बाजुरामा आइपुग्यो निर्वाचन सामग्री
बाजुरा : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्रसहित अन्य निर्वाचन सामग्री आइपुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा समानुपातिकतर्फ ९७ हजार र पहिलो हुने निर्वाचित प्रणालीतर्फ ९४ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ।
कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरी मतदान स्थल पठाउने तयारी अन्तिम चरणमा रहेको छ। जिल्ला निर्वाचन कार्यालयले निर्वाचन तथा आमसञ्चारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्लामा निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको जानकारी दिएको छ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख भीमबहादुर शाहीका अनुसार कर्मचारीलाई तालिम दिने र मतपत्रसहित निर्वाचन सामग्री हस्तान्तरणबाहेक अन्य सबै तयारी करिब सम्पन्न भइसकेका छन्। हाल मतपत्र तथा निर्वाचन सामग्री प्याकिङ गर्ने कार्य भइरहेको उनले बताए।
७ सय ९ कर्मचारी खटाइने
निर्वाचनका लागि बाजुरामा ७ सय ९ जना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए। अधिकृत पोखरेलका अनुसार जिल्लाका १ सय १८ वटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृतसहित बढीमा ६ जनासम्म कर्मचारी खटाइएको छ। सदरमुकाम मार्तडीको डिभिजन वन कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ। अस्थायी मतदान केन्द्रमा ४ जना कर्मचारी खटाउने तयारी गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतका अनुसार खटाइएका कर्मचारीलाई फागुन १४, १५ र १६ गते तालिम प्रदान गरी मतदान केन्द्रमा पठाइने तयारी गरिएको छ।
निर्वाचन सुरक्षाका लागि संयुक्त गस्ती
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षालाई ध्यानमा राख्दै आइतबारदेखि तीनवटै सुरक्षा निकायले संयुक्त गस्ती सुरु गरेका छन्। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लाका ७७ मतदान स्थल र १ सय १८ मतदान केन्द्रमा अनुगमन तथा सुरक्षाको प्रत्याभूति दिन संयुक्त सुरक्षा परिचालन गरिएको छ।
संयुक्त गस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएका छन्। जिल्लाका ७७ मतदान स्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको छ। कुल मतदान स्थलमध्ये ८०.५१ प्रतिशत अतिसंवेदनशील सूचीमा परेका छन्।
सुरक्षाका लागि ४ सयभन्दा बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी र ३ सय भन्दा बढी नेपाली सेना परिचालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। साथै, १ हजार ६० जना निर्वाचन प्रहरी पनि भर्ना गरी परिचालन गरिएको छ।
मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा
जिल्लाका ६९ वटै वडामा फागुन ३ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जानकारी दिएको छ। प्रत्येक वडामा एक जना स्वयंसेवक खटाई आम मतदातालाई सही, तथ्य परक र उपयोगी जानकारी प्रदान गर्ने, सहभागिता अभिवृद्धि गर्ने तथा बदर मत न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ।
बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल ८७ हजार ८ सय ६१ मतदाता कायम भएका छन्। जसमा ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला र २ अन्य मतदाता रहेका छन्। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात दलसहित एक स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !