इलेक्सन इपिसेन्टर झापामा सुरक्षा निकाय ‘हाई अलर्ट’मा
झापा : भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। ‘इलेक्सन इपिसेन्टर’ बनेको झापामा भयरहित वातावरणमा निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गराउन पाँचै निर्वाचन क्षेत्रमा सुरक्षा निकाय ‘हाई अलर्ट’मा रहेका छन्।
जिल्लाका तीन अस्थायी र २८५ मतदान स्थलको ८१५ मतदान केन्द्रमा बुथ निर्माणको काम पूरा भइसकेको र एकीकृत सुरक्षा योजना बमोजिम सुरक्षा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन्। ‘भोलि बिहान ७ बजेदेखि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ प्रजिअ गेललाले भने, ‘मतदातालाई बुथसम्म सहज रुपमा पुर्याउन चारै तहका सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेको छ।’
निर्वाचन सम्पन्न भएपश्चात पाँचवटै निर्वाचन अधिकृतहरूको कार्यालयमा गरिने मतगणना स्थलहरूमा तारजाली र सीसीटीभी क्यामेरा जडानको काम पनि पूरा भइसकेको उनको भनाइ छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ४ हजार ९४५ जना कर्मचारी र २ हजार ४४५ जना स्वयंसेवक मतदातास्थलमा खटाइएको छ। एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइएको छ। एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहने मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जानकारी दिए।
झापामा तीन वटा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिएको छ। दमक नगरपालिका, झापा कारागार भद्रपुर र कर्मचारी मिलन केन्द्र भद्रपुरमा अस्थायी मतदान केन्द्र राखिएको लुइँटेलले बताए। जिल्लामा ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन्। कूल मतदातामध्ये महिला तीन लाख ५५ हजार १८३, पुरुष तीन लाख ५८ हजार ३४६ र अन्य आठ जना रहेका छन्। २०७९ को निर्वाचन भन्दा यस पटक ५० हजार २२६ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।
जिल्लामा ९५ वटा मतदान स्थल र २८६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मानिएको छ। ती मतदान स्थलहरूमा सुरक्षाकर्मी पनि सो योजना बमोजिम खटाइएको छ। २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदान स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए। जिल्लामा नेपाल प्रहरीमा ४ हजार ३०८ र सशस्त्र प्रहरीमा ४८९ जना गरी ४ हजार ७९७ जना निर्वाचन प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी जिल्लाभर ९ हजार सुरक्षाकर्मी र साढे ७ हजारको हाराहारीमा कर्मचारी खटाइएको उनको भनाइ छ।
‘इलेक्सन इपिसेन्टर’ बनेको झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा क्षेत्र ५ बाट उम्मेदवार बनेकाले सबैको ध्यान खिचेको छ। जिल्लामा ५ सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी ९० जना चुनावी मैदानमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !