कति जोखिममा छन् कांग्रेस महामन्त्री
विराटनगर : नेपाली कांग्रेसभित्र वैचारिक नेताको छवि बनाएका गुरुराज घिमिरे पार्टीका महामन्त्री हुन्। सम्भवतः मोरङ क्षेत्र नं. ४ ले प्रमुख दलबाट पदाधिकारी उम्मेदवार पाएको पहिलोपटक हो।
आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरेर उनी केही समययता परिणाम आफ्नो पक्षमा पारेर चुनाव जित्ने ध्याउन्नमा छन्। चुनावी अभियानअन्तर्गत नियमित रूपमा घरदैलो, मतदाता भेटघाटलगायतका कार्यक्रम सञ्चालन गरिरहेका छन्। उनले सोमबार राति विराटनगरमा पत्रकार सम्मेलन गरेर ३९ बुँदामा चुनावी प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।
हुन त गुरुराजले ३ वर्षअघि पराजयको भारी बोकिसकेका छन्। त्यही पनि प्रदेशसभा सदस्यमा। २०७९ सालको निर्वाचनमा उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ४ (१)बाट कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए। तर, नेकपा (एमाले)का जयप्रकाश चौधरीसँग ४ सय १ मतको झिनो अन्तरले पराजित भएका थिए। जयप्रकाशले १५ हजार ४ सय ६५ मत प्राप्त गर्दा गुरुराज १५ हजार ५८ मतमा रोकिएका थिए।
पार्टीभित्र विशेष महाधिवेशनको ‘लविङ’ गर्ने प्रमुख नेता उनै गुरुराज थिए। उनले विशेष महाधिवेशनका पक्षमा देशव्यापी अभियान चलाए। गगन थापा पार्टी सभापति भए। अर्को शक्तिशाली पद महामन्त्री भए घिमिरे। त्यही महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएलगत्तै उनले मोरङ–४ बाट टिकट पनि लिन सफल भए। ३ वर्षअघि प्रदेशसभामा बेहोरेको पराजयलाई यसपटक भने विजयमा बदलेर प्रतिनिधिसभा प्रवेश गर्ने प्रयत्नमा उनी छन्। २०२७ फागुन १२ गते मोरङको अमरदहमा जन्मिएका गुरुराज नेपाली कांग्रेसको राजनीतिमा प्रभावशाली नेता मानिन्छन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट उठेर राष्ट्रिय राजनीतिमा गहिरो छाप छाड्न सफल भएका उनी संघर्ष, अध्ययन र विचारले खारिएका नेता हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ)मार्फत राजनीतिक यात्रा सुरु गरेका गुरुराज २०४० को दशकको उत्तरार्धदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भएका थिए। संगठनको विभिन्न तह हुँदै अघि बढेका गुरुराजले प्रारम्भमा एकाइ तहको जिम्मेवारी सम्हालेका थिए। विद्यार्थी राजनीतिको केन्द्र मानिने विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु सभापतिसमेत भइसकेका उनी नेविसंघका पूर्वकेन्द्रीय सभापति हुन्। उनी २०५९ सालमा नेविसंघको सभापति हुँदा गगन थापा महामन्त्री थिए। त्यो समय विद्यार्थी आन्दोलनलाई वैचारिक धार दिन र संगठनलाई संस्थागत बनाउन गुरुराजले महत्वपूर्ण भूमिका खेलेका थिए। अहिले विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति हुँदा घिमिरे महामन्त्री छन्। संगठन विस्तार, वैचारिक बहस र लोकतान्त्रिक अधिकारको पक्षमा उनले अग्रसर भूमिका खेलेका थिए।
कांग्रेसका नेता कार्यकर्ता गुरुराजको राजनीतिक यात्रालाई पद प्राप्तिका लागि नभएर विचार, संघर्ष र निरन्तरताको इतिहासका रूपमा लिन्छन्। गुरुराजले अहिले चुनाव लडेको क्षेत्र विगतमा कांग्रेसको राम्रो प्रभाव थियो। २०४८ सालदेखि नै कांग्रेसको राम्रो प्रभाव हुँदा शैलजा आचार्य र महेश आचार्यसम्मले चुनाव जितेका थिए। प्रतिनिधिसभा निर्वाचनमा २०४८ सालमा शैलजा र २०५६ मा महेश विजयी भए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि महेश आचार्य विजयी भए।
महेशले चुनाव लड्दा अधिकांश स्थान क्षेत्र नम्बर ५ मा थियो। पछि क्षेत्र परिवर्तन भयो। उनले चुनाव जित्दा यो क्षेत्र (हालको क्षेत्र नम्बर)को ठूलो हिस्सा क्षेत्र नम्बर ५ मा रहेको थियो। पछि क्षेत्र नम्बर ६ बनाइयो। अहिले क्षेत्र नम्बर ४ छ।
महेश आचार्य २०६४ को पहिलो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। यो क्षेत्रबाट २०७९ सालमा कांग्रेसको उम्मेदवार नै दिएन। त्यतिबेला कांग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनबाट अमनलाल मोदी निर्वाचित भएका थिए। उनै मोदीले तत्कालीन एमाले–माओवादी गठबन्धनबाट चुनाव लडेर २०७४ सालमा आचार्यलाई हराएका हुन्।
२०७४ मा पराजय बेहोरेको र २०७९ सालमा आफ्नो उम्मेदवार नपठाएको कांग्रेसी मतदाताले यसपटक भने आफ्नै उम्मेदवार पाएका छन्। ३ वर्षअघि प्रदेशसभामा हारेका गुरुराज अहिले जितेर प्रतिनिधिसभा छिर्ने दाउमा छन्। तर, पुराना र नयाँ शक्तिबीचको तीव्र प्रतिस्पर्धामा कांग्रेस महामन्त्री गुरुराज पनि जोखिममा रहेको विश्लेषण छ। उनले चुनाव जित्न ठूलै मिहिनेत गर्नुपर्ने अवस्था रहेको बताइन्छ।
‘२०७४ सालमा चुनाव हारेपछि कांग्रेसले यो क्षेत्रलाई वास्तै गरेको स्थानीयको आरोप छ। २०७९ सालमा त आफ्नो उम्मेदवार नउठाएर माओवादीलाई ठाउँ दियो। लामो समयदेखिको ‘ग्याप’लाई पूर्ण गर्ने कसरत नेताहरूले गरेनन्। चुनावका लागि प्रयोग गर्ने ठाउँ मात्रै बनाए। चुनाव जितेर वा हारेर गएपछि फर्किएर हेरेनन्। त्यही भएर कार्यकर्ता छिन्नभिन्न भएका छन्। कार्यकर्ताको संरक्षण नहुँदा केहीले पार्टीले छाडिसके। त्यहाँमाथि नयाँ पार्टीको प्रभाव पनि अलिअलि परिरहेकै छ,’ कांग्रेसका एक अगुवा कार्यकर्ताले भने।
गुरुराजले कांग्रेसबाट छिन्नभिन्न हुन खोजेकालाई समेट्ने प्रयास गरे पनि जोखिम भने कायमै छ। ‘अलिकति मिहिनेत गर्दा र पुराना नेता कार्यकर्तालाई समेट्न सक्दा सानदार हिसाबले चुनाव जितिन्छ। त्यो प्रयास भइरहेकै छ। तर, चुनावी परिणाम अहिल्यै आकलन गर्न सकिँदैन,’ उनी भन्छन्। तर, कांग्रेसका क्षेत्रीय सभापति विनोद बस्नेतको तर्क भने भिन्नै छ। चुनाव जित्नेमा कुनै शंका गर्न आवश्यक नरहेको उनले बताए।
‘अहिलेसम्म हामी एक नम्बर हौं। सतप्रतिशत चुनाव जित्छौं। वातावरण उत्साहजनक छ। कार्यकर्ता सबै उत्साहित छन्। यसैलाई निरन्तरता दिएर परिणाम निकाल्न हामी लागेका छौं,’ बस्नेतले भने। पार्टीको विशेष महाधिवेशनपछि सबै नेता कार्यकर्ता एकढिका भएर चुनावी अभियानमा होमिएको उनले बताए।
‘परिवर्तित कांग्रेस नै विजयको प्रमुख आधार हो। त्यहाँमाथि मोरङ–४ ले राम्रो उम्मेदवार पाएको छ। जनताले रुचाएको पार्टी र गुरुराजको शालिन व्यक्तित्व नै चुनावी परिणाम निकाल्न पर्याप्त छ,’ बस्नेत दाबी गर्छन्। यो क्षेत्रले पहिलोपटक महामन्त्रीजस्तो पद पाएको र आम मतदातामा त्यो कुराले पनि सकारात्मक छाप छाडेको उनले बताए। गुरुराजले विगतमा चुनाव नजिते पनि र कुनै अवसर नपाए पनि यो क्षेत्रका लागि भने विकासका लागि धेरै पहल गरेको दाबी बस्नेतको छ। ‘सबैलाई गुरुराजले केही गर्छन् भन्ने विश्वास छ। घरदैलो र मतदाता भेटघाटमा राम्रो प्रतिक्रिया पाइरहेका छौं,’ उनी भन्छन्, ‘अहिले कांग्रेसमा कुनै असन्तुष्टि छैन। हाम्रो मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) नै हो।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई भने प्रतिस्पर्धी नमानेको उनले बताए। यो क्षेत्रबाट बारम्बार चुनाव जिते पनि नेकपा उम्मेदवार अमनलाल मोदीले केही नगरेको बस्नेतको भनाइ छ। ‘मोदीले यसअघि आफ्नो बलमा चुनाव जितेका हैनन्। २०७४ र २०७९ मै गठबन्धनको बलमा चुनाव जितेका हुन्। जितेर गए पनि आफ्नो क्षेत्रलाई बेवास्ता गर्ने बानी रहेछ। अर्कोतर्फ गठबन्धनबाट जितेर पनि गठबन्धनलाई कहिल्यै आत्मसात् नगर्ने प्रवृत्ति हाबी भयो। अहिले एक्लाएक्लै चुनाव लडेकाले कांग्रेसको जित निश्चित छ,’ उनले भने।
२८ वर्षको उमेरमा दोस्रो संविधानसभा सदस्य बनेका मोदी १२ वर्षयता सांसद थिए। तत्कालीन माओवादी केन्द्रबाट २०७० मा समानुपातिक सांसद बनेका उनले २०७४ साल र २०७९ सालमा प्रत्यक्षतर्फ लडेर चुनाव जितेका हुन्। २०७४ मा कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर्दा उनी जम्मा ३२ वर्षका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता विनोद ढकाललाई पराजित गरे। लगातार तेस्रोपटक संसद बनेका उनी चौथोपटक संसद् छिर्ने दाउमा छन्।
पहिलोपटक आफ्नै दलबाट मात्र एक्लो प्रतिस्पर्धामा उत्रिएका उनीसँग अहिले कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, एमालेका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पूर्वपत्रकार सन्तोष राजवंशी प्रतिस्पर्धामा छन्। २०७९ को निर्वाचनमा गुरुराज र जीवन दुवै जना प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
मोरङ–४ (२)बाट जीवन कांग्रेसका भीम पराजुलीसँग पराजित भएका हुन्। भीमले ११ हजार ४ सय ७९ मत प्राप्त गर्दा जीवन ९ हजार ६ सय ९१ मतमै रोकिएका थिए। त्यतिबेला प्रदेशसभा सदस्यमा लड्दा राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए। अहिले राप्रपाका आचार्यसमेत प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।
२०७९ सालको निर्वाचनमा गुरुराज र अमन एउटै गठबन्धनबाट उम्मेदवार बनेका थिए। अमन प्रतिनिधिसभामा निर्वाचित हुँदा गुरुराज प्रदेशसभा तर्फ क्षेत्र नम्बर ४(१)मा पराजित भएका हुन्। एमाले उम्मेदवार जीवन घिमिरेसँग अमनको तालमेल २०७४ सालको निर्वाचनमा भएको थियो। त्यतिबेला अमन प्रतिनिधिसभामा निर्वाचित हुँदा मोरङ–४(२) बाट निर्वाचित भएका घिमिरे कोशी प्रदेशको सामाजिक विकास मन्त्री पनि भएका थिए।
१ लाख १९ हजार २ सय ५५ मतदाता रहेको मोरङ–४ थारु बाहुल्य क्षेत्र हो। पुरुष ६१ हजार १ सय ९२ र महिला ५८ हजार ६२ तथा अन्य १ जना मतदाता रहेका छन्। जम्मा २३ वटा वडाहरू समेटिएको यो क्षेत्रमा ग्रामथान र कटहरी गाउँपालिकाको सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ र बेलबारी नगरपालिकाको ५, ६ र ७ वडा पर्छन्।
मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदान स्थल र १ सय ३१ वटा मतदान केन्द्र तोकिएका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनको मतपरिणामका आधारमा एमाले बलियो छ। यो क्षेत्रको २३ वडाहरूमध्ये एमालेले १८ वटा वडा जितेको छ। नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले मात्र १ वडा जितेको थियो। २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३० हजार ६ सय १२ मतसहित अमनलाल मोदीले विजयी हुँदा एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४ सय ६३ मत प्राप्त गरेका थिए।
गत मंसिरमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा तत्कालीन (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका थिए। नमोनारायणलाई उम्मेदवार बनाउने मुख्य भूमिका अमनलालकै थियो। तर, उनी पालिका अध्यक्ष निर्वाचित भएयता पालिका अनिर्णयको बन्दीजस्तै बनेको छ। अन्य दलका जनप्रतिनिधिसँगको विवाद र झगडका कारण कारण ग्रामथानको प्रशासनिकदेखि लिएर सबैजसो कामकारबाही ठप्पजस्तै छ। माझीको विवादित भूमिकाका कारण पनि यसपटक मोदीलाई निक्कै चुनौती हुने विश्लेषण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !