ताप्लेजुङको उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टर मार्फत ल्याइयो
ताप्लेजुङ : ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ। दुर्गम भूगोलका कारण सडक तथा पैदलमार्गबाट ल्याउन कठिन हुने भएपछि चारवटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिएको हो।
ओलाङचुङ्गोला, याङमा, घन्सा र ग्याब्ला मतदान केन्द्रको मतपेटीका हेलिकप्टर मार्फत ल्याइएको हो। अब सर्वदलीय बैठक बसेर मतगणनाको कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानमा कुल ४६ हजार ४७४ मत खसेको छ। खसेको मतमध्ये महिला मतदाता २१ हजार ७५ र पुरुष मतदाता २५ हजार ३९९ रहेका छन्। यससँगै जिल्लामा कुल ५१ प्रतिशत मतदान भएको थियो।
ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता रहेका छन्। जिल्लाभर ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र तोकिएको थियो। प्रतिनिधि सभा सदस्य पदका लागि जिल्लामा १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ताप्लेजुङ जिल्लामा ८ वटा गाउँपालिका र १ नगरपालिका गरी ९ स्थानीय तह रहेका छन्।
प्रतिक्रिया दिनुहोस !