टिकटकर अधिकारीको १६ करोडको ट्रान्जेक्सन खोतल्दै प्रहरी
काठमाडौं : तुल्सा कलेक्सनकी सञ्चालक तथा चर्चित टिकटकर तुल्सी अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासधात र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार तुल्सी अधिकारीविरुद्ध कुमार चिमोरियाको जाहेरीका आधारमा गत साउन २२ गते ठगी र आपराधिक लाभको मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो।
प्रहरीका अनुसार अनुसन्धान गर्दा उनी सम्पत्ति शुद्धीकरणको कसूरमा पनि जोडिएकी हुन्। उनीविरुद्ध फागुन १९ गते सम्पत्ति शुद्धीकरण विभागमा सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरी परेको थियो। विभागबाट सुझावसमेत लिएर उनीमाथि सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान भइरहेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालले समेत विशेष चासोको साथ हेरेको यो मुद्दामा विभिन्न 'क्लु' फेला परेका छन्। प्रहरीका एक उच्च अधिकारी भन्छन्, 'तुल्सी अधिकारीले देश बाहिर बसेर प्रहरीको अनुसन्धानलाई नै प्रभाव पार्नसक्ने गरी जुन भ्रामक सूचना प्रवाह गरेकी छन्, त्यो बिलकुल गलत हो।'
प्रहरी स्रोतका अनुसार, अधिकारीको व्यवसाय अनुसारको आयस्रोत देखिँदैन। '५ लाख चुक्ता पुँजी राखेर कम्पनी खोलेको देखिएको छ, जुन कम्पनीमा ८ लाख घाटामा देखिन्छ। उनले १ लाख ८८ हजार कामदारको पारिश्रमिकमा खर्च गरेकी छन्। आम्दानीको स्रोत भने कहीँ कतैबाट खुल्दैन। कम्पनीले ऋण लिएको पनि देखिँदैन। कर तिरेको कुनै विवरण पनि छैन। तर, करोडौं रकम हुण्डी गरेर विदेश पठाएको देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरीले स्रोतले अन्नपूर्णसँग भन्यो।
अधिकारीले नेपालबाट १ करोड हुण्डी गरेर चीनमा पैसा पठाएको खुलेको छ। प्रहरीका अनुसार अधिकारीले ४ करोड बढीको आर्थिक ट्रान्जेक्सन गरेकी छन्। उनको व्यक्तिगत बैंक खातामा मात्रै १६ करोडको कारोबार देखिएको छ। उनको बैंक खातामा एक करोड 'फिक्स्ड डीपोजिट' गरेको खुलेको छ। उनको नाममा करौडौंको जग्गा र सम्पत्ति पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार तुल्सा कलेक्सनको आम्दानी, कारोबार र खर्चमा निकै फरक देखिएको छ। प्रहरीले प्रशस्त प्रमाण फेला पारेपछि उनीविरुद्ध अनुसन्धान थालेको हो। कुनै पनि व्यवसाय, कम्पनीबाट गैरकानुनी कार्य भइरहेको छ भन्ने थाहा पाएपछि प्रहरीले कम्पनी खानतलासी गरी छानबिन गर्न पाउँछ। अदालतको आदेश लिएरै उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको प्रहरीको दाबी छ।
यसैबीच व्यापारको सिलसिलामा चीनमा रहेकी अधिकारीले सामाजिक सञ्जालबाट भ्रम छरिरहेको प्रहरीको भनाइ छ। उनले आफूलाई थाहै नदिइ प्रहरीले मुद्दा दर्ता गरेको, पक्राउ पूर्जी जारी गरेको र प्रहरी पैसामा बिकेको निरन्तर भिडियो पोष्ट गरेकी छन्। उनले विभिन्न व्यक्ति र प्रहरी अधिकारीको समेत नाम मेन्सन गर्दै सामाजिक सञ्जालमा सहानुभूति बटुल्न खोजेको भन्दै प्रहरीले विज्ञप्ति जारी गरेर चेतावनीसमेत दिएको छ।
अनुसन्धान भइरहेको विषयमा अनुसन्धानलाई नै प्रभावित पार्ने फोटो, भिडियो तथा सूचना सम्प्रेषणजस्ता कार्य पुनः अनुसन्धानको विषय बन्नेतर्फ उनलाई प्रहरीले सजग गराएको छ। परिसरका प्रवक्ता गौतम मिश्रका अनुसार अनुसन्धान भइरहेको विषयमा भ्रामक सूचना पाइँदैन। आफ्ना कुरा राख्नका लागि अनुसन्धान गर्ने निकायमा उपस्थित हुनुपर्छ।
प्रहरीले अधिकारीमाथि ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर प्रकृतिका कसूरमा अनुसन्धान भइरहेको स्पष्ट पार्दै अनुसन्धानलाई प्रभावित पार्ने गरी कुनै पनि सामग्री सार्वजनिक पाइँदैन। यो प्रकरणमा वादी नेपाल सरकार रहेको र प्रतिवादीका रूपमा अधिकारीसहितका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले खुलाएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३ उपदफा १ ले निषेध गरेका क्रियाकलापमा अधिकारीको संलग्नता रहे÷नरहेकोबारे प्रहरीले अहिले तथ्यपरक आधार र प्रमाणहरू संकलन गरिरहेको छ। अवैध रूपमा आर्जन गरेको सम्पत्ति रूपान्तरण वा हस्तान्तरण गरेको हुनसक्ने आशंकामा विभागको सुझावअनुसार अनुसन्धानलाई तीव्र पारिएको प्रहरीको दावी छ।
तीनवटा गम्भीर मुद्दामा अनुसन्धान भइरहेका बेला अभियुक्त वा सम्बन्धित व्यक्तिहरूले सामाजिक सञ्जालमा फोटो, भिडियो र भ्रामक सूचना राखेर प्रहरीको कामलाई बाधा पु¥याउन खोजेको भन्दै परिसरले असन्तुष्टि व्यक्त गरेको छ । प्रहरीले अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत गरिरहेका गतिविधिहरू आफैँमा पुनः अनुसन्धानको विषय बन्न सक्ने तर्फ सचेत गराएको छ। सार्वजनिक जवाफदेहीता बहन गर्ने मानवीय कर्तव्य पालना गर्न र अनुसन्धानलाई गिजोल्ने खालका कुनै पनि कार्य नगर्न प्रहरीले निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस !