करिब डेढ करोड सहयोग प्राप्त भएपछि साम्बाले भनिन्- चाँडै मैदानमा भेटौंला
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई पछिल्लो २४ घण्टामा डेढ करोड बढी रुपैयाँ सहयोग प्राप्त भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई उपचारका लागि सहयोगको अपील गरेकी थिइन्। उनका अनुसार हालसम्म नेपालबाट १ करोड बढी र विदेशबाट ४५ लाख बढी सहयोग प्राप्त भएको छ।
उनले आफ्नो सल्यक्रियाका लागि आवश्यकभन्दा बढी रकम प्राप्त भइसकेको हुँदा अब भने सहयोग गर्ने क्रम बन्द गरिदिन अनुरोध गरेकी छन् ‘आर्थिकरूपमा त यहाँहरूले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनुभयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ। यही ऊर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु,’ उनले भनेकी छन्।
उनले शल्यक्रियाका लागि मात्रै नभइ आवास र यातायातको पनि खर्च पर्याप्त भएको उल्लेख गरेकी छन्। उनलाई खेलिरहेको क्लबले बीमा रकम दिन बाँकी नै रहेको तथा प्रयोजन र व्यक्तिगत संस्थाहरूले पनि सहयोगमा वाचा गरेको उनको भनाइ छ।
उनले समर्थकलाई धन्यवाद ज्ञापन गर्दै आफू छिट्टै मैदान फर्कन प्रयत्नरत हुने उल्खे गरेकी छन्। उनले भनेकी छन्, 'मेरो तर्फबाट 'धन्यवाद'मात्र पर्याप्त हुँदैन। तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ। फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिबद्धता हुनेछ। अब मैदानमा भेटौंला।’
प्रतिक्रिया दिनुहोस !