जनकपुरधाम :
‘कञ्चनवन राम खेलै होली, कञ्चनवन ।
किनका के हात कनक पिचकारी
किनका हात अबिर झोरी, कञ्चनवन ।।
रामजीके हात कनक पिचकारी
सीयाजीके हात अबिर झोरी कञ्चनवन ।।’
हातहातमा अबिरको झोरी, सबैको मुखमा रंगीचंगी अबिर र होलीको गीतगान कञ्चनवनमा सोमबार पुग्ने सबै होलीको रंगमा रंगिए । १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको डोला सोमबार कञ्चनवन पुगेसँगै होलीको उत्सव विधिवत आरम्भ भएको छ ।
होली पर्व आउन एक साता बाँकी भएपनि मिथिलाञ्चमा परिक्रमा यात्रीहरुसँगै मिथिलाविहारी र किशोरीजीको डोला कञ्चनवन आएर रामसीतालाई अबिर अर्पण गरेपछि होलीको धुमधाम सुरु भएको छ । 
महोत्तरी जिल्लाको भंगहा नगरपालिका ९ कञ्चनवनमा रामसीताले त्रेता युगमा फागुन शुक्ल सम्पतीमा दिन रंग, अबिर खेलेको किम्वदन्तीहरु छन् । सोही अवसरको सम्झनामा प्रत्येक वर्ष परिक्रमावासीहरु सहित स्थानीयहरुले साझा रुपमा होली मनाउने गर्छन् । फागुन शुक्ल सप्तमी अर्थात् माध्यमिकी परिक्रमाको आठौं पडाव स्थलको रुपमा परिक्रमायात्रीहरु कञ्चनवन पुग्ने गर्दछन् । यहाँ विधिवत रुपमा होली समारोहको आयोजन गर्ने गरिन्छ ।
‘कञ्चनवनको होली उत्सव निकै भव्य हुन्छ र यो परिक्रमा वासीको सम्मान र वहाँहरुको उत्साहका लागि पनि गरिन्छ,’ किशोरीजीको डोलाका नेतृत्वकर्ता तथा जनकपुरको सुन्दरसदन मठका महन्थ नवलकिशोर दास भन्छन्, ‘यस अवसरमा रामसीताको विवाह र वहाँहरुको वनविहार कथा प्रसंगहरुको मनोरञ्जनात्मक रुपले चित्रण तथा वर्णन गरिन्छ । मंगलगान गाइन्छ र होली मनाइन्छ । ’
मिथिलाञ्चलमा माघ शुक्ल पञ्चमीदेखिनै वसन्त ऋतुको प्रारम्भ हुने विश्वास छ । यसै विश्वासका कारण माघ शुक्ल पञ्चमीदेखि फागुन पूर्णिमासम्म यस क्षेत्रमा कुनै पनि शुभकार्य विवाह, व्रतबन्ध वा अन्य आयोजनहरु हुँदा पाहुनाहरुसँग हाँसो ठठ्ठा गर्दै रंगअबिर खेल्ने परम्परा छ ।
१३३ किलोमिटरको पैदल यात्राका क्रममा कञ्चनवन पुगेर आधा जति यात्रा सम्पन्न गर्ने गरेका मिथिलावासीहरु होलीको रंगमा रंगिएर आफ्नो सबै थकाई बिर्सिने गर्दछन् । ‘यहाँ आयोजन हुने कार्यक्रमहरु र यहाँको होलीमय वातावरणले हामीलाई त्रेता युगमा भगवानले खेलेको होलीको सम्झनानै दिलाएको छ,’परिक्रमा यात्री रोहिणी झा भन्छिन्, ‘यो अद्भुत र अतिनै सुन्दर अवसर छ । होलीको पर्वले सद्भाव र शान्तीको सन्देश दिन्छ जुनकी कञ्चनवनमा राम्ररी हेर्न सकिन्छ । ’
मध्यमा परिक्रमाको सबै रात्रि विश्रामस्थलहरुले आफ्नो विशिष्ट पहिचान बोकेको छ । जसमध्ये कञ्चनवन रामसीताले अबिर खेलेको किम्बदन्ती भएको हुँदा यहाँको माटो र परिवेश निकै उन्नत रहेको भंगहाका नगरप्रमुख सञ्जीवकुमार साह बताउँछन् । रामायणकालीन यस उत्सव र गाथालाई जिवन्त राख्न र कञ्चनवनको परिचय अझ बढी मुखरित गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको साह बताउँछन् ।
कञ्चनवनको रात्रिवासपछि परिक्रमावासीहरु आफ्नो अघिल्लो यात्राका लागि धनुषा प्रवेश गर्छन् । जम्मा १५ दिनको यात्रामा महोत्तरीको पाँच, धनुषाको ६ र मित्रराष्ट भारतको मधुवनी जिल्लाको चारगरी जम्मा १५ वटा रात्रि विश्रामस्थल रहेको छ । यात्रा पूरा गरेपछि फागुन पूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि मिथिला माध्यमिकी यात्रा सम्पन्न हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस !