बाजेदेखि नाती पुस्तालाई सपना देखाएको निर्वाचन
मकवानपुर : बिहीबार बिहान ७ बजेअघि नै मतदान केन्द्रमा आइपुगेका ८६ वर्षीय सन्तबहादुर चेपाङ ढाडको समस्याले गर्दा राम्ररी हिँडडुल गर्न सक्दैनन्। मकवानपुरको विकट कैलाश गाउँपालिका-२ स्थित कमलादेवी मावि मतदान केन्द्रमा पहिलो मत खसालेका चेपाङको ओठमा आँसु भए पनि शरीर रोइरहेको छ, मनभरी पिरै पिरको भारी छ।
ढाडको समस्याले थलिँएर एक महिना हेटौँडाका अस्पतालहरू धाएका उनको आर्थिक अभावमा उपचार पूरा भएन। उनलाई उपचार पूरा नहुँदै आर्थिक अभावमा अस्पतालले डिस्चार्ज गरिदियो। जीवनमा कति पटक मतदान गरियो, चेपाङले बिर्सिसकेका छन्।
राजादेखि गणतान्त्रिक व्यवस्थाका सबै मतदानमा भाग लिएका ८८ वर्षीय भीमबहादुर गुरुङ पनि मुस्किलले मतदान केन्द्रमा आइपुगे। कुप्रो शरीर, हिँडडुलमा समस्या, तर अझै पनि देश बन्ने आशामा उनी छोराको सहारामा मतदान गर्न आइपुगे। ३० वर्षको युवा उमेरदेखि विभिन्न निर्वाचनमा मत दिएका गुरुङ र चेपाङले युवा हुँदा देखेको सपना अझै पूरा भएको छैन। सपना पूरा हुने आशामा ८० पार गरेका वृद्धहरू अझै पनि मतदानमा सहभागी भइरहेका छन्। उमेरसँगै उनीहरूले देखेको सपना पनि वृद्ध हुन थालेका छन्।
गाउँमा राम्रो स्वास्थ्य, बाटो, वर्षभरी खान पुग्ने उब्जनी, राम्रो शिक्षाको आशा गरेका यहाँका वृद्धहरूको दशकौँसम्म पनि सपना फेरिएको छैन। मकवानपुरको पश्चिमी विकट कैलाश र राक्सिराङ गाउँपालिकाका अधिकांश बस्तीमा अझै पनि समयमा उपचार नपाएर नागरिकको ज्यान जाने गरेको छ। बल्लबल्ल पुगेको कच्ची सडक पनि वर्षातमा सञ्चालन हुँदैन। गुणस्तरीय शिक्षा अझै अभाव छ।
यहाँका बाजेदेखि नाती पुस्ताका सपना समान छन्। बाजे पुस्ताले देखेको सपना पूरा हुने आशामा पहिलो पटक मकवानपुरको राक्सिराङ गाउँपालिका-४ गिङ्गुकी २० वर्षीया अप्सरामाया मोक्तान पनि मतदानमा सहभागी भइन्। उनको पनि गाउँमा राम्रो बाटो, स्वास्थ्य, शिक्षा र रोजगारीकै सपना छ।
तर, यहाँका मतदाताको गुनासो छ, पञ्चायतदेखि गणतन्त्रसम्मका राजनीतिक दल र उम्मेदवारहरूले आशा मात्र देखाए। ‘आसै आसमा जीवन बित्यो, गाउँमा भोट माग्न आउँछन्, तर जितेपछि कोही फर्किएर आउँदैनन्’, कैलाश २ का ८० वर्षीय बमबहादुर चेपाङले भने, ‘अहिले त दशैँ तिहारमा मात्र हो चहलपहल, अरू बेला गाउँमा युवा हुँदैनन्, सधैँ सुनसान।’
सिमान्तकृत चेपाङ सहित तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रका जनताले यो निर्वाचनपछि भने देशमा स्थिर सरकार र गाउँको विकासको अपेक्षा गरेका छन्। ‘गाउँमा लगाएको तरकारी बजार लैजाँदा धेरै महँगो पर्छ, गाउँमा रोजगारी छैन’, पहिलो पटक मतदानमा सहभागी भएका कैलाश ८ स्थित रुपराङका रुविन मोक्तानले भने, ‘नयाँ पुस्ताको लागि यो चुनाव भविष्य कोर्ने माध्यम बनोस्।’
स्वतन्त्रसहित मकवानपुर १ मा २३ र मकवानपुर २ मा २१ जना उम्मेदवार रहेका छन्। मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ।
४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन्। ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९६ वटा मतदान केन्द्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस !