराउन अझै विभिन्न प्रयासहरु भइरहेको टिप्पणी गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा रहेका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राज्यको खर्बौ रकम खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । अध्यक्ष ओलीले एमाले आसन्न निर्वाचन जित्ने गरी लागिसकेको पनि बताएका छन् ।

‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन,’ ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताएका छन् । ‘६ महिना हामीले कोशिस गर्‍यौं । हामीले कोशिस गरिञ्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनु हुँदैन भनेर । देशको खर्च नहुनु पर्थ्याे अर्बौं खर्च त भइ नै सक्यो । उम्मेदवारको खर्च नहुनु पथ्र्यो भइ नै सक्यो,’ ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दूध जस्तै उम्लिएको टिप्पणी गरेका छन् । ‘अर्को कुरा, शायद साह्रै उम्लिएको । सानो भाँडोमा दूध उमालेर राखेर तलबाट बेसरी चर्को आगो बाल्दिए जस्तै गरेर उम्लिएको कुनै आधार नभएको एउटा जोडजाम वाला पार्टी छ । साह्रै उम्लिएको थियो,’ ओलीले भने, ‘जित्दैनौं भन्ने परेछ क्यारे अब अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने त्यस प्रकारका कामबाट उसले क्रियाकलापहरू शुरु गर्‍या छ ।’

अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखेपछि केही तत्व समाज भाँड्न लागि परेको टिप्पणी गरे । रास्वपातर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घटना पनि यसैको उपज रहेको बताए । उनले भने,‘चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएका छन् यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य हुँदैन ।’ अध्यक्ष ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने समेत बताएका छन् । उनले अहिले संविधान संशोधनका कुरा निकालेर कोही सुन्नेवाला पनि नरहेको बताएका छन् ।

नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेला नै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराए । त्यस बेला परिस्थिति नै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘उपयुक्त समय आएपछि संशोधन हुन्छ जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिन्छ।’

एमाले सधै जनताको बीचमा रहेको, जनताकै बीचमा हुर्किएको पार्टी भएकाले जनताका बीचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताएका छन् । तर जनताबाट अस्वीकृत हुने देखिएपछि त्यस्ता तत्व समाजमा साम्प्रदायिकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषयतर्फ लागेको ओलीको भनाई छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.