काठमाडौं : २१ फागुनमा निर्वाचनको मिति तोकिएपछि मौसम प्रतिकूलताको चिन्ता व्याप्त थियो। विशिष्ट राजनीतिक परिस्थितिका कारण तोकिएको चुनाव भएकाले मौसम पूर्वानुमानबारे खासै ख्याल गरिएको थिएन।
निर्वाचन आयोगलाई अहिले भने चुनाव अवधिको मौसम पूर्वानुमानले ढुक्क बनाएको छ। मौसम प्रतिकूलताले निर्वाचनमा असर पार्ने समस्या नदेखिएको भन्दै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमेत निश्चिन्त देखिए।
‘अहिले जल तथा मौसम विज्ञान भनेअनुसार मौसमले निर्वाचनमा प्रभाव गर्ने देखिँदैन। यसको अन्तिम रिपोर्ट फागुन १५ गते आउँछ,’ उनले भने, ‘एकहप्ताको विश्लेषण चाहिँ ठोस विश्लेषण हुन्छ।’ १५ गतेपछि मात्रै मौसमको ठोस विश्लेषण हुने देखिएको छ।
स्थलगत निरीक्षण गरेर आएका आयोगका कर्मचारीहरू पनि मौसम प्रतिकूतला निर्वाचन रोकिन अवस्था नरहेको बताउँछन्। हिमाली जिल्ला पुगेर आएका आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले बस्तीहरूमा हिउँ नरहेको बताए। उनले भने, ‘हिउँ पर्ने जिल्लाहरूमा भर्खर्रै हामी पुगेर आएका छौं। बस्तीहरूमा हिउँ छैन। अब चुनावको एकहप्ता बाँकी छ। मौसम निखारिँदै छ, उनले भने, ‘केही–केही ठाउँमा बाटोमा समस्या हो। त्यहाँ हेलिकप्टरबाट जाने व्यवस्था गरिएको छ। यो बीचमा हिउँ परेर अवरुद्ध भयो भने फरक परिस्थिति बन्छ।’ उनले हुम्ला, डोल्पा, जुम्ला, मुगुमा हिउँ नभएको जानकारी दिए। सहायक प्रवक्ता न्यौपानेका अनुसार सोमबारसम्मको अवस्था हेर्दा चुनाव गराउन सकिने अवस्था छ।’ कतिपय स्थलमा सुरक्षा निकायले हिउँ पन्छाएर मतपत्र लिएर गएको छ।
उता पूर्वीपहाडी जिल्लामा पुगेर फर्किंदै गरेका आयोग सहायक प्रवक्ता आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी मौसमले कुनै असर पर्ने बताए। आयोगका उपसचिव जिसी संखुवासभा, भोजपुर र तेह्रथुप पुगेर फर्किएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले चुनावको आसपास मौसम सफा नै रहने देखिएको जानकारी दिए। ‘मौसमले निर्वाचनलाई प्रभाव पर्ने अवस्था देखिएको छैन,’ उनले सोमबार साँझ अन्नपूर्ण पोस्ट्सँग भने।
निर्वाचन आयोग पूर्णतयारीमा छ : आयोग
निर्वाचन आउन जतिनजिक छ, त्यति नै माहोल तातिएको छ। निर्वाचन आयोग तीव्र रूपमा निर्वाचनको तयारीमा जुटेको छ। तोकिएको समयमा निर्धकताका साथ चुनाव गराउन आयोग तम्तयार छ। केही शक्तिहरू निर्वाचनलाई बिथोल्न लागे पनि हरहालतमा निर्वाचन गराएरै छाड्ने कार्यवाहक प्रमुख निर्वाचन प्रवक्ता भण्डारी बताउँछन्। उनका अनुसार निर्वाचन व्यवस्थापनको काम लगभग सकिएको जानकारी दिए।
‘मतपत्र ढुवानीलगायत निर्वाचन सामग्रीहरू सम्बन्धित क्षेत्र, मतदानस्थल र मतदान केन्द्रमा पुग्ने क्रम जारी छ,’ उनले भने, ‘मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम चलिरहेको छ।’ मंगलबार तालिम सकिएलगत्तै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सम्बन्धित स्थलमा जानेछन्।
छिटफुट घटनाले चुनाव प्रभावित पार्दैन
मधेसका रौतहट, पर्सालगायतका जिल्लामा तनावपूर्ण अवस्था छ। कफ्र्युसम्म लागेको अवस्था छ। दाङमा एमालेको निर्वाचन चिह्न जलाउनेलगायतका निर्वाचन बिथोल्ने गतिनिधि पनि भइरहेका छन्। तर, आयोगका सहायक प्रवक्ता न्यौपानेले तराई भइरहेका घटनाहरूले निर्वाचन प्रभावित नहुने दाबी गर्छन्। निर्वाचनको अवस्था फरक हो। यसमा सरकारले विभिन्न पक्षसँग छलफल र वार्तामा बसेको समाधान होला। यो निर्वाचन आयोगको पाटोको विषय हैन। यो कारणले निर्वाचन प्रभावित हुँदैन। हामी निर्वाचनको पूर्ण तयारीमा छौं।’
- निर्वाचन आयोगलाई अहिले भने चुनाव अवधिको मौसम पूर्वानुमानले ढुक्क बनाएको छ। मौसम प्रतिकूलताले निर्वाचनमा असर पार्ने समस्या नदेखिएको भन्दै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमेत निश्चिन्त देखिए।
- स्थलगत निरीक्षण गरेर आएका आयोगका कर्मचारीहरू पनि मौसम प्रतिकूलता निर्वाचन रोकिन अवस्था नरहेको बताउँछन्। हिमाली जिल्ला पुगेर आएका आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले बस्तीहरूमा हिउँ नरहेको बताए।
- पूर्वीपहाडी जिल्लामा पुगेर फर्किंदै गरेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी मौसमले कुनै असर नपर्ने बताए।
- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले चुनावको आसपास मौसम सफा नै रहने देखिएको जानकारी दिए।
- राजनीतिक दल, तिनका नेता, कार्यकर्ता, मतदाता सबै निर्वाचनमा होमिएको कारणले कसैले पनि बिथोल्ने अवस्था नै रहेको आयोगको भनाइ छ।
न्यौपानेका अनुसार मधेस प्रदेशबाहेक स्थानमा मतपत्र पुगिसकेका छन्। ‘मत पत्रहरू सबै ठाउँमा पुगिसके अब मधेस प्रदेशमा जाँदैछ। बागमतीमा मंगलबारसम्म पठाउँदै छौं। हरेक जिल्लाले मतदान अधिकृत सहायक मतदान अधिकृतहरू मतदान केन्द्रमा जाने कर्मचारीको लिस्ट सार्वजनिक गरिसकेको छ। एक÷दुई दिनमा उहाँहरूलाई तालिम दिइन्छ। तालिमपश्चात् निर्वाचन सामग्री र मतपत्र लिएर मतदान केन्द्रतिर जाने काम हुन्छ,’ उनले भने, ‘अब केन्द्रीय निर्वाचन आयोगको कार्यवोध निर्वाचन अधिकृतको कार्यालय जिल्ला निर्वाचन कार्यालय सरिसकेको छ।’
पूर्वीपहाडको निरीक्षण गरेर आएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी वडा–वडामा स्वयं सेवक पुगेर मतदाता शिक्षा दिने काम पनि रफ्तारमा भइरहेको बताउँछन्। 
शान्तिसुरक्षा ढुक्क
मौसम प्रभावलाई नजिकबाट नियालिरहेको आयोग शान्ति सुरक्षाको विषयमा भने ढुक्क देखिएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारी भन्छन्, ‘सुरक्षा एकदमै ढुक्क छ। सुरक्षा निकायका प्रमुखहरू, सुरक्षाकर्मीहरू, पदाधिकारीहरू सम्बन्धित स्थल खटिसकेका छन्।’ उनले निर्वाचनमय वातावरण बनिसकेको जानकारी दिए।
भण्डारीले निर्वाचन बिथोलिने सम्भावनालाई ठाडै इन्कार गर्छन्। ‘निर्वाचन बिथोल्ने कसैले सम्भव छैन, हुँदा पनि हुँदैन, अब राज्यले यत्रो निष्ठापूर्वक सम्पन्न गर्न लागेको निर्वाचनमा कुनै समस्या छैन्, निर्वाचन हुन्छ,’ उनले भने।
राजनीतिक दल, तिनका नेता, कार्यकर्ता, मतदाता सबै निर्वाचनमा होमिएको कारणले कसैले पनि बिथोल्ने अवस्था नै रहेको उनको दाबी छ। कसैले कुना बसेर निर्वाचन बिथोल्ने कुण्ठित उद्देश्य पनि पूरा नहुने उनको भनाइ छ।
आचारसंहिता उल्लंघन बढ्दो, सामाजिक सञ्जाल व्यापक दुरुपयोग
पछिल्लो समयमा निर्वाचन आचारसंहिता उलंघनका घटनाहरू बढ्दो छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले आचारसंहतिा उल्लघनमा ८० स्पष्टीकरण सोधिसकेको जानकारी दिइएकी छन्। उनका अनुसार ४ सय जति कारबाही प्रक्रिया अघि बढिसकेको छ। सामाजिक सञ्जालबाट नै आचारसंहिता उल्लघनको घटना बढ्दो रहेको छ। सामाजिक सञ्जालबाट भइरहेका उल्लंघनमा आयोग आफैंले कारबाही प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिइन्।
यो पनि पढ्नुहोस
‘सामाजिक सञ्जालबाट भएका आचारसंहिता उल्लंघनका घटनामा आयोग आफैंले कारबाही प्रक्रिया अघि बढाएको छ,’ उनले भनिन्। उनले सामाजिक सञ्जालमा भएका उल्लंघन बढिजसो व्यक्तिगत भएको बताइन्। उनले व्यक्तिगत आईडीमा पुग्न अप्ठ्यारो रहेको पनि उनले बताइन्। उनले सुरुवातमा आचारसंहिता उल्लंघनका देखिएका सामग्रीहरू सामाजिक सञ्जालबाट फ्याकिदिने गरेको जानकारी दिएकी छन्। मिथ्या सूचना, भ्रमपूर्ण सूचनाले निर्वाचनलाई प्रभाव पर्ने भएकाले पटक–पटक दोहोरिएमा पनि कारबाही प्रक्रिया अघि बढाउने पनि उनले बताइन्।
प्रतिक्रिया दिनुहोस !
