युवाहरूका माझ देउडा र छलिया
मुसुरो छण्दाइन हुन्की गौ बुयाका गणा
यतिका मैनादिन मया काँ छै रानीचणा।
भावार्थ– पाखो जमिनमा कतै मुसुरो लगाइन्छ त कतै गहुँ बाली लगाइन्छ। दुवै हिउँदे बाली भए पनि मुसुरो र गहुँ बेग्लाबेग्लै गणा (पाखो जमिन) मा छरिन्छ। एउटाले दालको काम गर्छ, गहुँले रोटीको काम गर्छ। रानीचणा (प्रेमी) सँग भेट नभएको धेरै महिना भयो। तिमी कता छौं ? केहीले आफ्नो प्रियतम् मानिसलाई सोधेको प्रश्न हो यो।
केही वर्षदेखि राजधानी र अन्य सहरका कलेजहरूमा सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यार्थीमाझ देउडा गीत र छलिया नृत्यले स्थान पाउँदै आएको देखिन्छ। सिर्जनाका दुइटा पाटाहरू हुन् देउडा गीत, देउडा खेल र छलिया नृत्य। दुवै विधाको अर्थ फरक छ, गम्भीर छ। देउडा काली कर्णालीको भूगोलको साझा संस्कृति हो भने छलिया भारतको कुमाउ, गढवाल हुँदै नेपालको बैतडी, दार्चुला, डडेलधुरामा प्रवेश पाएको संस्कृति हो। हालै ती प्रदेशबाट राजधानीमा उच्च शिक्षा हासिल गर्नका लागि आएका विद्यार्थीले देउडा गीत गाए, नाचे, भरपूर मनोरञ्जन लिए। यता छलियामा रमाउने विद्यार्थी पनि रंगीबिरंगी लुगा लगाएर दमाहा, टेम्को र सहनाई बाजा बजाउँदै नाचे। मनोरञ्जन दिलाए। विद्यार्थीमा संस्कृतिप्रतिको मोह उच्च छ।
जन्मभूमिको सौंराई भेट्न र इजा (आमा) ले पकाएको खानाको स्वाद मेट्न उनीहरू आफैं खिर, तरकारी, पकौडा पकाउन अग्रसर भए। नेसनल इन्जिनियरिङ कलेज सातदोबाटो ललितपुरमा अध्ययनरत सुदूरपश्चिमका विद्यार्थी वर्षदिनको एकपटक सांस्कृतिक आदानप्रदान गर्न सामूहिक रूपमा जम्मा हुने गर्छन्। जन्मभूमिको संस्कृति र पूर्वाञ्चलको संस्कृतिलाई संघीय राजधानीमा जोड्ने काम गर्छन्। काली कर्णालीका वर्तमानमा चलेका देउडा र लोकगीतका भाकामार्फत सांस्कृतिक एकताको सन्देश दिन्छन्। पूर्वाञ्चलका विद्यार्थी मारुनी, धाननाच, हाकपारे, सेब्रोलगायतका भाकामा गीत पस्किन्छन्।
समावेशी संस्कृतिले सद्भाव जोड्ने हुँदा आपसमा हार्दिकता साटासाट गर्ने गर्छन् । यसैगरी काठमाडौंको धिमे बाजा नाच, पश्चिमाञ्चलको सालैजो भाका, रोदी संस्कृति पनि देउडा संस्कृतिस“गै अघि बढेकोले नेपालको समग्र संस्कृति र सभ्यता निरन्तर अघि बढ्ने कुरा विश्वास गर्न सकिन्छ।
दाउरा काट्न जंगल झाऊ घाँस काट्न खोली झाऊ
तलकी घसारी को होइ हौ भनी बोली झाऊ।
सरल खालको गीत छ माथिको। लय रहेको छ हर्वे। अगाडिको पंक्ति हर्वे भन्दै गीतलाई लामो लय गरेर गाइन्छ। युवा विद्यार्थीले यसरी नै गाए। क्याम्पसका संस्थापक कविरकुमार महर्जन देउडाको रौनक, देउडा गीतप्रतिको युवायुवतीको मोह देखेर दंग पर्दै प्रतिक्रिया जनाउँदै थिए – सुदूरपश्चिम संस्कृतिमा धेरै धनी रहेछ। गायक भरत भट्ट, छलिया दल मानसखण्डका अध्यक्ष गायक जनक महरा र गायिका कल्पना मल्ल, आशिष बम ठकुरी, भानुभक्त जोशी, ज्ञानदेव जोशी, कुसुम रानालगायतले सुदूर र कर्णालीको संस्कृतिलाई जतनसाथ ललितपुरको एकान्तकुनामा पुर्याए।
छलिया नाचका जादुगर जनक महरा भन्दै थिए– देउडा संस्कृतिको कान्छो भाइ हो छलिया नृत्य। गायन र नृत्य प्रधान छलिया वास्तवमा जो कोहीले गाउन र नाच्न पनि सक्दैनन्। छलिया नृत्य विशेष प्रकारको नृत्य भएकोले हेर्नका लागि जति रमाइलो हुन्छ, प्रस्तुति दिन कलाकारले तालिम लिएकै हुनुपर्छ जनक महरा जानकारी गराउँदै थिए। कार्यक्रमका संयोजकसमेत रहेका दीपेन्द्र ढकालले अब सुदूरपश्चिमको संस्कृति साझा भएको प्रतिक्रिया दिए।
छलियाको अर्थ हुन्छ छलेर अघि बढ्नु। छल्मा ‘इय’ प्रत्यय लागेर छलीय बनेको हो। छलिया बहुवचन शब्द हो। धेरै जनाको समूह बनेर नृत्य गरिने भएकाले छलिया भएको हो। शरीरमा रंगीबिरंगी लुगा लगाएर नाचिन्छ। सुरुवाल र भोटो अनौठो खालको हुन्छ। कपालमा आकर्षक तरिकाले टोपी, अथवा फेटा बाँधेका हुन्छ।
एक हातमा ढाल अर्को हातमा तलवार समातेर बाजाको तालमा गोलाकार रूपमा घुमेर नाचिन्छ। दमाहा, ट्याम्को, सहनाईको सुरतालमा एक थरीले गीत गाउँछन् लोकलयका भाकाहरू भट्याउँछन् अनि पाका र अनुभवी कलाकारले आकर्षक तरिकाले नाच्ने गर्छन्। यदि नाच्न जानेन भने ढाल र तलवार आपसमा ठोकिन्छन्। यो नाच विशेषगरी उत्सवहरूमा नाचिन्छ। बिहेको बेला छलियाको बढी प्रचलन भएको देखिन्छ बैतडी, डडेलधुरा, डोटी जिल्लाको पश्चिमी भूभागमा। तर बझाङ, बाजुरा कर्णाली अञ्चलका जिल्लाहरूमा भने छलियाको प्रयोग देखिँदैन। त्यँहा बिहेको बेला भात्र्या नाचिन्छ। भात्र्या पनि अनौठो नाच हो, छलियाजस्तै मनोरञ्जन दिने। तर भात्र्या पुराना राजाहरूको शासन शैलीका बारे वीरगाथाका बारे र लडाइँका कथाका बारे वर्णन गरिन्छ। बीचबीचमा हातमा डमरु आकारको जस्तो हुड्को बजाउने गर्छन्। सेतो लुगामा सजिएका उनीहरूको शिरमा फेटा बाधेर मुन्याठो आकार (मुन्टोमा बाँधेर कम्मरभन्दा तल झारिदिने कलात्मक पहिरन) को कपडाले शोभायमान देखिन्छन्।
मुन्टामी पानीको गाग्री घर छ उकालीको
देउडा गीत् गायाको मैले भला सुकालीको।
मुन्टामी (टाउकोमा) पानीको गाग्री बोकेर उकालो चढ्दैछु, गाउँघरको प्राचीन संस्कृति सम्झेर गीत गाउँदैछु, गीतले यही भन्छ। हुन त ६ नं. र ७ नं. प्रदेश संघीय राजधानीबाट धेरै टाढा छैनन् तर भौगोलिक विकटता र विकासका कारण टाढा देखिन्छन्। त्यहाँबाट आएर उच्च शिक्षा अध्ययन गर्नु र देउडा, छलिया, भुवो भस्सो अनि भात्र्या संस्कृतिमा सहभागी हुनु सामान्य विषय होइन।
हुन त पंक्तिकारले पूर्वप्रमहरू शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, पूर्वमन्त्री भीम रावल, तारिणीदत्त चटौत, एन.पी.सावद, स्व.प्रा.डा.डी.पी. भण्डारी, प्रा.डा. त्रैलोक्यनाथ उप्रेती, डा.चेतराज पन्तलगायतका व्यक्तित्वलाई वि.सं.२०३५/२०३६ देखि वर्तमान कालखण्डसम्म आइपुग्दा कहिले गोदावरी, कहिले खुल्लामञ्च, राष्ट्रिय सभागृह, नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका स्थलहरूमा देउडा खेलाउँदै आएको छु। यो काममा संस्कृतिकर्मी अम्बादत्त भट्ट, हरिमोहन भण्डारी, जयन्द्र स्वाँर, कलम खत्री, हाल रामप्रसाद अवस्थी, उमाशंकर जोशी, गोरबहादुर बुढा अम्बिका भट्ट, शान्ति धामी, निशा रावललगायतका संस्कृतिकर्मीले सो सांस्कृतिक मार्गको अनुसरण गरिराखेको देखेर खुसी लाग्छ। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने संस्कृतिसम्बन्धीका खोजमूलक कामहरू व्यक्ति स्वयम्ले गरिराखेका छौं। राष्ट्रले बुझ्नु जरुरी छ।
काली कर्णालीको संस्कृति अथाह छ, भरिपूर्ण छ। जति खर्चे पनि रित्तिनेवाला छैन। सुरुका वर्षमा देउडा गीत गाउने क्यासेट उत्पादन गरी काली कर्णालीमा हिमालदेखि मालसम्मका बस्तीबस्तीमा पुर्याउने र खोज अनुसन्धान र संकलन गर्ने पंक्तिकार एकजनामात्र थिएँ। यसोभन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ, दन्त्यकथा जस्तै लाग्न सक्छ। तर यो कुरा सत्य हो। देउडा संस्कृतिको श्रीवृद्धिका लागिपरेको प्यक्तिलाई मात्र इतिहास थाहा हुन्छ, दुःख के हो ? सुख के हो ? संस्कृति कति प्रिय हुन्छ भन्नेबारे थाहा हुन्छ। वर्तमानमा सयौं कलाकार जन्मायो काली कर्णालीको भूमिले। हालै युवाहरू माझ देखिएको देउडा र छलिया मोह यस्को पछिल्लो उदाहरण हो।
प्रतिक्रिया दिनुहोस !