रुकुम पूर्वको पाखापानी, हार्दिबाङ र पेल्माको मतपेटिका हेलिकप्टरबाट ल्याइयो
रुकुम पूर्व : हिमाली जिल्ला रुकुम पूर्वका अति विकट मानिने तीन मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ । भौगोलिक विकटताका कारण पैदल मार्गबाट ल्याउँदा दुई दिनसम्म समय लाग्ने भएपछि जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयको समन्वयमा हेलिकप्टर परिचालन गरिएको हो ।
हेलिकप्टरमार्फत पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मा, सोही वडाको आधारभूत विद्यालय हार्दिवाङ र सिस्ने गाउँपालिका–१ स्थित साविक पाखापानी गाविस भवनमा रहेको मतदान केन्द्रका मतपेटिका सुरक्षित रूपमा सदरमुकाम रुकुमकोट ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहीबार साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टरबाट दुर्गम क्षेत्रका तीन मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याएको हो । ‘हिंडेर ल्याउँदा समय धेरै लाग्ने र सुरक्षा जोखिम समेत हुने देखिएपछि तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत झिकाइएको हो’, प्रजिअ परियारले भनिन् ।
जिल्लाका कुल ५७ मतदान स्थलमध्ये बाँकी ५४ केन्द्रका मतपेटिका भने पैदल मार्गबाटै आज रातिसम्म सदरमुकाम पु¥याइने लक्ष्य राखिएको छ । मतदान अधिकृत र सुरक्षाकर्मीको टोली मतपेटिका सहित रुकुमकोटतर्फ आइरहेका छन् । जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वका अनुसार आज रातिसम्म सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन् ।
सबै क्षेत्रका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर शुक्रबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र हाल गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !