पर्व

कञ्चनवन राम खेले होली !

कञ्चनवन राम खेले होली !
तस्बिर : मनिका झा
सुन्नुहोस्

जनकपुरधाम : 
‘कञ्चनवन राम खेलै होली, कञ्चनवन ।
किनका के हात कनक पिचकारी

किनका हात अबिर झोरी, कञ्चनवन ।।
रामजीके हात कनक पिचकारी
सीयाजीके हात अबिर झोरी कञ्चनवन ।।’

हातहातमा अबिरको झोरी, सबैको मुखमा रंगीचंगी अबिर र होलीको गीतगान कञ्चनवनमा सोमबार पुग्ने सबै होलीको रंगमा रंगिए । १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको डोला सोमबार कञ्चनवन पुगेसँगै होलीको उत्सव विधिवत आरम्भ भएको छ । 

होली पर्व आउन एक साता बाँकी भएपनि मिथिलाञ्चमा परिक्रमा यात्रीहरुसँगै मिथिलाविहारी र किशोरीजीको डोला कञ्चनवन आएर रामसीतालाई अबिर अर्पण गरेपछि होलीको धुमधाम सुरु भएको छ । null

महोत्तरी जिल्लाको भंगहा नगरपालिका ९ कञ्चनवनमा रामसीताले त्रेता युगमा फागुन शुक्ल सम्पतीमा दिन रंग, अबिर खेलेको किम्वदन्तीहरु छन् । सोही अवसरको सम्झनामा प्रत्येक वर्ष परिक्रमावासीहरु सहित स्थानीयहरुले साझा रुपमा होली मनाउने गर्छन् । फागुन शुक्ल सप्तमी अर्थात् माध्यमिकी परिक्रमाको आठौं पडाव स्थलको रुपमा परिक्रमायात्रीहरु कञ्चनवन पुग्ने गर्दछन् । यहाँ विधिवत रुपमा होली समारोहको आयोजन गर्ने गरिन्छ ।

‘कञ्चनवनको होली उत्सव निकै भव्य हुन्छ र यो परिक्रमा वासीको सम्मान र वहाँहरुको उत्साहका लागि पनि गरिन्छ,’ किशोरीजीको डोलाका नेतृत्वकर्ता तथा जनकपुरको सुन्दरसदन मठका महन्थ नवलकिशोर दास भन्छन्, ‘यस अवसरमा रामसीताको विवाह र वहाँहरुको वनविहार कथा प्रसंगहरुको मनोरञ्जनात्मक रुपले चित्रण तथा वर्णन गरिन्छ । मंगलगान गाइन्छ र होली मनाइन्छ । ’

मिथिलाञ्चलमा माघ शुक्ल पञ्चमीदेखिनै वसन्त ऋतुको प्रारम्भ हुने विश्वास छ । यसै विश्वासका कारण माघ शुक्ल पञ्चमीदेखि फागुन पूर्णिमासम्म यस क्षेत्रमा कुनै पनि शुभकार्य विवाह, व्रतबन्ध वा अन्य आयोजनहरु हुँदा पाहुनाहरुसँग हाँसो ठठ्ठा गर्दै रंगअबिर खेल्ने परम्परा छ । 

१३३ किलोमिटरको पैदल यात्राका क्रममा कञ्चनवन पुगेर आधा जति यात्रा सम्पन्न गर्ने गरेका मिथिलावासीहरु होलीको रंगमा रंगिएर आफ्नो सबै थकाई बिर्सिने गर्दछन् । ‘यहाँ आयोजन हुने कार्यक्रमहरु र यहाँको होलीमय वातावरणले हामीलाई त्रेता युगमा भगवानले खेलेको होलीको सम्झनानै दिलाएको छ,’परिक्रमा यात्री रोहिणी झा भन्छिन्, ‘यो अद्भुत र अतिनै सुन्दर अवसर छ । होलीको पर्वले सद्भाव र शान्तीको सन्देश दिन्छ जुनकी कञ्चनवनमा राम्ररी हेर्न सकिन्छ । ’null

मध्यमा परिक्रमाको सबै रात्रि विश्रामस्थलहरुले आफ्नो विशिष्ट पहिचान बोकेको छ । जसमध्ये कञ्चनवन रामसीताले अबिर खेलेको किम्बदन्ती भएको हुँदा यहाँको माटो र परिवेश निकै उन्नत रहेको भंगहाका नगरप्रमुख सञ्जीवकुमार साह बताउँछन् । रामायणकालीन यस उत्सव र गाथालाई जिवन्त राख्न र कञ्चनवनको परिचय अझ बढी मुखरित गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको साह बताउँछन् ।

कञ्चनवनको रात्रिवासपछि परिक्रमावासीहरु आफ्नो अघिल्लो यात्राका लागि धनुषा प्रवेश गर्छन् । जम्मा १५ दिनको यात्रामा महोत्तरीको पाँच, धनुषाको ६ र मित्रराष्ट भारतको मधुवनी जिल्लाको चारगरी जम्मा १५ वटा रात्रि विश्रामस्थल रहेको छ ।  यात्रा पूरा गरेपछि फागुन पूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि मिथिला माध्यमिकी यात्रा सम्पन्न हुने गर्दछ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.