काठमाडौं : जहाजमा उडान भर्ने चालक दलले सामान्यतया अस्वाभाविक मात्राको सुन लगाउन पाउँदैनन्। ओसार्न पाउँदै पाउँदैनन्। सधैं लगाइरहेको सिक्री, औंठी छन् भने खासै चेकजाँच हुँदैन। शंकास्पद मात्रामा सुन बोकेको पाएपछि नेपाल वायु सेवा निगमको एक वरिष्ठ पाइलट भने निगरानीमा परेपछि गुपचुपमा छाडिएको छ।
यही फागुन ३ गते दुबईबाट काठमाडौं अवतरण गरेको निगमका न्यारोबडी जहाजका पाइलट गैरकानुनी रूपमा सुन ल्याएकोमा मुछिएका हुन्। जहाज अवतरणपछि नियमित चेकजाँचका क्रममा ह्यान्ड ब्यागमा अस्वाभाविक मात्रामा सुन भेटिएको थियो। त्यसपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनलाई चेकजाँच गरी झन्डै ३ घन्टा निगरानीमा राखेको स्रोतले अन्नपूर्णलाई जानकारी दियो। तर, निगम व्यवस्थापनको सेटिङमा उनलाई माफी माग्न लगाएर यो घट्ना छोपछाप गर्ने प्रयास भएको जानकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको छ।
दुई दशकदेखि निगमका जहाज उडान गर्दै आएका ती पाइलटको हाउभाउ उक्त दिन फरक देखेपछि विमानस्थल अधिकारीले निगरानी गरेका हुन्। ‘व्यक्ति र सुनको मात्रा अहिले भन्दैनौं। तर, उनले आइन्दा यसरी सुन नबोक्ने कबुल गरी माफी मागेपछि हामीले पठायौं, भन्सारका एक अधिकारीले नाम नबताउने शर्तमा भने।
मन्त्रालय स्रोतमार्फत अन्नपूर्णले सूचना पाएपछि एयरपोर्ट विमानस्थलका अधिकारी र निगम व्यवस्थापनसामु अन्नपूर्णले लगातार ३ दिन यो विषयमा खोजीनीति गरेको थियो। उक्त क्रममा सोमबार भन्सार कार्यालयले ती पाइलटलाई माफी मगाएर छाडिएको पुष्टि गरेको छ।
मन्त्रालयमा भने ती पाइलटले १८ तोला सुन बोकेको जानकारी पुगेको छ। तर, एयरपोर्टस्थित अधिकारीहरू भने १० ग्राम मात्र सुन भेटिएको बताउँदै आएका छन्। स्रोत भन्छ, १० ग्राम सुन मात्र भएको भए निगरानी र छानबिन दुवै हुँदैनथ्यो। पाइलटले भन्सार पुगेर माफी पनि माग्नुपर्दैनथ्यो। पछिल्ला दिनहरूमा निगमका केही पाइलटमाथि निगरानी नहुँदा यस्ता गलत प्रवृत्ति मौलाएको हो।
‘उडानपूर्व र अवतरणपछि अन्य यात्रुको जस्तै गरी नै चालक दल (पाइलट तथा एयरहोस्टेज) को जाँच हुन्छ। उक्त क्रममा जाँच गर्दा ह्यान्ड ब्यागमा १० ग्राम सुनको सिक्का पाइएको हो,’ विमानस्थल भन्सार कार्यालयले जनाएको छ। विमानस्थलबाट यात्रा गर्दा भन्सार विभागले तोकेको सुनका गहना (पुरुष २५ ग्राम र महिला ५० ग्राम) बनाएर लगाउन पाइन्छ। तर, चालक दलले नियमित लगाएका भन्दा गन्तव्य मुलुकबाट फर्किंदा नयाँ गहना पनि लगाउन नपाउने नियम छ। सामान्यभन्दा बढी सुनको सिक्का ह्यान्ड ब्यागमा लुकाएको पाइएपछि उनलाई सोधपुछ गरिएको कार्यालयका एक अधिकारीले नाम नबताउने सर्तमा भने।
‘आफ्नो करियर नै सक्किने र अबदेखि नगर्ने भनि बिन्तिभाउ गरे। त्यही भएर हामीले एकपटकलाई छोडिदिऊँ। राजस्व पनि काटेनौं,’ ती अधिकारीले भने। अचम्म के भने ती पाइलटलाई निगमले भने अहिलेसम्म कुनै पनि सोधपुछ गरेको छैन। उनी निगमको नियमित उडानमा नै छन्।
यता, निगम व्यवस्थापनसँग बुझ्दा पाइलटले १० ग्राम सुन पनि नल्याएको प्रतिक्रिया दिएको छ। पाइलट ह्यान्डब्यागमा राखेको नियमित लगाएको सिक्री र मोबाइलका कारण सामान्य सोधपुछ गरिएको निगमका एक अधिकारीले नाम नखुलाउन भन्दै बताए। यसअघि पनि निगमका चालकदल सुन तथा विदेशी मुद्रा तस्करीमा पक्राउ परी कारबाहीमा परेको उदाहरण छन्।
गत मंसिरमा निगमका एक क्रू मेम्बरलाई कतारको दोहामा सुन तस्करीको निवेदनका भरमा सेवाबाट वञ्चित गरिएको थियो। दोहाबाट काठमाडौं आउने तयारीमा रहँदा उनलाई दोहा विमानस्थलमा भन्सार जाँचका क्रममा करिब ८ तोला सुन बरामद भएको थियो। यस्तै, २०७३ सालमा निगमका एक वरिष्ठ क्याप्टेन करिब ९३,६०० अमेरिकी डलर (करिब ९६ लाख नेपाली रुपैयाँ लिएर काठमाडौंबाट दुबई उड्ने तयारीमा थिए। नियमित चेकजाँचका क्रममाको उनको ह्यान्डब्यागबाट उक्त रकम बरामद गरिएको थियो। पाइलटले गर्दै आएको गलत काममा आँखा चिम्लिँदा निगमको साख गिर्दै आएको र निगम कहिले माथि उठ्न नसकेको जानकार बताउँछन्।
प्रतिक्रिया दिनुहोस !