सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरेर निभाइयो तारेभीरको आगलागी

सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरेर निभाइयो तारेभीरको आगलागी
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको तारेभीरमा लागेको आगो सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरेर नियन्त्रणमा ल्याइएको छ। आइतबार तारेभीरको जंगलमा आगलागी भएको र सुरक्षाकर्मीहरू त्यहाँ जान नसकेपछि गृह मन्त्रालयले आगो नियन्त्रणका लागि सिम्रिक एयरलाई अनुरोध गरेको थियो।

गृह मन्त्रालयबाट अपरान्ह ३ बजे अनुरोध आएपछि सिम्रिक एयरले हेलिकोप्टर पठाएको महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए। उनका अनुसार हेलिकोप्टर प्रयोग गरेर ५:४५ बजे आगो नियन्त्रणमा लिइएको थियो।

सिम्रिकले वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र रेस्क्यु स्पेशलिस्ट छिरिङ डेन्डुप भोटेलाई आगलागी नियन्त्रणमा खटाएको थियो। सिम्रिक एयरका अनुसार आगो नियन्त्रणमा लिनका लागि करिब १२ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइएको थियो। यसका लागि सुरुमा हेलिकोप्टरले सुन्दरीजलबाट पानी लगेको थियो। तर, सुन्दरीजल टाढाको दूरीमा रहेकाले छिटो छिटो पानी लैजान समस्या भएपछि सिम्रिकले नजिकैको रिसोर्टबाट पानीको प्रबन्ध गरेर आगो नियन्त्रणमा लिएको थियो।

विभिन्न समयमा सरकारको अनुरोधमा देशका विभिन्न ठाउँमा लागेको आगो नियन्त्रणमा आफ्नो हेलिकोप्टर प्रयोग गर्दै आएको सिम्रिक एयरले जनाएको छ। यसपटक पनि कम्पनीले निःशुल्क सेवा दिएको महाप्रबन्धक जोशीले बताए।

उनका अनुसार कम्पनीसँग अहिले एउटामात्रै बम्बी बकेट छ। यसअघि दुई वटा बम्बी बकेट भए पनि गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा सिम्रिक एयरको कार्यालयमा आगजनी हुँदा एउटा बम्बी बकेट जलेको थियो। 

सरकारको अनुरोधमा सिम्रिकले बिना कुनै शुल्क सेवा दिइरहे पनि आगो नियन्त्रणका क्रममा कम्पनीको भने ठूलो खर्च भइरहेको कम्पनीले जनाएको छ। फ्युल, पाइलट र कर्मचारीको सेवा तथा बीमा, उपकरणहरूको प्रयोगमा ठूलो खर्च हुने गरेको कम्पनीको भनाइ छ। 

आगलागी नियन्त्रण गर्न हेलिकोप्टरको प्रयोगले सहज हुने भएकाले आगामी दिनमा सरकारले यसका लागि बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता बढेर गएको कम्पनीको भनाइ छ। 

यसैबीच गृह मन्त्रालयले तारेभीरमा लागेको आगलागी नियन्त्रणमा सिम्रिक एयरले निःशुल्क सहयोग गरेको जनाएको छ। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य सुवेदीका अनुसार आइतबार काठमाडौंको गोकर्णेश्वर नपा-३ सुन्ताखान बालुवास्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारेभीर जंगलमा बिहान करिब ९:४५ बजेदेखि लागेको आगलागी (वन डढेलो) नियन्त्रणका लागि गृह मन्त्रालयको निर्देशन र काठमाडौंको जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिम्रिक एयरले व्यवसायीक सामाजिक उत्तरदायित्त्व (सीएसआर)अन्तर्गत निःशुल्क निभाएको हो।

सिम्रिक एयरको हेलिकोप्टरले १३ पटक पानी ओसारी आगो निभाउने कार्य गरेको गृहको भनाइ छ। 'यसबाट तत्काल आगो बागद्वार तथा बस्तीतर्फ जानबाट रोकिएको छ,' उनले भनिन्।

उक्त कार्यमा थप मद्दतका लागि सुरक्षाकर्मी, निकुञ्जका कर्मचारीलगायत स्थानीय निकायको सहभागिता थियो। उक्त डढेलो नियन्त्रण गर्न हेलिकोप्टर सेवा प्रदायक कम्पनीको महत्वपूर्ण सहायता प्राप्त भएको गृहको भनाइ छ। उद्धार कार्यमा खटिने हेलिकप्टर कम्पनी, सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दाप्रति गृह मन्त्रालयले आभार प्रकट गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.