सुधार हुँदै दाङ र प्यूठानमा एनटीसी सेवा
दाङ : दूरसञ्चार कार्यालय तुलसीपुर (नेपाल टेलिकम कार्यालय)दाङले आफ्नो सेवा क्षेत्रमा सेवा सुधारको प्रयास गरेको छ। सेवा विस्तार र गुणस्तर सुधार गर्ने उद्देश्यले नेपाल टेलिकमले दाङ र प्यूठान जिल्लाका विभिन्न स्थानमा नयाँ टावर निर्माण गरेको जनाएको छ। ग्रामीण भेगमा नेटवर्क पहुँच विस्तार र नयाँ टावर सञ्चालनमा आएपछि दुर्गम बस्तीमा मोबाइल र डाटा सेवाको पहुँचमा सहजता आएका छ।
जिल्लाका दुर्गम र सेवामा समस्या भइरहेका स्थानमा चार नयाँ टावर निर्माण गरेको हो। सोलार प्रणालीबाट सञ्चालन हुँदै आएका रोल्पा,रुकुम र प्यूठानका पाँच टावरमा स्थानीय प्रसारण लाइनको विद्युत् जडान गरी विद्युतीकरण विस्तार गरिएको छ। थप केही तयारी अवस्थामा छन्।
४ नयाँ टावर निर्माण,५ टावरमा विद्युतीकरण
ग्रामीण भेगमा नेटवर्क पहुँच विस्तार र नयाँ टावर सञ्चालनमा आएपछि दुर्गम बस्तीमा मोबाइल र डाटा सेवाको पहुँचमा सहजता
टेलिकम दाङ कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका–१,पवननगर,गढवा गाउँपालिका–३ गोवहिया,दंगीशरण गाउँपालिकाका–१,फुर्केसल्ली र प्यूठानको मल्लरानी गाउँपालिकामा नयाँ टावर निर्माण गरिएको हो। यसबाट सेवासमेत सुरु भइसकेको छ। यी क्षेत्रहरूमा नयाँ टावर निर्माण हुँदा ८ सय घरधुरीलाई प्रत्यक्ष लाभ भएको र फोजीलगायत आधुनिक सेवा सञ्चालनमा आएको कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर प्रवीणकुमार चौधरीले बताए। स्थानीयको माग र आवश्यकताको आधारमा सेवा विस्तार गरिएको र त्यसको राम्रो प्रभाव स्थानीयस्तरमा देखिएको उनले बताए।
दाङको फुर्केसल्ली क्षेत्रमा टावर निर्माण हुँदा त्यसले बबई गाउँपालिकाको दुर्गम क्षेत्र मलई,जलजलालगायत क्षेत्र टेलिकमको सेवा सुरु भएको छ। यसअघि यो क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी थिएन। स्थानीय राम पुनले फोनको नयाँ टावर बनेपछि केही दिनदेखि कुराकानी गर्न सजिलो भएको बताए। ‘पहिले फोन नै टिप्दैनथ्यो’,उनले भने,‘अहिले इन्टरनेटसमेत राम्रोसँग चल्न थालेको छ।’ त्यसैगरी,गोवडिया क्षेत्रमा पनि फोन सेवा राम्रो थिएन,अहिले राम्रो भएको कार्यालयले जनाएको छ। कार्यालयअन्तर्गत चार जिल्लामा करिब दुई सय टावरहरू सञ्चालनमा रहेका छन्।
सोलारबाट विद्युतीकरणमा ५ टावर
रोल्पा,पूर्वीरुकुम र प्यूठानका विभिन्न पाँच क्षेत्रमा सञ्चालित टावरहरूमा विद्युतीकरण गरिएको छ। लामो समयदेखि सोलार प्रणालीको भरमा सञ्चालन हुँदै आएका ती टावरहरूमा विद्युतीकरण गरिएको हो। रुकुमपूर्वको जाङ टावर,रोल्पाको गंगादेव,रोल्पाको मिरुल,रोल्पाको पाङ र प्यूठानको स्याउलीवाङ टावरमा विद्युतीकरण गरिएको छ। स्थानीय विद्युत् उत्पादन कम्पनीसँगको सहकार्यमा टावरमा विद्युतीकरण गरिएको कार्यालयले बताएको छ।
टावरमा विद्युत् पुग्दा सेवा चौबिसैघण्टा सुरु भएको प्रमुख चौधरीले जानकारी दिए। घाम नलाग्ने मौसममा ब्याट्री चार्ज हुन नसक्दा नेटवर्क अवरुद्ध हुने,कल ड्रप बढ्ने र इन्टरनेट सेवा कमजोर हुने समस्या देखिँदै आएको थियो। कार्यालय प्रमुख चौधरीले भने,‘विद्युतीकरण भएपछि यो समस्या शून्यमा झरेको छ। विद्युतीकरण गरिएका टावरमा ‘हाइब्रिड प्रणाली’ लागू भएको छ।’
टेलिकमले सोलारबाट चलिरहेका टावरमा विद्युत् लाइन जडानसँगै सोलार सिस्टम पनि प्रयोग यथावत् हुँदा ‘हाइब्रिड प्रणाली’लागू भएको प्रमुख चौधरीले बताए। अब ती टावरहरू सोलार र विद्युत् लाइन दुवै स्रोतबाट सञ्चालन हुनेछन्। यसले वर्षा र हिउँदमा हुने नेटवर्क अवरोध न्यूनीकरण हुने विश्वास गरिएको छ। सोलार मात्रै हुँदा बिहान ६ बजेदेखि राति १०÷११ बजेसम्म मात्रै हुने नेटवर्क सेवा अब चौबिसै घण्टा हुनेछ। पहिले सोलार मात्रै हुँदा लामो समय घाम नलाग्दा सेवा अवरुद्ध हुने अवस्था रहँदै आएको थियो। ‘अब विद्युत् जडान भएपछि सेवा स्थिर र भरपर्दो हुने अपेक्षा गरेका छौं’,प्रमुख चौधरीले भने,‘यसले उपभोक्ताहरूलाई सेवामा गुणस्तर र सहज बनाएको छ।’
रोल्पा र पूर्वीरुकुमका स्थानीयवासीले टावर विद्युतीकरणपछि नेटवर्क स्थिर हुने आशा व्यक्त गरेका छन्। इन्टरनेटसमेत भरपर्दा हुने उनीहरूको भनाइ छ। टेलिकमले आगामी दिनमा थप दुर्गम क्षेत्रमा पूर्वाधार विस्तार गर्ने र सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राख्ने जनाएको छ। अझै ३० वटा टेलिकम टावर सोलारबाट सञ्चालल रहेका छन्। यी सबैमा विद्युतीकरण गर्न पहल भइरकेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !